भारतको उदासिनताले नेपाल–भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित
काठमाडौं। भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल–भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित बनेको छ।
नेपालले दुई पटक कुटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरे पनि भारतले परिस्थिति अनुकुल नभएको जवाफ पठाएको छ। परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताए।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सचिव बैरागीले भारत वार्ताका लागि सकारात्मक भए पनि दुबै देशको अनुकुल समयको पर्खाईरहेको बताए। उनले भने, ‘परराष्ट्र सचिवस्तरीय वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारले २ पटक वार्ताका लागि मिति प्रस्ताव गर्दै कुटनीतिक पत्र पठाएको थियो। तर यो बीचमा भारतीय विदेश सचिवको परिवर्तन र नेपालका लागि भारतीय राजदूतको नयाँ नियुक्तिका कारण नेपालले भनेको मिति उनीहरुलाई अनुकुल नभएको बुझ्नमा आएको छ। फेरी अर्को बैठक कहिले गर्ने भन्ने कुरा टुंगो लागेको छैन।’
सचिव बैरागीले यो वर्ष नेपाल–भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताए। यस्तै १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उनले बताए। नेपाल–भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्याङ्क समेत संकलन गरेको उनले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment