चन्द समूहका दुई नेता पक्राउ
नेत्रविक्रम चन्द विप्लव।
भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ । शनिबार महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको जानकारी दिए।
भक्तपुरको फरक–फरक स्थानबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए ।
भक्तपुरस्थित फरक–फरक ठाउँमा सरकारबाट चन्द समूहका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए।
उनीहरुलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको जानकारी दिँदै उनले पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment