बैंकमा साढे ३५ खर्व निक्षेप, ५० प्रतिशत मुद्दती

डिसी नेपाल
६ फागुन २०७६ ७:१४

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले लगानी योग्य पुँजीको अभाव भइरहेका बेला मुद्दती निक्षेप संकलनमा जोड दिएका छन्। बैंकहरुलाई कर्जा लगानीयोग्य पुँजीको अभाव भएकाले दीर्घकालीन प्रकृतिका निक्षेपमा जोड दिन थालेका हुन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले ३५ खर्व ५९ अर्व रुपैयाँ निक्षेप संकलन गरेका छन्। उक्त रकममध्ये चल्ती निक्षेप ८.५ प्रतिशत, बचत ३१.९ प्रतिशत मुद्दती ४९.२ प्रतिशत र अन्य १०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको पुस महिनामा चल्ती निक्षेप ८.६ प्रतिशत, बचत ३३.३ प्रतिशत र मुद्दति ४७.९ प्रतिशत रहेको थियो।

साधारण बचतको हिस्सा घट्दै मुद्दति निक्षेपको हिस्सा बढ्दै गएको छ। बैंकहरुले साधारण बचत भन्दा मुद्दतीलाई प्राथमिकता दिन थालेका हुन्। २०७६ पुससम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७.७ प्रतिशतले बढेको थियो।

६ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१ प्रतिशत रहेको छ। २०७५ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत नै रहेको थियो।

बैंकहरुको निक्षेप वृद्धिको तुलनामा कर्जा उच्च रहेको छ। पुससम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा ८.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.७ प्रतिशतले बढेको थियो।

बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४.९ प्रतिशत घरजग्गाको धितोमा र १३.५ प्रतिशत चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ ९.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.७ प्रतिशत, निर्माण क्षेत्रतर्फ ९.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ८.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १०.६ प्रतिशतले कर्जा बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १५.८ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.४ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.४ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *