महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा सफाइ

डिसी नेपाल
४ फागुन २०७६ ६:४०

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ।

सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी भएका थिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ।

यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो।

यसैगरी शनिबार उपत्यकाको रुद्रमती सफाइको छ वर्ष प्रवेशका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल, पूर्व मन्त्री एवं सांसद गगनकुमार थापा लगायत अभियानकर्मीले नदी सफाइका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

मनोहरा सफाइको १५२ औँ हप्तामा बालकुमारी पुलमुनिको क्षेत्रमा सफाइ गरियो। सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दँगालले जानकारी दिए ।

चक्रपथ पश्चिम खण्ड सफाइको १३२ औँ हप्तामा सीतापाइला चोक सोल्टीदोबाटो क्षेत्रमा सफाइ गरियो।

सफाइमा उत्साहजनक सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो।

विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको थियो।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *