मानवअधिकारवादी संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपालमा

डिसी नेपाल
१४ फागुन २०७६ १४:२३

काठमाडाैं। स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ।

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ। शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताए।

यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा काम गर्ने जनाइएको छ। अमेरिकामा मुख्य कार्यालय रहेको यो संस्थाले नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नेछ।

हरेक बालबालिकाको समान अधिकारको सुनिश्चितताका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माको भनाइ छ। नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरिएको छ। विद्यालय तथा कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरिने संस्थाका सदस्य ऋषि गौतमले बताए।

नेपालमा कार्यरत मानवअधिकारवादी संस्था तथा स्थानीय सरकारको सहकार्य र साझेदारीमा संस्थाका गतिविधि अघि बढाइने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *