हेटौँडामा खानेपानीका ‘कुलमान’, अब काकाकुल हुनु पर्ने छैन !

हेटौँडा ।  हेटौँडामा ६ वर्ष अगाडिसम्म खानेपानीको हाहाकार थियो । सुख्खा मौसममा अधिकांश धारामा पानी चढ्दैनथ्यो । पानीका लागि नगरवासीले स्थानीय कुखरेनी, राप्तीलगायत खोला किनारका कुवा तथा वरिपरिका प्राकृतिक धारासम्म धाउनुपर्थ्याे । ती खोलाहरुमा नुहाउने र कपडा धुनेहरुको भीड लाग्थ्यो । स्थानीय होटलहरुमा टिन तथा प्लास्टिकका ठूलाठूला ड्रमहरुमा खोलबाट पानी ओसारिन्थ्यो । सुख्खायाममा मात्र हैन वर्षायाममा पनि पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो ।

अहिले हेटौँडा खानेपानी बोर्डका अध्यक्ष एवं पत्रकार प्रताप विष्टको मेहनत, लगनशीलता र इमान्दारीताको प्रयासबाट काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको छ । पत्रकार विष्टलाई हेटौँडामा खानेपानीका ‘कुलमान’ पनि भन्न थालिएको छ ।

विष्ट नेतृत्वको खानेपानी बोर्डले पानी अभावमुक्त शहरका रुपमा परिणत गरिदिएका कारण विद्युत्भार कटौतीले दिक्क बनेका नेपालीलाई उज्यालो दिन भूमिका खेलेका कुलमान घिसिङसँग विष्टको कार्यशैलीसँग तुलना गरिएको हो ।

खानेपानी बोर्डका कर्मचारीहरु अध्यक्ष विष्टको दूरदर्शिता, कार्यशैली, दृढ अठोट र तत्परताका कारण कल्पना नै नगरेको परिवर्तन प्राप्त भएको बताउँछन् । अध्यक्ष विष्ट भने बोर्डका सहकर्मी तथा कर्मचारी र विशेष रुपमा उपमहानगरपालिका र त्यसका प्रमुख हरिबहादुर महतका कारण आफ्नो नेतृत्वले खानेपानीमा उल्लेख्य काम गर्न सकेको बताउछन्।

हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपात पनि धेरै हुन्थ्यो । बजारमा कुनै पनि कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए । हेटौँडामा एक प्रकारको चमत्कार भएको छ । अचेल खानेपानीका कर्मचारी खानेपानीको कर्मचारी भनेर सबैले चिन्नेगरी बनाइएको ड्रेस लगाएर हिँड्छन् । आफूलाई खानेपानीको कर्मचारी भनेर चिनाउन पाउँदा र ड्रेस लगाएर हिँड्न पाउँदा गर्व लाग्ने बताउँछन् ।

खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो । बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करिब ८ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना । तर, न त पानी पर्याप्त आउँथ्यो, न त आएको पानी नै खान लायक हुन्थ्यो । अवस्था फेरिएको छ । बोर्डले खानेपानीको वितरणलाई मात्र चुस्तदुरुस्त बनाएन ग्राहकको सङ्ख्यालाई दुई गुणाभन्दा बढीले बढाएर १७ हजार ५ सय पु¥यायो । कर्मचारी सङ्ख्या भने घटाएर ४९ मा झा¥यो ।

खानेपानी बोर्डका कार्यकारी निर्देशक तिनै व्यक्ति छन्, जो विगतमा संस्थानमार्फत खानेपानीको काम हुँदा सहायक प्रमुखका रूपमा काम गर्थे, सुदर्शन ढकाल । ढकाल, तत्कालीन समयमा चारपटक कार्यालयमा थुनिएका थिए । हिजोको दिनमा उनलाई गालीगलौज गर्नेहरु प्रशंसा गर्छन् । बोर्ड अध्यक्षको दूरदर्शिता र सदस्यहरुबीचको संयोजन, कर्मचारीको इमान्दारपन, शीघ्र एवं सही निर्णय तथा कार्यान्वयनमा तत्परता र कुनै पनि प्रकारको बाह्य हस्तक्षेप नहुने हो भने परिवर्तन सम्भव रहेको कार्यकारी निर्देशक ढकालको भनाइ छ ।

खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हेटौँडा खानेपानीको इतिहास एउटा कुवाबाट शुरु भएको थियो ।
त्यसबेला पानी खानका लागि हेटौँडा–१ स्वर्गलोक भन्ने ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौँडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा (हाल तिरतिरे धारा) बाट पाइपको माध्यमबाट पानीको व्यवस्थापन गरिएको थियो । सानो बस्तीका रुपमा रहेको हेटौँडा बजारीकरणतर्फ लम्कँदै थियो ।

बसोबास बढेसँगै बिस्तारै घरहरु बढ्दै गए र मानिसको आवश्यकता पनि बढ्दै गयो । हेटौँडा खानेपानी विभागबाट २०२४ सालमा हेटौँडा–२ हरिकुञ्जमा ५ लाख ४६ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी तत्कालीन हेटौँडाबाट ६ किलोमिटर टाढा भैँसेगाउँ पञ्चायत (हाल भीमफेदी गाउँपालिका) वडा नं ७ बुङ्गदोलबाट ८ इन्चको पाइपबाट पानी ल्याएर हेटौँडावासीलाई पानी खुवाउने कार्यको शुरुआत गरिएको थियो ।

करिब १ हजार ३ सय धारा जडान गरी खानेपानी विभागबाट दिइँदै आएको सेवाको २०४० बाट भने व्यवस्थापन परिवर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको व्यवस्थापन हुन गयो । पछि २०४३ सालमा हरिकुञ्जमै ५ लाख लिटर क्षमताको अर्को ट्याङ्की र कार्यालय भवन निर्माण भयो । साथै हेटौँडा–४ कर्रामा दुईवटा वेल निर्माण भएको थियो । विसं २०४६ मा संस्थाकोे नाम परिवर्तन गरी नेपाल खानेपानी संस्थान राखी हेटौँडाका आम उपभोक्तालाई खानेपानीको सेवा दिइँदै आएको थियो ।

सेवा क्षेत्र विस्तार गर्ने क्रममा २०५० मा हेटौँडा–८ कमाने र २०५८ मा हेटौँडा–९ लामसुरेका बासिन्दाले सञ्चालन गरेको खानेपनाी सेवा प्रणाली यस संस्थानमा गाभियो । पछि हेटौँडा विकसित बन्दै र बजार बढ्दै गयो । व्यापक जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको माग पनि अत्यधिक हुँदैगयो । उपभोक्ताको मागअनुरुप नेपाल खानेपानी संस्थानले खानेपानी सङ्कलन, उत्पादन र वितरण गर्न सकेन र हेटौँडामा पानीको समस्या दिनानुदिन बढ्दै जान थाल्यो । नगरमा खानेपानी समस्या बढ्दै गएपछि हेटौँडा नगरपालिकाका तत्कालीन प्रमुख डोरमणि पौडेलको पहलमा नगरपालिकाले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा करिब १९ करोड बराबरको आयोजना सम्पन्न गर्‍यो ।

यस योजनाले भने हेटौँडालाई केही राहत दियो यद्यपि हेटौँडाको खानेपानीको माग तीव्र गतिमा वृद्धि हुँदै थियो । मधेश आन्दोलनपछि हेटौँडामा बसाइँसराइका कारण खानेपानीको माग दोब्बर भयो । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड गठन भयो । बोर्डले २०६४ सालदेखि नै आफ्नो क्रियाकलाप अगाडि बढाउँदै गएको अवस्था थियो ।

नेपाल सरकारको निर्णयबमोजिम नेपाल खानेपानी संस्थान हेटौँडा शाखा विधिवत् रुपमा २०७० जेठ ८ गतेका दिन हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिनदेखि बोर्डले विधिवत् रुपमा हेटौँडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली सञ्चालन गरेको थियो ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position