संकटका बेला किन फ्रन्टलाइनमा छैन सेना ?

डिसी नेपाल
१५ चैत २०७६ ८:२२

काठमाडौं । विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोभिड–१९ (कोरोना) भाइरस नेपालका हरस्थानमा भित्रिएको आशंका बढेको छ । कोरोना संक्रमितसँगै आएका नेपाल आएका नागरिकहरु गाउँगाउँमा पुगेका छन् । संक्रमण फैलिएका मुलुक भारतबाट आएका नेपाली नागरिक पनि विभन्न जिल्लामा पुगेका छन् । यस्तो अवस्थामा शहरभन्दा बढी गाउँमा सन्त्रास फैलिएको छ । गाउँ गाउँमा मान्छे त्रस्त त छन् तर त्यहाँका जनप्रतिनिधि भने प्रभावकारीरुपमा सक्रिय हुन सकेका छैनन्। त्यसैले हजारौं व्यक्तिहरु विदेशबाट आएर गाउँ पस्दा यो महामारीले सुनामीको अवस्था नल्याउला भन्न सकिँदैन ।

मुलुकलाई संकट परेको बेला अरुभन्दा संगठित, अनुशासित र स्रोत साधन भएको मानिएको नेपाली सेनालाई किन फ्रन्टलाइनमा ल्याइंदैन ?

गाउँमा उनीहरु सेल्फ क्वारेन्टाइन बसेका छन् कि छैनन भन्ने बारेमा स्थानीय निकायले नत अनुगमन गरेका छन् नत उनीहरुले विवरण संकलन नै गरेर प्रहरीलाई सहयोग गरेका छन् । उनीहरुलाई प्रहरीले खोजेर क्वारेन्टाइनमा बसभन्दा पनि बस्ने अवस्थामा छैनन् । अर्कोतर्फ स्थानीय सरकारले क्वारेन्टाइन पनि कमैमात्र बनाएका छन् । राज्यले पैसा दिए पनि सार्वजानिक खरिद ऐनको अप्ठेरो देखाएर क्वारेन्टाइन निर्माणका लागि सामग्री खरिद नगरी बसेका छन् स्थानीय निकायहरु ।

रेडक्रसबाट पाल र मण्डी तथा तन्ना मागेर केही ठाउँमा कामचलाऊ क्वारेन्टाइनस्थल बनाए पनि ती झन् रोग सार्ने खालमा असुरक्षित छन् । केही स्थानमा प्रहरीले क्वारेन्टाइन बनाउन स्थानीय सरकारको सहयोग मागे पनि वेवास्था गरिएको छ ।

कोरोना संक्रमित व्यक्तिहरुसँगै एउटै विमानमा आएका नागरिकहरुको पहिचान भएको छ । तर उनीहरु कहाँ कहाँ गए को को सँग भेटघाट गरे वा सँगैबसे भन्ने बारेमा केही जानकारी छैन । उनीहरुले भेटेका केही व्यक्तिहरु बाहेक सरकारले कसैलाई पनि ट्राकिङ गर्न सकेको छैन । सरकार यस्तो बेलामा नेपाल प्रहरीको मात्रै भर परेर बसेको छ । प्रहरीले जति जनाको विवरण संकलन गर्यो त्यति जनाको मात्रै ल्याव परीक्षण हुन सकेको छ । अहिले प्रयाप्तमात्रमा कोरोनको परीक्षण हुन सकेको छैन । कही कतै एक जना मात्रै परीक्षणका क्रमम फेल भयो भने त्यसले भयावह संकट निम्त्याउन सक्छ । यसतर्फ सुरक्षा निकाय मात्र होइन र जनप्रतिनीधि सरकारका सबै अंगको उत्तिकै दायित्व हुनपर्ने कुनै निकाय भने आइसोलेशनमा बसेजस्तै भएको छ ।

स्थानीय सरकारका प्रमुखहरुले प्रहरीको आग्रहलाई पुरै वेवास्था गरेर केही त प्रहरीमाथि आक्रमण गर्न समेत पछि परेका छैनन् । विहीबार सुरक्षाकर्मीले डडेल्धुरामा एक नागरिकलाई क्यारेन्टाइनमा राख्न खोज्दा प्रहरीमाथि आइलागेका थिए । स्थानीय निकायले तयार पारेका क्वारेन्टाइनमा पानी, शौचालय लगायतका आधारभूत आवश्यकता समेत रहेका रहेका छैनन् । कञ्चनपुरका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन बसिरहेका व्यक्तिहरुले शौचालय नभएको खानेपानीको अभाव रहेको गुनासो गरेका थिए ।

विदेशबाट आएका नेपाली गाउँ गाउँ छिरिसकेको अवस्थामा फैलिएको त्रास हटाउन नेपाली सेना तत्काल परिचालन गर्ने निर्णय गर्नुपर्ने माग हुन थालेको छ । यस्तो माग गर्नेमा स्थानीय तहका प्रमुखहरु पनि छन् । उनीहरु यस्तो बेलामा नेपाली सेनालाई परिचालन गरेर विदेशबाट आएका मानिसहरुको ट्र्याकिङ गर्नुपर्ने धारणा राख्न थालेका छन् । उनीहरुले विदेशबाट आएका नागरिकको ट्र्याकिङ र स्याम्पेलिङ गर्न समेत माग गर्न थालेका छन् । झापाको कन्काई नगरपालिका मेयर राजेन्द्र पोखरेलले संकटको बेला नेपाली सेना परिचालन गर्न केन्द्र सरकार चुकेको बताए । ‘यस्तो बेलामा नेपाली सेना र त्यसका अंगहरुले राम्रो काम गर्न सक्छन् राज्यलाई संकट परेको बेला सेना परिचालन गर्नुपर्छ, प्रहरी र सशस्त्रको मात्रै भर परेर ट्र्याकिङ असंभव देखियो’, उनले भने । नेपाली सेना समेत खटिने हो भने भाइरस नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी हुने मेयर पोखरेलको भनाई छ ।

तर नेपाली सेना भने भएको एउटा पेट्रोल पम्प समेत बन्द गरेर बसेको छ । आफ्ना व्यारेकहरुमा टेण्ट टाँगरे क्वारेन्टाइन बनाएको छ भने सैनिक मुख्यालयमा पनि सीमित क्वारेन्टाइन बनाएर बसेको छ ।

तर नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डे भने सरकारले दिएको जिम्मेवारी नेपाली सेनाले पूरा गरिरहेको बताउछन् । ‘कोरोना भाइरसको कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट र सब युनिटहरू तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ,’ सहायक रथि पाण्डेले भने ।

उनका अनुसार पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २—२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो । सेनाले १८१ जनालाई तालिम दिइएको छ, जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेको छ ।

सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो । प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २—२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताए । फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु रहेको पनि उनको दावी छ । तर ती आइसोलेशन बेडमा सर्वसाधारणलाई प्रवेश छ कि छैन भन्ने बारेमा सेनाले केही बताएको छैन । यतिबेला सेना कोरोनाको बेला चुपचाप नै बसेको जस्तो देखिएको छ किनकि राज्यले सेना परिचालन गर्ने ठोस आदेश जारी गर्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *