साउदीमा कोरोनाबाट हालसम्म नेपाली सुरक्षितः राजदूत राजपुत

डिसी नेपाल
६ चैत २०७६ ११:३१

रियाद । संसारभर महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण साउदी अरबमा पनि देखिएको छ । यो समाचार तयार पार्दासम्म साउदी अरवमा २ सय ३८ जना कोरानांक्रमित भेटिएका छन् । जसमध्ये ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्् ।

साउदी अरबमा उल्लेख्य संख्यामा नेपाली रोजगारीका लागि पुगेका छन् । हालसम्म कुनै पनि नेपालीमा यो भाइरसको संक्रमण नदेखिएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘साउदी अरबमा अहिलेसम्म कुनै पनि नेपालीमा यसको संक्रमण देखिएको छैन । यहाँ संक्रमित भएका बिरामीहरुको स्वास्थ्य अवस्था सुधारउन्मुख छ,’ उनले भने ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न साउदी अरबले विभिन्न जनचेतनामूलक कार्यक्रमक गरेको भन्दै उनले सरकारको खुलेर प्रशंशा गरे । साउदी सरकारले महामारी फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई हप्तासम्म लकडाउन गरको छ । लकडाउनपछिको अवस्थामा अहिलेसम्म नेपाली श्रमिकहरुलाई कुनै पनि समस्या नआएको पनि उनले जानकारी दिए । ‘अत्यावश्यक भन्दा बाहेकको काम सबै ठप्प भएका छन् । त्यसबाट हालसम्म नेपाली श्रमिकहरुलाई त्यस्तो कुनै समस्या परेको छैन,’ उनले भने ।

बिदामा स्वदेश फर्केकाहरु कोरोना भाइरस सामान्य अवस्थामा आइसकेपछि सहजै रुपमा साउदी अरबमा फर्किन पाउने व्यवस्था रहेकोले नआत्तिन उनले अनुरोध गरेका छन् । ‘यो समस्या कामदारको होइन । साउदी सरकारले नै अन्तराष्ट्रिय उडान बन्द गराएको हो,’ उनी भन्छन् ‘यसलाई सार्वजानिक बिदामा लिइन्छ । स्वदेश फर्किएका सबै अवस्था सामान्य भैसकेपछि सहजै साउदी फर्कन पाइन्छ । त्यसैले विदामा स्वदेश फर्केका आत्तिनु पर्दैन ।’

कोरोना संक्रमणको विषयलाई लिएर आत्तिने वा तनाव लिने भन्दा सतर्कता अपनाउने कुरामा बढी ध्यान दिन समेत उनले सुझाव दिएका छन् । सबैलाई हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्य रुपमा हात धुन उनको अनुरोध छ ।

त्यसैगरि साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको संक्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि उनले आग्रह गरे ।

कोरोना नियन्त्रण नआएसम्म स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी अत्यावश्यक काममा बाहेक बाहिर ठूला जमघट हुने ठाउँमा हिँडडुल नगर्न पनि उनले अनुरोध गरेका छन् । त्यस्तै नेपालीहरुको चलन धेरै धुम्रपान र मध्यापन गर्ने भएको बताउँदै यस्तो अवस्थामा सेवन नगर्न आग्रह गरेका छन् । धुम्रपान र मध्यपान गर्दा कोरोना संक्रमणको जोखिम अझ बढी हुने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *