कोरोनाबाट बच्न खाएको ‘औषधि’ले झन् ठूलो क्षति, ३ सय जनाको मृत्यु १ हजार अस्पतालमा

डिसी नेपाल
१५ चैत २०७६ १४:१०

काठमाडौं। विश्वभरी कोरोनाभाइरसको संक्रमण फैलिएसँगै मानिसहरु त्रसित छन् । मानिसहरु यसबाट बच्न अनेक उपाय अपनाइरहेका छन् । यही बीचमा कोरोनाभाइरसका विषयमा विभिन्न हल्लाहरु पनि फैलिइरहेका छन् । केहीले यो हल्ला विश्वास गर्दा निकै गम्भीर परिणाम पनि भोग्नुपरेको छ । पछिल्लो समय इरानमा यस्तै भएको छ । कोरोनाभाइरसबाट बच्न सकिने भनेर फैलाइएको एउटा हल्लाले यहाँ कोरोनाभाइरसले भन्दा ठूलो क्षति पुर्याएको छ ।

यहाँ कोरोनाभाइरस संक्रमणबाट बच्न किने हल्ला फैलिएको आधारमा मानिसहरुले एउटा नशालु पदार्थ पिए । जसका कारण ३ सय भन्दा धेरैले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी बिरामी भएर अस्पताल पुगेका छन् । इरानी मिडियाको हवाला दिँदै डेलिमेलले लेखेअनुसार इरानमा मेथेनोल नामक रासायनिक पदार्थ पिएका कारण ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ र १ हजार भन्दा धेरै बिरामी भएका छन् । अब यहाँ यो पदार्थमा प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय इरानमा मेथोनोल सेवन गर्नाले कोरोनाभाइरसले संक्रमण नगर्ने हल्ला फैलिएको थियो । यही हल्लालाई विश्वास गरेर यहाँ ठूलो संख्यामा मानिसहरुले यो रासायनिक पदार्थ पिए । इरानको समाचार एजेन्सी इरनाका अनुसार देशको दक्षिण पश्चिमी प्रान्त खुजेश्तानमा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । यसका अलावा उत्तरी अलबोर्ज क्षेत्र र केमरनशाहमा पनि मानिसहरुको मृत्यु भएको छ ।

इरानमा मदिरा पिउन प्रतिबन्ध छ तर केही गैर मुस्लिम धार्मिक अल्पसंख्यकलाई भने मदिरा पिउन छुट दिइएको छ । मध्यपूर्वमा इरान सबैभन्दा धेरै कोरोनाभाइरस प्रभावित देश हो । यहाँ अहिलेसम्म ३२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । २ हजार ३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *