कोरोना संकट : दक्षिण कोरियामा रहेका नेपाली त्रसित

डिसी नेपाल
११ फागुन २०७६ १७:२७

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दक्षिण कोरियामा फैलिएपछि सियोलस्थित नेपाली दूतावासले नेपालीहरुलाई सतर्क रहन सूचना जारी गरेको छ।

यो रहस्यमयी भाइरसले दक्षिण कोरियामा पनि ४ जनाको ज्यान लिएको छ। कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बेलुकासम्ममा यो भाइरसका कारण ६ सय ९ जना संक्रमित भएका छन्। यहाँका स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोना भाइरस प्रकोप गम्भीर अवस्थामा प्रवेश गरेको टिप्पणी गरेका छन्।

एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना बढेपछि कोरियामा रहेका नेपालीहरु डराउन थालेका छन्। ‘भाइरसको प्रकोप बढेपछि निकै डर र त्रासका बीच काम गरिरहेका छौं। कम्पनीले बाहिर हिंडन् निषेध गरेको छ,’ नुवाकोटका सालिक न्यौपानेले डिसी नेपालसँग भने, ‘अत्यावश्यक काम भएमा मात्रै बाहिर निस्कन्छौँ। तर, आत्तिहाल्नु पर्ने अवस्था भने छैन।’

न्यौपाने झल्लानाम्दो हाम्फ्याङमा रहेको एचएस लिटिटेक कम्पनीमा काम गर्छन्। यो ग्रामिण भेग हो। उनका अनुसार यो क्षेत्रमा नेपालीको संख्या धेरै छैन। ‘यहाँ त्यति धैरै नेपाली छैनौँ। कोरोनाको प्रकोप बढेपछि कम्पनीले सतर्कता अपनाउन भनेको छ। हामीलाई कम्पनीले नै मास्क उपलब्ध गराएको छ’, उनले भने ।

एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका उदयपुरका संजीव राईले कोरोना आतंकले कोरियाको जनजीवन नै कष्टकर बनेको बताए। उनले धेरै कम्पनीले काम नै बन्द गर्न थालेको बताए। ‘स्थिती गाह्रो बन्दै गएको छ। धैरै जसो कम्पनीले विदा दिन थालेका छन्,’ राईले डिसी नेपालसँग भने, ‘अहिलेसम्म कोही पनि नेपालीमा यसको संक्रमण देखा परेको छैन। तर, नेपालीहरुमा डर र त्रास भने छ।’

उनका अनुसार कोरियाका कतिपय शहरहरुमा दैनिक उपभोग्य खाद्यन्न, तरकारी लगायतका समानहरुको अभाव हुन थालेको छ। त्यस्तै मार्ट लगायतका मार्केट पनि बन्द गरिएको छ। बजारमा सर्जिकल मास्कको पनि अभाव छ। पहिला अनलाइनबाट किन्न सकिने मास्क अहिले अनलाइनबाट पनि किन्न सकिंदैन।

कोरियामा कामसँगै पत्रकारिता गर्दे आएका पोखराका अर्जुन बरालले पनि कोरोना संक्रमणले उग्ररुप लिएपछि कोरियामा रहेका नेपालीहरु डराएको बताए। उच्च सतर्कता अपनाउने आवश्यकता रहे पनि डराएर आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘पछिल्लो समय भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ। कोरियाका अधिक मात्रामा भिडभाड हुने ठाउँ अहिले सुनसान छन्। सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर नहिड्न अपिल गरेको छ,’ बरालले भने, ‘सतर्कता अपनाउन जरुरी छ। तर, डर लाग्यो भन्दैमा अहिले नै आत्तिहाल्नु पर्ने अबस्था छैन।’

त्यस्तै अर्घाखाँची ढाकावाङका गोपाल भुसालले आफन्नो मन निकै आत्तिएको बताए । ‘म प्रभावित क्षेत्र थेगुबाट टाढा छु। तर, पनि प्रकोप बढ्दै गएपछि मन अत्तालिएको छ। चाइनाकै जस्तै अवस्था नआउला भन्न सकिन्न,’ उनले भने ‘तनाव भएको छ। हेरौँ अगाडि के के हुने हो।’

बुटवल बेल्बासका जीवन भट्रराई विगत १० दिनदेखि आफूले काम गर्ने कम्पनी बन्द भएको बताउँछन्। उनका अनुसार चाइनामा कोरोनाको संक्रमण देखिएपछि कोरिया सरकारले नाका बन्द गर्ने निणर्य गरेको थियो। नाका बन्द भएर चाइनाबाट आउने कच्चा पदार्थको आपूर्ति ठप्प भएपछि कम्पनी बन्द भएको हो। उनलाई कम्पनी साहूले अर्को काम खोजेर गर्न भनेको छ।

‘१० दिन भयो कम्पनी ठप्प छ। कम्पनीले काम अन्यत्र काम खोज्न भन्दै रिलिज दिएको छ,’ उनले सुनाए ‘कोरोनाको संक्रमण दिनप्रतिदिन बढेपछि निकै डर लागेको छ। भोली काम खोज्न जब सेन्टरमा जाने सोँच थियो। तर, अब काम खोज्ने कि नेपाल फर्केने भन्ने बारेमा अलमलमा परेको छु।’

अहिलेसम्म दक्षिण कोरियामा सबैभन्दा बढि प्रभाव देखिएको क्षेत्र हो डाइग (थेगु)। त्यहाँ नेपालीको संख्या धेरै रहेको बताइन्छ । डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण बढ्दो रुपमा देखिएको भन्दै मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गत फेब्रुअरी ९ तारिख भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेपछि त्यहीँबाट संक्रमणले महामारीको रुप लिएको हो। थेगु र नजिकै अवस्थित चेओङ्दोलाई विशेष निगरानी क्षेत्र घोषणा गरिएको छ। स्थिति जटिल बन्दै गएमा कोरियन सरकारले आपत्तकाल घोषणा गर्ने अनुमान गरिएको छ।

नेपालीलाई सतर्क रहन् दूतावासको आग्रह

पछिल्लो समय दक्षिण कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसंगै यहाँको सरकारले उच्च शतर्कता अपनाएको छ। कोरोना संक्रमण फैलिएपछि भाइरसबाट बच्न सियाेलस्थित नेपाली रादूतावासले नेपालीाई आग्रह गरेको छ। आइतबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै शंका लागेको खण्डमा स्वास्थ्य चौकीमा पुगेर उपचार गर्न आग्रह गरेको हो।

दूतावासले सबैभन्दा धेरै संक्रमितहरु देखा परेको थेगु तथा आसपासका क्षेत्रमा रहेका विद्यार्थी तथा अन्य पेशा, व्यवसाय र श्रम गरी बसिरहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

दूतावासले कोरोनाको लक्षण तथा बच्ने उपायबारे कोरियाका विभिन्न निकायबाट प्राप्त सचेतना मुलुक साम्रगीहरु आफन्नो वेभसाइटमा अपडेट गरिरहेको जनाउँदै वेभसाइटमा हेरेर सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

अवैधानिक कामदारलाई पक्राउ नगरिने

यसैबीच कोरोनाको संक्रमण रोक्न कोरियाले यो अवधीभर यहाँ रहेका अवैधानिक कामदारलाई पक्राउ नगर्ने जनाएको छ। संक्रमितको संख्या बढेपछि अवैधानिक विदेशी कामदारको हकमा यहाँको न्याय मन्त्रालय र रोग नियन्त्रण महाशाखाले छुट्टै सूचना जारी गर्दे यस्तो बताएको हो।

कोरोना भाईरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नर्फकाउने र विरामीको कानुनी हैसियतबारे नसोध्न अस्पताललाई कोरियाली अध्यागमन विभागले निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *