सभामुखलाई चेक गणतन्त्रको बधाई

डिसी नेपाल
२ फागुन २०७६ २३:०६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले शुक्रबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मिलानले सभामुखलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा सभामुख सापकोटाले दुई देश दूरीका हिसाबले टाढा भए पनि मित्रताको हिसाबले नजीक भएको बताए ।

विसं २०७२ को भूकम्पका बेला चेक सरकारले गरेको सहयोगको प्रशंसा गर्दै उनले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाएको बताए । “दुई देशबीच संसद्–संसद्, सरकार–सरकार र जनस्तरसम्म सम्बन्ध छ, यो असल मित्रताको उदाहरण हो”, सभामुख सापकोटाले भने ।

भेटमा राजदूत मिलानले सभामुख सापकोटालाई चेक गणतन्त्रको भ्रमणको निम्तो दिएका छन् । उनले चेक गणतन्त्रले नेपालमा खानेपानी, सरसफाइ, सौर्य ऊर्जालगायत क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिँदै पर्यटन विकासका लागि पनि सहकार्य गर्ने विश्वास दिलाए । राजदूत मिलानले दुई देशबीच आर्थिक सहयोगका लागि संरचना भए पनि सदुपयोग गर्न नसकिएको बताउँदै यो वर्ष त्यससम्बन्धी काम पनि अघि बढ्ने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *