भागवण्डा नमिल्दा कांग्रेसमा किचलो

डिसी नेपाल
१ पुष २०७६ ७:३९

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र यतिबेला विभाग गठन गर्ने र १४ औं महाधिवेशनको कार्यकतालिका सार्वजनिक गर्ने विषयको विवाद सतहमा देखिएको छ। संस्थापन पक्ष कार्यकतालिका सार्वजनिक नगरी विभाग गठन गर्न चाहन्छ भने संस्थापन इतर पक्ष पहिला १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडानमा रहँदा जारी केन्द्रीय कार्यसमिति बैठक समेत प्रभावित बनेको छ।

कांग्रेसमा जारी विवाद सहमतिबाटै टुंग्याउन दुवै पक्ष सहमत छन्। तर दुवै पक्ष आफ्नो अडानबाट टसमस भएका छैनन्। वार्ता टोलीका सदस्य सहमति जुटाउन सक्रिय छन्। अहिलेसम्म सहमतिको संभावना देखिएको छैन।

संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० / ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ। पछिल्लो समय सभापति देउवाले विधानविपरीत पार्टीका रिक्त विभाग गठन गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलल समूह असन्तुष्ट छ। देउवाले विधानमा व्यवस्था भएको २८ वटा विभागलाई बढाएर ४१ वटाको प्रस्ताव गरेका छन्।

संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन गर्ने, नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दलको कार्यसमिति बनाउन सहमतिमै टुंग्याउने सैद्धान्तिक सहमति भएको छ। सहमतिको प्रयासकै लागि सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ।

पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो। तर अहिले आएर संस्थापन पक्ष पूर्व सहमतिबाट पछि हटेपछि सहमतिको वातावरण बिग्रिएको हो।

सभापति शेरबहादुर देउवाले सहमतिको वातावरण बनाउन उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन्। वरिष्ठ नेता पौडेलले सहमतिको वातावरण निर्माणका लागि नेताहरू प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीलाई जिम्मेवारी दिएका छन्।

चाक्सीबारीको छलफलमा केही प्राविधिक विषयमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आगामी केन्द्रीय समितिको बैठक बस्नुपूर्व नै ठोस समझदारी निर्माण गर्ने समझदारी भएको छ। सोही समझदारीअनुसार केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो।

स्रोतका अनुसार पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो। तर अहिले आएर संस्थापन पक्ष पूर्व सहमतिबाट पछि हटेपछि सहमतिको वातावरण बिग्रिएको हो।

संस्थापन पक्ष २०७७ सालमा १४औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक रूपमा तयार भए पनि विभाग र भ्रातृ संस्थाको गठनको विषयमा सहमति जुट्न बाँकी छ। पौडेल समूहको मुख्य माग १४औँ महाधिवेशनको कार्यतालिका आउनुपर्ने हो।

कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो। सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो। कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *