आजबाट कोटेश्वर-सुर्यविनायक सडकखण्डमा नयाँ नियम लागू , के-के भयो परिवर्तन ?

डिसी नेपाल
१४ फागुन २०७६ ७:२९

काठमाडौं । कोटेश्‍वर–सुर्यविनायक सडक खण्डमा हुने सवारी चापलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट लागू हुनेगरी लेन सम्बन्धी नयाँ नियम लागू गरेको छ ।

सवारी चापको व्यवस्थापनका लागि सो रुटमा आज बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता एसपी ढकालका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा तथा छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी दायाँ लेनमा गुडाउनु पर्ने छ।

सो सडकमा गुड्ने सवारी तथा हिँड्ने यात्रुले पूर्व जानकारी लिन चाहेमा ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३, फोन ०१–४२१९६४१, ४२२००६०, मेट्रो कन्ट्रोल १०० मा फोन गरेर पनि लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा, लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगर्ने सवारीलाई कडा कारवाही गरिने बताए ।

उनले भने, “यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा छ।”

उक्त सडक खण्डलाई व्यवस्थित गर्न विभिन्न सामाजिक संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि पुर्व प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक बिभाग भक्तपुरका प्रतिनिधी रहेको ६ सदस्य अनुगमन समिति गठन गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *