‘रुग्ण ठेक्कामा प्रगति हुन सकेन’

डिसी नेपाल
१ फागुन २०७६ २२:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले बिहिबार सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन, अध्ययन तथा विश्लेषण प्रतिवेदन, २०७६’ मा रुग्णमध्ये निकै सानो सङ्ख्याका ठेक्का मात्र निर्माण सम्पन्न भएको जनाइएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को मङ्सिरसम्ममा एक हजार ८४८ ठेक्का सम्झौता तोकिएको अवधिमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा पुगेका थिए । एक वर्षका अवधिमा उक्त रुग्ण ठेक्कामध्ये ६८१ ठेक्का सम्झौताअन्तर्गतका कार्य निर्माण सम्पन्न भएको छ । त्यस्तै २८ आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।

रुग्ण ठेक्कामध्ये रु ८६.४४ अर्ब बराबरका एक हजार २०२ ठेक्का सम्झौता हालसम्म पनि क्रमागत अवस्थामा रहेको आयोगले जनाएको छ । क्रमागत अवस्थामा रहेकामध्ये ४९ ठेक्का सम्झौताको म्याद थप भएको र अन्य सम्झौताको म्याद थपसम्बन्धी कुनै निर्णय नभएको प्रतिवेदनमा उल्लेख छ ।

क्रमागत अवस्थामा रहेकामध्ये ४०२ ठेक्का सम्झौताको प्रगति ८० प्रतिशत, ३१५ ठेक्काको ५० प्रतिशत माथि तथा ४८५ ठेक्का सम्झौताको प्रगति न्यून रहेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा ‘वर्थिङ सेन्टर’ निर्माण, खानेपानी योजना, सडक, पुल निर्माण, राजमार्ग स्तरोन्नति, विद्युत् ट्रान्समिसन लाइन निर्माणलगायत ठेक्का रुग्ण अवस्थामा रहेका आयोगले जनाएको छ । रुग्ण ठेक्का समयमै सम्पन्न गर्न सरकारलाई २७ बुँदे सुझाव दिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *