राजपासँगको तालमेलप्रति माधव नेपाल आक्रोशित

डिसी नेपाल
३ पुष २०७६ २०:४३

काठमाडौं। बिहीबार सत्तारुढ दल नेकपाको चौथो स्थायी कमिटी बैठकको पाँचौ दिन। बैठकमा छलफल साँघुरिँदै गएको अवस्था। ‘हेभीवेट’ नेताहरुको बोल्ने पालो। त्यसैले बिहीबारको दिन नेकपाका लागि महत्वपूर्ण थियो।

बैठकको शुरुमै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आलोचकका रुपमा रहेका माधव नेपालले राजपासँग ‘गोप्य’ सम्झौता गरेकोमा आक्रोश पोखे। बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार नेता नेपालले ‘स्थायी कमिटी बैठक जारी रहेको बेला बैठकलाई जानकारी नदिएरै किन राजपासँग सम्झौता गरियो’ भने प्रश्न गरेका थिए। उनले राजपासँगको सम्झौताबाट नेकपाले के पाउँछ भनेरसमेत प्रश्न गरेका थिए। साथै राजनीतिक प्रदिवेदनमा आत्मालोचना पनि गर्ने विधिविधान मिचेर राजपासँग सम्झौता पनि गर्ने भनेर आक्रोश पोखेका थिए।
नेता नेपालको प्रश्नलाई बल पुग्ने गरी अर्का नेता भीम रावल पनि राजपासँगको सम्झौताप्रति नाखुस देखिए। उनले बैठकमा एक व्यंग्यात्मक कविता नै वितरण गरेका थिए।

बुधबार वालुवाटारमा आश्चार्यजनक रुपमा राजापा र नेकपाबीच आगामी राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो। नेकपाका नेताहरु नै यो सम्झौताबारे अनभिज्ञ थिए। त्यसैले पनि यो विषयले बिहीबारको बैठकमा चर्चा पाएको हो। नेता भीम रावलले पनि बिहीबार यो विषयमा दुई पार्टी अध्यक्षलाई प्रश्न गरेका थिए। ‘राजनीतिक प्रतिवेदनमा विधि र पद्धतिअनुसार पार्टी चल्न नसकेको भन्दै आत्मालोचना पनि गर्ने अनि बैठक जारी रहेकैबेला बैठकलाई जानकारी नदिई सम्झौता पनि गर्ने’ भन्दै दुई अध्यक्षको आलोचना गरेका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपाको विधानले स्थायी कमिटी बैठक प्रत्येक ३ महिनामा बस्नुपर्ने व्यवस्था गरे पनि एक वर्षपछि बसेको बैठकमा नेताहरु पार्टी नेतृत्व र सरकारमाथि खनिए।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले डिसी नेपालसँग भने, ‘स्थायी कमिटीमा रहनु भएका कमरेडहरुले पार्टीको आन्तरिक जीवनबारे बोल्ने औपचारिक फोरम पाउनु भएको थिएन, स्थायी कमिटी बैठकलाई राम्रैसँग उपयोग गर्नुभएको छ।’

उनले बैठकको शुरु दिनदेखि नै सरकार र पार्टी नेतृत्वको आलोचना भएको बताए। बैठकमा दुई अध्यक्षको तर्फबाट दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र पार्टी महासचिब विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव पेश गरेका थिए। अध्यक्ष तथा प्रधानमन्त्री ओली अस्वस्थताका कारण बैठकमा उपस्थित छैनन् भने कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन्।

बैठकमा ओली उपस्थित नभएको मौकाको फाइदा उनी विरोधीहरुले राम्रैसँग उपयोग गरेको ती स्थायी कमिटी सदस्यले डिसीनेपालसँग बताए। उनले भने, ‘अध्यक्ष कमरेडको आलोचक भनेर चिनिएका कमरेडहरुले बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्न कुनै कसर बाँकी राखेनन्।’

यसरी सरकार र पार्टी नेतृत्वको आलोचना गर्ने नेताहरुमा भीम रावल, पम्फा भुषाल, वेदुराम भुषाल मुख्य रुपमा देखिएका छन्। तर, पाँचौ दिन बिहीबार वरिष्ठ नेता झलनाथ खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालले आ आफ्नो धारणा राखे।

बैठकमा नेता नेपालले सरकारले सबै काम राम्रो मात्र गरेको छ भन्ने तर्क सही नभएको बताएका छन्। उनको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँले पार्टीको बैठक चलिरहेका बेला नीतिगत निर्णय नगरी राजपासँग कसरी सम्झौता भयो? के सरकारले सबै राम्रो गरेको छ? सरकारबारे आम धारणा कस्तो बनेको छ, मसँग हिँड्नुहोस म देखाउँछु।’ यसरी नेता नेपालले प्रश्नमाथि प्रश्न गरेपछि स्थायी कमिटी किरण गुरुङले विषयान्तर गरेको ती स्थायी कमिटी सदस्यले डिसी नेपाललाई बताए। उनका अनुसार गुरुङले राजापासँगको सम्झौताबारे छुट्टै समिक्षा गर्नुपर्ने बताएका थिए।

बिहीबारको बैठकमा चर्चा भएको अर्को विषय हो गोकर्ण रिजोर्ट। मन्त्रिपरिषदले यति होल्डिंग्सलाई गोकर्ण रिर्जट भाडामा दिने सम्झौता नविकरण गरेको हालै सार्वजनिक भएको थियो। जबकी ६ वर्ष म्याद हुँदाहुँदै नेपाल ट्रस्ट अन्तर्गत रहेको गोकर्ण रिजोर्ट यति होल्डिंग्सलाई दिन ऐन संशोधन गरिएको चर्चा छ। बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले ६ वर्ष म्याद हुँदाहुँदै के कारणले सम्झौता नविकरण गर्नुपरेको हो भनेर प्रश्न गरेका थिए। नेपाल ट्रस्टको प्रस्तावमा मन्त्रिपरिषदबाट सम्झौता नविकरण सम्बन्धि निर्णय भएको थियो। ट्रस्टको अध्यक्ष उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल छन्। बैठकमा पोखरेललाई पन्तले सो प्रश्न गरेपछि पोखरेलले टालटुले जवाफ दिएको एक नेताले जानकारी दिए। उनका अनुसार पोखरेलले कानुनअनुसार सम्झौता नविकरण गरिएको बताएका थिए।

यस्तै बिहीबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको कार्यदिशा, राजनीतिक प्रदिवेदनमा अन्तर्राष्ट्रिय शक्तिबारे गरिएको चित्रणमा असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्रीका सल्लाहाकार रिमालले बैठकमा सरकारका उपलब्धिबारे १५ बुँदे रिपोर्ट नै प्रस्तुत गरेका थिए।

बैठकमा शुक्रबार महासचिब विष्णु पौडेलले धारणा राखेपछि अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *