इराकस्थित अमेरिकी दूतावासमा कार्यरत केही नेपाली फर्काइयो

डिसी नेपाल
२१ पुष २०७६ १८:५३

काठमाडौं। अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकमा बढेको तनावका बिच इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा कार्यरत केही नेपाली कामदारलाई फर्काइएको छ।

इराकस्थित हाम्रा सहकर्मी विनोद श्रेष्ठका अनुसार आइतबार र सोमबार गरेर ४० जना विदेशी कामदारलाई दूतावासले स्वदेश फर्काएको छ। तर, त्यसमा कति नेपाली फर्काइए भन्ने पुष्टि हुन सकेको छैन।

परराष्ट्र प्रवक्ता भरत पौडेलले डिसी नेपालसँग भने ‘मध्यपूर्वमा तनाव बढेसँगै हामीले ती क्षेत्रमा रहेका हाम्रा नागरिकहरुको सुरक्षा विषयमा सोचि सकेका छौं। परराष्ट्रमन्त्रीले यो विषयमा आइतबार नै सम्बन्धित क्षेत्र हेर्ने महाशाखा प्रमुखहरुसँग छलफल गर्नु भएको छ। खाडी क्षेत्रमा रहेका नेपाली कामदारलाई हामीले नेपाली दूतावासको सम्पर्कमा रहन सुझाव दिइसकेका छौं।’

इराकमा नेपाली दूतावास नभएकाले त्यहाँको बारे कुवेतस्थित नेपाली दूतावासले इराकबारे समन्वय गर्छ। उता इरानबारे भने पाकिस्तानस्थित नेपाली दूतावासले समन्वय गर्छ।

बग्दादस्थित सहकर्मी श्रेष्ठका अनुसार हाल इराकमा कम्तिमा १४० जना नेपाली रहेको बुझिएको छ। दूतावासमा ६०, सेनाको बेस क्याम्पमा ७० र विमानस्थलमा १०० जना नेपाली रहेको उनले जानकारी दिएका छन्।

समाचारअनुसार इरान–अमेरिका तनाव बढेपछि अमेरिकी राजदुताबासमा कार्यरत बिदेशी कामदार दैनिक २० जनाको दरले आफ्नै देश फिर्ता गरिरहेको छ।

त्यहाँ कार्यरत नेपालीहरु भित्र सुरक्षित रहे पनि क्याम्प भित्रैनै बम आक्रमण भएमा त के नै गर्न सकिन्छ भन्ने उनीहरुको चिन्ता रहेको हाम्रा सहकर्मी श्रेष्ठले बताएका छन्।

इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि अमेरिकन राजदूतावासका कर्मचारिहरुलाई सुरक्षामा बिशेष ध्यान दिन आग्रह गरेको छ। दूतावासबाट अमेरिकी उच्च अधिकारीहरु पनि अमेरिका फर्किएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *