प्रदेश नं ३ सरकार कृषिउपजप्रतिको परनिर्भरता हटाउँदै

डिसी नेपाल
१२ मंसिर २०७६ १८:५२

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशका १३ वटै जिल्लाको पशुपक्षीजन्य कृषिउपजको परनिर्भरता हटाउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा प्रदेशलाई स्वनिर्भर बनाउने गरी परनिर्भरता हटाउन विशेष कार्यक्रम थालेको हो । सरकारले यसकाल लागि गाईपालन, माछापालन, बाख्रापालन र कुखुरापालनमा अनुदानका कार्यक्रम अगाडि सारेको छ ।

प्रदेश सरकारले पशु आहारा उद्योग स्थापना गरेर सहुलियत दरमा दाना उत्पादन गर्ने र सहुलियत दरमै किसानलाई बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । सरकारले स्थानीय तह, सहकारी तथा स्वयं किसानलाई समेत उत्पादनमुखी कार्यमा लगाएर थप रोजगारीसमेत सिर्जना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले दुग्ध सहकारी संस्थामार्फत मकवानपुरको मकवानपुरगढी गाउँपालिका र चितवनमा समेत पशु आहारा उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न लागेको प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताए। उनका अनुसार आगामी माघ महिनाबाट नवनिर्मित उद्योगबाट उत्पादनसमेत शुरु हुनेछ । मन्त्रालयले उत्पादन वृद्धि र कृषिमा बढी आम्दानी गराउन सामूहिक खेतीमा समेत जोड गरेको छ ।

प्रदेशको सिन्धुपाल्चोक र नुवाकोटमा सामूहिक खेती गर्ने गरी योजना बनाइएको छ । प्रदेश सरकारले विदेशबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि कृषिमा आधुनिकीकरण गर्न लागेको जनाएको छ । कृषिमा आधुनिकीकरण गर्न प्रविधि हस्तान्तरण गर्ने, मेशिन, औजारलगायतका सामग्री किसानलाई सहयोग गर्नेलगायतका कार्यक्रम गरिने मन्त्री लामाले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *