बिदामा नेपाल आएकालाई एनआरएनएले नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया पठाउने

डिसी नेपाल
१६ वैशाख २०७७ १९:३९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन संघले जहाज चार्टर गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुयाउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको हो ।

वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संघले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहितमंगलबार प्रारम्भिक सम्झौता गरेको छ । विमान चार्टर गर्न २ करोड रुपैयाँको संघ ग्यारेन्टी बस्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय उडानसम्वन्धी सम्पूर्ण प्रकृया र श्रमिकहरुको स्वास्थ्य चेकअपको काम पूरा भए अर्को साताभित्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले जनाए ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।

अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउ नेपाल सरकारसँग आग्रह गरिएको बताए । उनीहरुलाई नेपाल ल्याउन नेपाल सरकारसँग छलफल भइरहेको उनले बताए ।

यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली संघ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच हिजो ९सोमबार० व्यापक छलफल भएको थियो ।

बैठकमा संघका तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले विदेशमा अलपत्र परेका ४ लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गरेका थिए ।

संघको १५ देशका राष्ट्रिय अध्यक्ष सम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आ–आफ्ना धारण राखेको संघले जनाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञावालीले नेपाल सरकार विदेशमा रहेका नेपाली फर्काउन सकरात्मक रहेको बताएका थिए । मन्त्री ज्ञावालीले भने, ‘अहिले अन्तर्राष्ट्रिय स्तरमै लकडाउन छ, त्यो खुले भएपछि सरकारले प्राथमिकताको आधारमा नेपालीलाई फिर्ता ल्याउने छ ।’

‘कागजी प्रकृया पूरा नगरेका, अस्थायी भिषा भएका, गर्भवती महिला र कुवेतलगायतका देशमा आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याइने छ’ मन्त्री ज्ञावलीले भने, ‘अहिले धैर्य गर्नुहोस् सरकार विदेशमा बस्ने नेपालीको समस्यामा चिन्तित छ । लकडाउन खुल्नेवित्तिकै गैरआवासीय नेपाली संघसँग समन्वय गरेर विदेशमा रहेका नेपाली फिर्तालाई प्राथामिकता राखेर सरकारले योजना बनाउने छ ।’




प्रतिक्रिया

One thought on “बिदामा नेपाल आएकालाई एनआरएनएले नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया पठाउने

  1. चार लाख मध्ये बर्गिकरण गरि अति आवश्यकलाई तुरुन्त उद्दार गर्नुहोस। जस्तै साउदी अरबमा रहेकाहरुको हकमा – कम्पनीसँगको करार सकि नेपाल फर्कन लागेका (लकडाउन पुर्व नै स्वेदश फर्कने बहिर्गमन भिषा लागेकाहरु मात्र) र विरामी भइ काम गर्न नसकि कम्पनीले फर्काउन लागेका तर लकडाउनले रोकिएका श्रमिकहरुलाई तत्काल उद्दार गर्नु, उनीहरु अहिले आफै टिकट काटेर आउन सक्ने अवस्थामा छन् । तर ढिलाई भएमा खानपिन, स्वेदश फर्कने बहिर्गमन भिषा नविकरण देखि टिकटसम्मको खर्च सरकारले नै ब्यहोर्नु पर्नेछ । कृपया बास्तविकतालाई बुझि अभिभावकका रुपमा सोच्नुहोस र यथासिघ्र निर्णय गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *