नलेखिएका मेरा कविताहरु

डिसी नेपाल
२८ मंसिर २०७६ ११:५०

तिमी त कविता लेख्छौ
भावनाहरुलाई शब्दमा पोख्छौ
प्रतिक, बिम्बहरुमा
प्रेम ब्यक्त गर्छौ
तिमीलाई मनपरेको मुहार
तिमी आफ्नै कवितामा देख्छौ
कवितामै तिमी कोमलतम्
स्पर्श पाउँछौ
छन्दको अंगालोमा
तिमी कसैलाई बाँध्छौ ।

तिम्रो कवितामै साँझ पर्छ
तिमी कवितामै हिंड्दै दोबाटोमा पुग्छौ
र कसैलाई भेट्छौ
जसलाई देख्दा मात्र
तिमीलाई एउटा प्राप्तिको आभास हुन्छ ।

म त जान्दिन कविता लेख्न
शब्दमा मेरो पकड छैन
बिम्ब, प्रतिक
अलंकार मेरो बुझाई भन्दा टाढाको कुरा हो
यसको अर्थ यो नसोच-म कवी होइन
मलाई पनि फूलको सुन्दरताले
त्यतिकै छुन्छ, जति तिमीलाई
मलाई पनि काँडाले त्यतिकै घोच्छ, जति तिमीलाई ।

फरक यति हो
तिमी शब्दमा उत्रिन्छौ
र तिमी कवी भयौ
म शब्दहरुसँग अभ्यस्त छैन
र म पीडाहरु एकान्तमा रोई दिन्छु
अर्थात म कविता रुन्छु
अनि कहिलेकाहीं कवितानै हाँस्छु
मान्छेहरु तिम्रो कविताहरुमा मन्त्रमुग्ध हुन्छन्
तिम्रो पीडाहरुले पुरस्कार पाउँछन्
तिम्रो खुशीहरुले सम्मान पाउँछन्
दुनियाँले तिमीलाई चिन्छ
मलाई कसैले चिन्दैन
र आवश्यक पनि ठान्दिन
तर म बिश्वस्त छु
मेरा कबिताहरु तिम्रो भन्दा
कम हृदयस्पर्शी छैनन्
कम गहन छैनन् ।

फरक यति मात्र हो
तिम्रा कविताहहरु लेखिएका छन्
मेरा कविताहरु लेखिएका छैनन् ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *