बिदामा नेपाल आएकालाई एनआरएनएले नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया पठाउने

डिसी नेपाल
१६ वैशाख २०७७ १९:३९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन संघले जहाज चार्टर गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुयाउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको हो ।

वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संघले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहितमंगलबार प्रारम्भिक सम्झौता गरेको छ । विमान चार्टर गर्न २ करोड रुपैयाँको संघ ग्यारेन्टी बस्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय उडानसम्वन्धी सम्पूर्ण प्रकृया र श्रमिकहरुको स्वास्थ्य चेकअपको काम पूरा भए अर्को साताभित्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले जनाए ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।

अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउ नेपाल सरकारसँग आग्रह गरिएको बताए । उनीहरुलाई नेपाल ल्याउन नेपाल सरकारसँग छलफल भइरहेको उनले बताए ।

यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली संघ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच हिजो ९सोमबार० व्यापक छलफल भएको थियो ।

बैठकमा संघका तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले विदेशमा अलपत्र परेका ४ लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गरेका थिए ।

संघको १५ देशका राष्ट्रिय अध्यक्ष सम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आ–आफ्ना धारण राखेको संघले जनाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञावालीले नेपाल सरकार विदेशमा रहेका नेपाली फर्काउन सकरात्मक रहेको बताएका थिए । मन्त्री ज्ञावालीले भने, ‘अहिले अन्तर्राष्ट्रिय स्तरमै लकडाउन छ, त्यो खुले भएपछि सरकारले प्राथमिकताको आधारमा नेपालीलाई फिर्ता ल्याउने छ ।’

‘कागजी प्रकृया पूरा नगरेका, अस्थायी भिषा भएका, गर्भवती महिला र कुवेतलगायतका देशमा आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याइने छ’ मन्त्री ज्ञावलीले भने, ‘अहिले धैर्य गर्नुहोस् सरकार विदेशमा बस्ने नेपालीको समस्यामा चिन्तित छ । लकडाउन खुल्नेवित्तिकै गैरआवासीय नेपाली संघसँग समन्वय गरेर विदेशमा रहेका नेपाली फिर्तालाई प्राथामिकता राखेर सरकारले योजना बनाउने छ ।’


No ads found for this position

प्रतिक्रिया

One thought on “बिदामा नेपाल आएकालाई एनआरएनएले नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया पठाउने

  1. चार लाख मध्ये बर्गिकरण गरि अति आवश्यकलाई तुरुन्त उद्दार गर्नुहोस। जस्तै साउदी अरबमा रहेकाहरुको हकमा – कम्पनीसँगको करार सकि नेपाल फर्कन लागेका (लकडाउन पुर्व नै स्वेदश फर्कने बहिर्गमन भिषा लागेकाहरु मात्र) र विरामी भइ काम गर्न नसकि कम्पनीले फर्काउन लागेका तर लकडाउनले रोकिएका श्रमिकहरुलाई तत्काल उद्दार गर्नु, उनीहरु अहिले आफै टिकट काटेर आउन सक्ने अवस्थामा छन् । तर ढिलाई भएमा खानपिन, स्वेदश फर्कने बहिर्गमन भिषा नविकरण देखि टिकटसम्मको खर्च सरकारले नै ब्यहोर्नु पर्नेछ । कृपया बास्तविकतालाई बुझि अभिभावकका रुपमा सोच्नुहोस र यथासिघ्र निर्णय गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *