टाइमले ग्रेटा टून्बेर्गलाई वर्ष व्यक्ति बनाउनुको कारण

डिसी नेपाल
२६ मंसिर २०७६ ७:५६

बीबीसी। जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र बनेकी १६ वर्षीया स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषित भएकी छन्।

सन् १९२७ यताको वर्ष व्यक्ति घोषणा गर्ने म्यागेजिनको परम्परामा यी स्वीडिस युवती त्यसरी छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्। घोषणा हुनुअघि उनी म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको एउटा जलवायु सम्मेलनमा बोलिरहेकी थिइन्।

जहाँ उनले नेताहरूलाई सच्चा काम नगर्ने तर त्यसलाई ढाक्न अनेक सिर्जनशील तरिका अपनाउने गरेको भन्दै त्यस्तो प्रवृत्ति त्याग्न आग्रह गरेकी थिइन्। आउँदो दशक यस ग्रहको भविष्यबारे निर्णायक हुने उनले बताइन्।

सुरुवात
गतवर्ष यी किशोरीले प्रत्येक शुक्रवार आफ्ना कक्षाहरू छाड्दै स्वीडिस संसदबाहिर धर्ना बसेर एउटा वातावरण सम्बन्धी हड्ताल सुरु गरेकी थिइन। त्यसले सामाजिक सञ्जालमा #FridaysForFuture शब्दावलीलाई एउटा चर्चित विश्वव्यापी अभियान नै बनाएको थियो।

त्यसयता उनी जलवायु परिवर्तनबारे काम हुनुपर्ने भन्ने भनाइको बलियो स्वर बनेकी छन्। घोषणा हुनुअघि उनी म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको एउटा जलवायु सम्मेलनमा बोलिरहेकी थिइन्। उनको अभियानले खासगरी दशौँ लाख विद्यार्थीहरूलाई विश्वभर प्रदर्शनमा उत्रन प्रेरणा दिएको थियो।

यो वर्षको सुरुमा उनी नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा परेकी थिइन्। म्याड्रिड सम्मेलनमा आउने क्रममा उनले कार्बन उत्सर्जनलाई छल्न भन्दै हवाईजहाज यात्राको विकल्पमा न्यूयोर्क शहरबाट डुङ्गामार्फत् आन्ध्र महासागर काटेकी थिइन्।

उनी के भन्छिन्?
सेप्टेम्बरमा न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले नेताहरू लक्षित एउटा आक्रोसपूर्ण मन्तव्य दिएकी थिइन्। उनको भनाइ थियो: “खोक्रा शब्दहरूले तपाईँहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ। हामीहरूले तपाईँहरूलाई हेरिरहेका छौँ।”

सन् १९२७ यताको वर्ष व्यक्ति घोषणा गर्ने म्यागेजिनको परम्परामा यी स्वीडिस युवती त्यसरी छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्। यस घोषणाबारे ट्विटरमा प्रतिक्रिया जनाउँदै यी अभियानकर्मीले भनेकी छन्: “वाह्, यो त विश्वास नै नलाग्ने कुरा भयो! निकै गर्वसाथ म यो खुसी फ्राइडेज फर फ्युचर अभियानका सबैजना सहित जलवायु परिवर्तनबारे जहाँतहीँ रहेर काम गर्नेहरूमा समर्पित गर्न चाहन्छु।”

टाइम म्यागेजिनले आफ्नो घोषणाबारे भनेको छ: “सामान्य रूपबाटै यस विश्वव्यापी अभियानको नेतृत्व गर्न आएकी उनी यो वर्ष विश्वले खेपिरहेको सबैभन्दा ठूलो मुद्दाको सबैभन्दा ठूलो स्वर बनेकी छन्।”

‘समस्या सिर्जना गर्ने बच्चा’
यद्यपि उनको सन्देशलाई महत्त्व नदिनेहरू समेत छन्। त्यसमा धेरैजसो अनुदारवादीहरू छन्। म्याड्रिडमा उनी बोल्नुअघि ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले उनलाई एकजना ‘समस्या सिर्जना गर्ने बच्चा’ भनेका थिए। टून्बेर्गले अमेजन जङ्गल क्षेत्रमा ब्राजिलका आदिवासीहरू मारिइरहेको बताएकी थिइन्।

बोल्सोनारुले संवाददाताहरूसँग भने: “ग्रेटाले इन्डियन्सहरूले अमेजन संरक्षण गरेर बसेकै कारण उनीहरूको मृत्यु भएको भनेकी छन्। प्रेसले उनीजस्ती केटाकेटीलाई स्थान दिइरहेको कुरा निकै रोचक छ।” उनले ‘समस्या सिर्जना गर्ने बच्चा’को पोर्चुगिच शब्द ‘पिरल्हा’ प्रयोग गरेका थिए।

त्यस शब्दलाई नै आफ्नो ट्विटरको परिचय बनाएर टून्बेर्गले आफ्नो प्रतिक्रिया जनाएकी थिइन्। यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत उनलाई ‘दयालु तर निकै थोरै कुरा बुझेकी किशोरी’ बताएका थिए। जलवायु परिवर्तनको विज्ञानबारे नै प्रश्न गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग समेत उनको मतभिन्नता रहने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *