नर्सको डायरी : कर्तव्यले झस्कायो, ‘तैले गरिनस् भने कसले गर्छ त ?’

डिसी नेपाल
१८ चैत २०७६ १८:३६

आज संसार भरि मृत्यु डुलेको छ । सानादेखि ठूलासम्म धनिदेखि गरिवसम्म र विद्धानदेखि र्मुखसम्म सबै मृत्युको त्रासमा छन् । संसारका करिव ७०—८० प्रतिशत जनसंख्या घरवाट बाहिर निस्किएका छैनन् ।

हरेक देशले आफ्ना जनतालाई घरमै बस्न आदेश दिएको छ । ज्यान बचाउनको लागि सरकार र सामाजिक संघसंस्था एवं विशिष्ट व्यक्तिहरुले हात जोडेर बिन्ति गरेका छन् । जनतालाई घरमै बसेर संक्रमणबाट जोगिएर आफ्नो ज्यान बचाउन शक्तिशालि भनिएका सरकारले पनि अपिल गरिरहेका छन् ।

तर, म एक नर्स, यो डायरी पनि लन्च ब्रेकमा लेखिरहेकी छु । एकातिर स्थानीय सरकार र संघसस्ंथाहरुले आम नागरिकलाई घर नछोड्न अनुय–विनय गरिरहेका छन् । त्यसको विपरित म र म जस्ता स्वास्थकर्मीहरुलाई काम नछोड्न हात जोडिरहेका छन् । समाज अनि मानवताको यो विनम्र अनुरोधबाट एक रत्ति पनि पछाडि सर्न मन छैन मलाई ।

हो म एक नर्स, यो मानव जीवन र रोगको विश्वव्यापी युद्धको रणभूमिमा धैर्यता र अठोटको हतियार बोकेर दिनदिनै ओठमा कृतिम हाँसोको लिपिष्टिक लगाउँदै केहि पनि भएको छैन झै गरि काममा उपस्थित भएकी छु । यो भयावह स्थितिलाई सहज बनाउने काममा हरेक पल एक इट्टा थप्नका लागि जति सक्यो आफुलाई सहज, सुलभ बनाइरहेकी छु ।

हरेक मानिसले झै म पनि त आफुलाई एकदम माया गर्छु । मान्छे हुँ, म मा पनि मानवीय गुण छ । आफुलाई सबैभन्दा पहिला माया गर्ने मानवीय गुण नै हो । म भनेकै यो जन्मको लागि मेरो शरिर नै त हो । भौतिक शरिर र आत्मा मिलेर नै यो शरिर चलेको छ । म पनि अन्य आमनागरिक जस्तै पारिवारिक मान्छे हुँ ।

मलाई पनि माया गर्ने मान्छे छन् र मैले पनि मेरो परिवारलाई र आफन्तलाई अरुले जस्तै माया गरेकी छु, मेरा पनि प्रियजन छन् । तर, यो नरसंहारी महामारीमा म आफुलाई माया गरेर घर भित्र थुनिन सक्दिन । मेरो मानवताले दिदैन, मेरो पेशा प्रतिको प्रतिवद्दताले दिदैन । दिनहुँ विरामीको हेरचाह गर्छु, सदा झै हासेर नै व्यवहार गर्छु । हुन त मेरो मन पनि त भित्र भित्रै डराएको छ । कतै…यसै गरि…।

अहिलेको सिडिसी(ऋम्ऋ) गाइडलाइन अनुशरण गर्दै प्रत्येक दिन मेरो काम शुरु हुनु पूर्व शरिरको तापक्रम नापिन्छ । म मा रोग सरेको छ की छैन भनि । स्वस्थ छ भने मात्र म काम शुरु गर्न थाल्छु । हाम्रो संस्थाले यो रुटिङ विरामीलाई रोग नसरोस र यदि ममा संक्रमण (‘ईन्फेक्सन’) छ भने बेलैमा थाहा पाइयोस भनेर शुरु गरेको हो ।

त्यसै गरी म पनि सधै विहान पहिलो काम मेरा विरामीहरुको शरिरको तापक्रम नाप्ने गर्दछु, उनिहरुमा ‘ईन्फेक्सन’ छ की छैन भनि । आज मेरी एउटी विरामीको तापक्रम अनायासै १०१.१ डिग्री फरेनहाईट भएछ । म छाँगाबाट खसे जस्तो भँए ।

उनलाई ज्वरो आउनु पर्ने ‘अण्डरलाइन केस’ केही पनि छैन । उनको ज्वरोको पारो थर्म्मिटरमा चढे सरि मेरो डरको पारो पनि चढ्छ । बल्ल तल्ल म्यानेजरसँग जोड गरी मागेको मास्क चाँहि लगाएको थिएँ । हात आफै मास्क छाम्न पुगेछ, निर्योल गर्न । किन कि म आफुले पनि आफ्नो शरिरलाई माया गर्नु र्पछ ।

उनिलाई (४०८) सोध्छु, घाँटी दुखेको छ? खोकी त उनको पूरानै व्यथा हो । उनि उत्तरमा भन्छिन् ‘Yes’ अव त म झन काप्नथाल्छु, अनि फेरी विस्तारै आफुलाई समाल्छु । उनले कतै मेरो काँपेको शरिर र बदलिएको भाव देख्छिन् की भनेर सजह हुन्छु ।

हतार–हतार बाहिर निस्किएर ‘आइसोलेसन साइन’ राख्छु ढोकामा, किनकी मेरो जिम्मेवारी अरु स्टाफहरुलाई पनि जोगाउनु हो । डाक्टरले कोभिड–१९ टेस्ट गर्न भन्छन् । सुपरभाइजरलाई भन्छु । हामीसँग कोभिड–१९ ‘टेस्टकिट्’ छैन भन्ने उत्तर पाँउछु । उनलाई तुरुन्त सुविधायुक्त अस्पतालमा पठाउने चाँजो पाँजो मिलाउछु ।

यहि अवधिमा उनलाई हेर्न जान आवश्यक पर्ने मास्क, गाउन, पंजा बटुलेर ‘आइसोलेसन कार्ड’मा राख्न असमर्थ हुन्छु । किनकी हामीसँग यी साधनहरु छैनन् । वजारमा पाइदैन रे । म सामान्य सर्जिकल मास्क लगाएर उनलाई अस्पताल पठाउन तयारी गर्छु । मलाई राम्रोसँग थाहा छ यो यदि कोभिड–१९ हो भने मैले आफुलाई जानी–जानी इन्फेक्सनको हातमा सुपिएकी छु ।

मलाई मेरो जीवन, परिवारको माया नभएको भने होइन, मेरो कर्तव्यले मलाई झस्काउछ ‘तैले यो गरिनस् भने कस्ले र्गछ त ?’ म २३ वर्ष देखि र्नस हुँ भनेर यहि पेशामा छु । यसैले जीवन धानेकी छु । मलाई जीवन र मरण चिनाएको छ ।

गाँस, वास र कपास दिएको छ, खुट्टा दरो बनाइदिएको छ । मेरो यहि सेवाले धेरैको जिवन बचाएको छ । कैयौ परिवारको खुसि फर्काएको छु । अहिले म कसरी पछाडी हटुँ ? कर्तव्य सम्झिदै गए । जीवन त एक दिन सकिन्छ नै । सेवा गर्दा र आफ्नो पेशा र मानवता प्रतिको प्रतिवद्दता पूरा गर्दा ज्यान गएछ भने पनि कुनै गुनासो हुने छैन । आत्मा त कहाँ मर्छ र ?… ।

गाडि स्टार्ट गर्छु घर जान । हातमा अफिसले दिएको चिठ्ठी छ । चिठिमा लेखिएको थियो, ‘ This essential worker is authorized to travel from residence to following address…’ । यो शहरमा कफ्यू लागेको छ तर मलाई रोक्दैन यसले किनकि म जीवन वचाउन हिडेको स्वास्थकर्मी हुँ, म यो युद्धमा होमिएको व्यक्ति हुँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *