सरकारमा जाने विषयलाई लिएर राजपाको विवाद छताछुल्ल

डिसी नेपाल
२ माघ २०७६ २०:२४

काठमाडौं। सत्तारुढ दल नेकपासँग दुई बुँदे सहमति गरेर सरकारमा जाने भर्याङ बनाएको राष्ट्रिय जनता पार्टी (राजापा)मा सरकारमा जाने वा नजाने भन्ने विषयमा भएको विवाद छताछुल्ल भएको छ।

राजपा र नेकपाबीच यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने र राजनीतिक सहमति गर्ने सम्झौता भएको थियो। यो सम्झौतापछि राष्ट्रियसभा प्रदेश नम्बर २ को निर्वाचनमा राजपाले २ सिटमा उम्मेदवारी दिएको छ, नेकपाले २ सिटमा उम्मेदवारी दिएको छ।

अब चुनाव सकिएपछि राजपा सरकारमा जाने तयारीमा छ। मुख्य गरेर राजपा अध्यक्ष मण्डलका हालका संयोजक राजेन्द्र महतो सरकारमा जाने पक्षमा छन्।
तर, पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री सर्वेन्द्र नाथ शुक्ल भने सरकारमा जाने विषयमा गम्भीर छन्। उनले सामाजिक सञ्जाल फेसबुकमै लेखेर संविधान संशोधनको मुद्दामा सहमति नबन्दासम्म राजपा सरकारमा जान नहुने बताएका छन्।

उनले फेसबुका लेखेका छन्, ‘रेशम चौधरीको रिहाईलाई राजपाका केही नेताहरुले सरकारमा जाने गेटपासका रुपमा लिइराखेका छन्। निसन्देहः रेशम चौधरी छुट्नु हाम्रा लागि अत्यन्त खुसीको कुरा हो। तर अन्य व्यक्तिको रिहाई, र समस्त झुठा मुद्दा खारेजी तथा हाम्रो अर्जुन दृष्टि रहेको मुल विषय, सम्पूर्ण आदिवासी, जनजाती, दलित, मधेसी, मुस्लिम, थारु, महिलाको उत्थानका लागि गरिएको हाम्रो बाचा र एजेन्डा संविधान संशोधनलाई कुनै हालतमा छोड्न मिल्दैन। स्मरण रहोस यत्रो त्याग र बलिदानले स्थापित यो मुद्दा राजपाले कसैको स्वार्थमा पन्छाउन खोजे इतिहासले हामीलाई कहिल्यै क्षमा गर्ने छैन। सबैलाई समयमा चेतना भया।’

स्मरण रहोस बुधबारमात्र राजधानीको खुलामञ्चमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरी छुट्ने बताएका थिए।
कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी हाल जेलमा छन्। एक एसपीसहित ७ जनाको ज्यान जानेगरी कैलालीमा भएको हिंसाका मुख्य अभियुक्तका रुपमा चौधरी दोषी ठहर भएर सजाय काटिरहेका छन्। सजाय काटिरहेका बेला उनलाई सांसद पदको शपथ गराइएको थियो। शपथ खुवाएपछि फेरि उनलाई जेल लगिएको थियो।

यही माघमा चौधरीबारे अदालतबाट सकरात्मक फैसला आउने र त्यसपछि सरकारमा जाने राजापा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको दाउ छ। तर, विभिन्न पार्टी मिलेर बनेको राजपामा एकले अर्कोलाई टेर्ने परिस्थिति नबनेकाले सरकारमा जाने विषयमा एकमत हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *