मैले त्यही बेला भनेको हुँ-देउवाजी र म एकै ठाउँमा रहन सक्दैनौं : प्रकाशमान सिंह

डिसी नेपाल
१६ पुष २०७६ ८:२९

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह यतिबेला पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध आक्रामक रुपमा बोल्ने नेताका रुपमा प्रकट हुन थालेका छन्। कांग्रेसका संस्थापक तथा त्यागी नेता स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमान कुनै बेला उनै शेरबहादुरका विश्वासपात्र मध्येका एक थिए।

नेपाली कांग्रेस विभाजित भई देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा उनी त्यसका एक प्रमुख पात्रसमेत थिए। देउवासँगको लामो सहकार्यपछि यतिबेला उनी देउवाको नेतृत्वमा अव पार्टी चल्न नसक्ने निष्कर्षमा पुगेका छन्।

नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका बारेमा नेता प्रकाशमान सिंहसँग डिसी नेपालका मदन कोइरालाले विशेष कुराकानी गरेका छन्। प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश:

केन्द्रीय समितिको बैठक बहिस्कार गर्नुभयो। निर्णय खारेजीको माग गर्दै हुनुहुन्छ, सभापति शेरबहादुर देउवाको नेतृत्व अस्वीकार गर्न थाल्नु भएको हो?

अहिले कै अवस्थामा अब शेरबहादुर देउवाको नेतृत्वबाट कांग्रेस अगाडि बढ्न सक्दैन। यो कुरा मैले सुरुदेखि नै भन्दै आएको हुँ। विद्यार्थीको मूल्यांकन कहिले हुन्छ ? त्यो फाइनल परीक्षामा हुने होइन ? त्यस्तै राजनीतिक दलको नेतृत्वको मूल्यांकन चुनावमा हुने हो।

त्यो चुनावमा त उहाँको नेतृत्व असफल भएको देखिइसक्यो त ! पार्टी नेतृत्वकर्ताको हिसावले निर्वाचनमा पराजयको जिम्मेवारीसमेत लिनु मान्नु भएन । उहाँले त सिंगो केन्द्रीय कार्यसमितिले नै जिम्मेवारी लिनुपर्ने तर्क गर्नु भयो ।

चुनाव हारिन्छ भन्ने कुरा चुनावअघि तपाईंहरुलाई कुनै आंकलन थिएन र देउवालाई मात्रै दोष दिने ?

दुईवटा कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले संविधान जारी गर्न नसकेर संविधानसभा विघठन भयो। दोस्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल भयो र कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो। संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य थियो, त्यसका लागि तीनवटै तहको निर्वाचन शेरबहादुर देउवाकै नेतृत्वमा भएको कुरा सत्य हो।

लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक पार्टीको नेताले प्रक्रियामा गएपछि लोकतान्त्रिक चरित्र देखाउनु पर्दैन? उहाँले निर्वाचनमा आफ्नो खल्तीबाट टिकट बाँडेपछि त्यसको असर निर्वाचनमा देखियो। आज कांग्रेसको हालत कस्तो छ ? यो सबैले देखेकै विषय हो। आज संसदमा हामी प्रत्येक दिन जसो मुलुक र जनताका विषयमा देखिएको समस्यालाई उठान गरिरहेका छौं।

हामीले सम्पूर्ण विषयमा प्याकेजमै सहमति हुनुपर्छ भनेर भनेका हौं। हाम्रो माग प्याकेजमै सहमति होस भन्ने हो। तर उहाँले छिटफुटरुपमा त्यो पनि आफूलाई फाइदा हुने गरी गरेका निर्णयलाई हामीले स्वीकार गर्ने कुरा आउँदैन। महाधिवेशनको मिति पनि छलफल गरेर सार्वजनिक गर्नुपथ्र्यो।

तर, प्रतिपक्षी दलको नेताको हैसियतमा उहाँले संसदमा कुरा नउठाएसम्म त्यो प्रभावकारी नहुने रहेछ । पत्रकारहरुले नै पनि कमजोर प्रतिपक्ष भनेर लेख्नुहुन्छ । त्यो किन भयो भने प्रमुख प्रतिपक्षी दलको नेताले संसदमा प्रभावकारी रुपमा आफ्नो कुरा राख्न सक्नु भएन।

तपाईंहरुले सभापति शेरबहादुर देउवालाई एउटा गुटको मात्र नेता भन्नुहुन्छ तर तपाईंहरु स्वयं पनि त गुट नै बनाउँदै हुनुहुन्छ नि, होइन ?

हामीले उठाएका मुद्दा जुन छन्, त्यसले गलत तरिकाले अगाडि बढाइएको पार्टीलाई ठीक बाटोमा ल्याउनलाई हो। हामीले जुन गतिविधि गरिरहेका छौं, त्यसले समग्र पार्टीलाई फाइदा हुन्छ । लोकतान्त्रिक पार्टीभित्र पार्टीलाई लोकतान्त्रिक विधिबाट सुधार गर्ने विषयले पार्टीलाई फाइदा नै पुर्याउँछ।

नेपाली कांग्रेसको जुन इतिहास र विगत छ, त्यसका आधारमा पार्टी अगाडि बढ्नु पर्ने हो। तर अहिले सभापतिजीले विगतका परम्परा र संस्कारलाई बेवास्ता गर्दै मैले जे गरेपनि हुन्छ भन्ने ढंगले अगाडि बढ्दा अहिलेको समस्या आएको हो। उहाँँ त सबैको नेता हो नि। हाम्रो पनि नेता हो । तर उहाँ आफू सबैको नेता भएको कुरालाई स्वीकार नगरेर सीमित नेताको वा समूहको नेता हुनमा रमाउनु भयो।

पार्टीभित्र बहुमतले गरेको निर्णयलाई स्वीकार गर्दिनँ भन्नुहुन्छ, लोकतान्त्रिक चरित्रको कुरा र यो व्यवाहारमा तालमेल कसरी मिल्छ त?

स्वीकार्य हुँदैन। केन्द्रीय समिति बैठकमा सहभागी नौ बुँदे प्रस्ताव हामीले राखेका छौं। समग्ररुपमा महाधिवेशनको कार्यतालिकादेखि क्रियाशील सदस्यता र भातृ संगठन विवादको सबै प्याकेजमा टुंगोमा पुगिसकेपछि बैठकमा उपस्थित हुन्छौं भनेकै छौं नि ! अब अहिले आएर उहाँहरुले गरेको निर्णयलाई स्वीकार गर्ने प्रश्नै आउँदैन।

संस्थापनपक्ष त तपाईंहरुका सबै माग पूरा गरेका छौं भन्दैछ। माग पूरा भएपनि तपाईंहरुले विरोध गर्दा तपाईंहरुमाथि महाधिवेशनमा जान डराएको आरोप लाग्न थालेको छ नि के भन्नुहुन्छ?

हामीले सम्पूर्ण विषयमा प्याकेजमै सहमति हुनुपर्छ भनेर भनेका हौं। हाम्रो माग प्याकेजमै सहमति होस भन्ने हो। तर उहाँले छिटफुटरुपमा त्यो पनि आफूलाई फाइदा हुने गरी गरेका निर्णयलाई हामीले स्वीकार गर्ने कुरा आउँदैन। महाधिवेशनको मिति पनि छलफल गरेर सार्वजनिक गर्नुपथ्र्यो।

सक्रिय सदस्यताका विषयमा जुन विवाद भइरहेको छ, यो १३ औं महाविधेशनमा भोट हाल्न नपाउने तर १४ औं महाधिवेशनमा भोट हाल्न दिने गरीकन जुन निर्णय भएको थियो, उनीहरुका विषयमा निर्णय हुनुपर्यो। अहिले अरु पार्टीबाट बिलय भएर आएका नेता कार्यकर्तालाई कसरी सम्वोधन गर्नेलगायतका विषयमा खुलारुपमा र सबैलाई चित्तबुझ्दो समाधानको बाटोतिर अगाडि बढाउनु पर्ने थियो।

विभागका विषयमा पनि हाम्रो भनाइ के हो भने महाधिवेशनमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ। समय बितिसकेपछि यी विभागहरुको के आवश्यकता छ ? १३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र विभाग गठन गरीसक्नुपर्ने थियो।

१३ औं महाधिवेशन हुनुभन्दा अगाडि नै उहाँकै अगाडि ‘अब म तपाईंसँग रहन सक्दिन, अब तपाईँ र म एकै ठाउँमा रहन सक्दैनौं भनेर हिंडेको मान्छे हो म।

अहिले केन्द्रीय कार्यसमितिको म्याद नै सकिने बेलामा विभाग गठन गर्न लाग्नु भनेको त आगामी १४ औं महाविधेशनलाई प्रभावित पार्न, आफ्नो पक्ष बलियो बनाउन, धाँधली गर्न खोजेको देखियो नि! यसो नगरौं भन्ने हाम्रो भनाइ हो। यो भातृ संगठनको पनि विधिसम्मत रुपमा समस्याको समाधान गरेर यी सबै कुरालाई विधिसम्मत रुपमा कार्यसमितिमा राखेर निर्णय गरौं भनेको उहाँहरुले त्यसलाई मान्नु भएन ।

तपाईँ कुनै बेला सभापति शेरबहादुर देउवाको निकटमा रहेर काम गर्नु भयो। अहिले किन टाढा हुनुभएको हो?

मैले उहाँसँग काम गरेको धेरै पहिला हो। त्यो बेलाको काम गराइ र अहिलेको काम गराइमा भिन्नता आयो होला । म अहिले उहाँको निकटमा छैन । १३ औं महाधिवेशन हुनुभन्दा अगाडि नै उहाँकै अगाडि ‘अब म तपाईंसँग रहन सक्दिन, अब तपाईँ र म एकै ठाउँमा रहन सक्दैनौं भनेर हिंडेको मान्छे हो म।

अहिले सरकार अधिनायकवादतर्फ अगाडि बढ्यो भनेर कांग्रेसले आरोप लगाउने गरेको छ । तर लोकतान्त्रिक भनिएको कांग्रेस भित्र तपाईँहरु नै सभापति निरंकुश ढंगले अगाडि बढ्न खोजे भनेर भन्दै हुनुहुन्छ । तपाईंहरु पार्टीको आन्तरिक किचलोमा रुमल्लिँदा सरकारलाई लगाम कसले लगाउने?

सरकारलाई लगाम लगाउन पनि पार्टीलाई व्यवस्थित गर्नुपर्छ। पार्टीलाई व्यवस्थित गरेर लैजाने जिम्मेवारी कसको हो? जिम्मेवारी सबैको होला तर सबैभन्दा बढी त पार्टी सभापतिकै होला नि ! अब उहाँले आफूले गरेको गल्तीलाई स्वीकार गर्दै त्यसलाई सच्याउने हो भने यी सबै कुरा ठीक भइहाल्छन् ।

यहाँले पार्टी सभापतिले १४ औं महाविधेशन कब्जा गर्ने रणनीति बनाएको भन्नु भयो । अब त्यसलाई रोक्न तपाईंहरुको सर्वसम्मत नेताचाहिं को हो त?

पार्टीलाई संस्थागत गर्नका लागि, पार्टीलाई वर्तमान चुनौती सामना गर्न सक्ने बनाउनका लागि, संस्थागतरुपमा विधिसम्मत, नियमसम्मत र अनुशासित बनाउनुपर्छ भन्ने सबै एकै ठाउँमा आउन थाल्नु भएको छ। मुख्य कुरा व्यक्तिको भन्दा पनि समग्र पार्टीको हितमा पार्टीलाई जनताको माझमा भरपर्दो पार्टीको रुपमा बिकसित गर्न हामी सबै एक ठाउँमा छौं।

यो कुनै व्यक्ति विशेषका कारण नभएर आदरणीय संस्थापक नेताहरुले स्थापना गरेको र जनताको भरपर्दो पार्टीका रुपमा स्थापित भइसकेको पार्टीलाई वर्तमान नेतृत्वको कमिकमजोरीले गर्दा लोकप्रियतामा जुन कमी आएको छ, त्यसलाई पुनप्राप्त गर्नका लागि सबै नेता एकै ठाउँमा आउनुको विकल्प छैन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *