विदेश जान नपाएका नेपालीहरुलाई सरकारले काम दिन्छः अर्थमन्त्री खतिवडा

डिसी नेपाल
६ चैत २०७६ १८:३६

काठमाडौं । सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्वतयारीको अभियानमा लागेको स्पष्ट पारेको छ ।

कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संक्रमणको जोखिम आउन नदिन सरकारले पूर्ण सर्तकता अपनाएको स्पष्ट पारेका छन् ।

सरकारले समयमै अपनाएको सर्तकताका कारण अहिलेसम्म कोरोना संक्रमणबाट नेपाल र नेपाली बच्न सफल भएको उल्लेख गर्दै उनले सम्भावित जोखिमको क्षेत्रमा थप प्रबन्ध गर्ने काम भईरहेको स्पष्ट पारे । उनले केही समयभित्रै संक्रमणको त्रासबाट मुक्त हुने विश्वास पनि दिलाए ।

विश्वका छिमेकी मुलुकको संक्रमणबाट नेपालले पाठ सिकेको बताउदै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खतिवडाले भने, ‘कोरोना संक्रमणको विश्वपरिवेश र छिमेकी मुलुकको संक्रमणलाई नजिकबाट नियालिरहेका छौ । एउटाले खतरा मुुक्त भयौं भनेर घोषित नै गरेको अवस्था छ । अर्को छिमेकी मुलुकले पनि अत्यन्तै धेरै सर्तकता अपनाएका कारणले त्यहाँ देखिएको संक्रमण सिमित व्यक्तिहरुमा नै केन्द्रीत रहेको छ र यसको फैलावटको क्रम त्यत्ति छिटो छैन । त्यसैले हामी छिटै यो सन्त्रासबाट मुक्त पाउँछौ र पर्यटन व्यवसाय फेरी आफ्नै लयमा फर्कने छ ।’

उनले पूर्वतयारी स्वरुप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजी क्षेत्रका चिकित्सक लगायत विभिन्न क्षेत्रसंग सहकार्य अघि बढाइएको बताए । मित्रराष्ट्रले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न पनि थालिसकेको जानकारी दिए । उनले तत्काल केही आन्तरिक आर्थिक क्षेत्रमा प्रभाव देखिएपनि समस्या समाधानमा सबै तहका सरकार एकजुट भएकाले सबै नागरिकलाई सुरक्षित राख्न सक्छौ भन्ने विश्वास सरकारले लिएको बताए ।

उनले भने, ‘आन्तरिक आर्थिक क्रियाकलापहरु केही क्षेत्रबाहेक धेरै प्रभावित भईसकेका छैनन् । व्यापार क्षेत्र, निर्माण क्षेत्र, उद्योग क्षेत्र , वित्त क्षेत्र स्वभाविक रुपले अघि बढीरहँदा केही सानातिना क्षेत्रहरुमा हामीलाई अलिकति असर परेको छ । विद्यालयहरु बन्द गरेका छौं । हिडडुल नगर भनेका छांै । सार्वजनिक स्थलहरुमा नजाउ भनेका छांै । तर, यसलाई हामीले दीर्घकालिन असर नपर्ने गरि व्यवस्थापन गरेर अघि बढ्नु पर्नेछ । संघ, प्रदेश र स्थानीयतहसंगको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाएका छौ । तीनै तहको सहकार्य अहिले राम्रो विन्दुमा छ । त्यसैले गर्दा हामी सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित अवस्थामा राख्न सक्छौ भन्ने लाग्छ ।’
उनले तत्काल पर्यटनक्षेत्रमा असर देखिएको र पर्यटनसँग सम्बन्धित हवाई, होटल लगायत क्षेत्र प्रभावित भएपनि त्यसले समग्र अर्थतन्त्रमा असर पर्छ भनेर आकलन नगर्न आग्रह समेत गरेका थिए ।

उनले भने, ‘पर्यटनमा असर पर्यो त्यसका कारणले समग्र अर्थतन्त्रमा शिथिल हुन्छ भन्ने एउटा ठाडो अनुमान गरिरहेका छौ । कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै योगदान रहने क्षेत्रमा परेको असरले समग्र अर्थतन्त्रमा पर्ने असरलाई पनि त्यसै अनुसार नै मापन गर्नुपर्छ । त्यो भन्दा बढी अनुमाग गर्नु आवश्यक छैन ।’

सिजनको समयमा प्रभावित भएको पर्यटन व्यवसायलाई अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटन ल्याएर पुरण गर्ने गरि सरकारले अफ सिजन टुरिजम तर्फको रणनीति बनाउन थालेको पनि उनले स्पष्ट पारे ।

होटलमा कार्यरत अस्थायी कामदार र श्रमिकहरुको स्थितिमा देखिने प्रभाव कम गर्न श्रमिकहरुकै कल्याणकारी कोषहरुलाई परिचालन गर्ने तयारी पनि सरकारले गरेको उनले बताए । त्यसैगरी पर्यटन उद्योगलाई परेको ऋण सम्बन्धी समस्यालाई पुनःताजगी गर्नुको साथै कर भुक्तानीको समय सार्ने बारे पनि सरकारले छलफल गरिरहेको स्पष्ट पारे । उद्योगको प्रकृति अनुसार सरकारले दिने राहत फरक पर्ने भएकाले त्यसबारे निर्णयमा पुग्न केही समय लाग्ने बताए ।

व्यक्ति स्वंयम र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नका लागि बैदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनुपरेको भन्दै उनले वैदेशिक रोेजगारीमा गएर फर्किएका र फेरी जान नपाएका इच्छुकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम गर्ने व्यवस्था मिलाईने बताए ।वैदेशिक रोजगारीमा जान रोक लगाएकै कारण बिप्रेषणमा प्रभाव नपर्ने दाबी उनले गरे । बिप्रेषणको वृद्धिदर लामो समयदेखि उच्च रहदै आएको र वर्तमान अवस्थामा बैंकसँग पर्याप्त तरलता रहेकाले मुद्रा र पूँजी बजारमा ठूलो वित्तिय समस्या पर्ने स्थिति नरहेको उनले बताए ।

उनले भने, ‘खासगरी बिप्रेषणको रकम बैकिङ्ग प्रणालीमा आउने हो र बैकिङ्ग प्रणालीको तरतालाई त्यसले खास सहयोग पुर्याउने हो । अहिलेको स्थितिमा बैकिङ्ग प्रणालीमा तलरताको स्थिति सहज छ । बैकहरुसंग ६०/० अर्ब जति थप लगानी रकम छदैछ । त्यसो हुनाले अहिले नै मुद्रा बजार र पूँजी बजारमा कठोर स्थिति श्रृजना हुदैन ।’
उनले सम्भाबित मूल्यवृद्धिलाई बढ्न नदिन आपूर्तिपक्षको व्यवस्थापन र कृत्रिम अभाव हुन नदिने तर्फ सरकार सचेत रहेर काम गरिरहेको स्पष्ट पारे । उनले अतिरिक्त मूल्य असुल गर्न खोज्ने र कृत्रिम अभाव श्रृजना गर्नेलाई कानूनको दायरामा ल्याईने बताए ।

उनले रसुवागढी र तातोपानी नाकामा १४ दिन भन्दा बढी होल्डमा बसेका कन्टेनरलाई छुटाउने बारे सम्बन्धित मन्त्रालयबीच छलफल भईरहेको स्पष्ट पारे । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाका निर्देशकले संक्रमण नेपाल लगायत दक्षिण पूर्वी एशियामा अलिकति संक्रमणको प्रभाव पर्न सक्छ भनेकाले र जोखिममा नराख्न अभिभावक र नागरिक समाजले पनि दबाव दिएका कारण एसईइको परीक्षा सारिएको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *