लकडाउन झन कडा : पासविनाका सवारी साधन आवतजावतमा रोक

डिसी नेपाल
१५ वैशाख २०७७ १३:३५

काठमाडौं। ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

यसैबीच विराटनगरबाट १६० यात्रु लिएर राजधानी आएका केही बस नागढुंगाबाट फिर्ता गरिएको छ। थानकोट प्रहरीका अनुसार गृहमन्त्रालयले कुनै पनि सावारी साधान भित्रिन नदिन निर्देशन दिएपछि बिराटनगरबाट १६० यात्रु लिएर आएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *