एनआरएनए जर्मनीले ५ लाख रुपैंया बराबरको राहत कुपन बाँड्दै

डिसी नेपाल
२१ वैशाख २०७७ २०:३५

जर्मनी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीले कोरोना महामारीको कारण जर्मनीमा बसोबास गर्ने नेपालीलाई पहिलो चरणको राहत वितरण प्रक्रिया शुरु गरेको छ ।

गतहप्ता इन्टरनेटमार्फत फाराम सार्वजनिक गरेको एनआरएनए जर्मनीले शनिबार २ मे सम्म एक सय ३० जनाको नामावली प्राप्त गरेको जनाएको छ । सो प्राप्त नामावलीको आधारमा खाद्यान्न किन्नको लागि प्रतिव्यक्ति ३० युरो अर्थात ३५ सय भन्दा बढी नेपाली रुपैंया बराबरको कुपन प्रदान गर्ने बताइएको छ ।

‘राहतको लागि फाराम भरेका मध्ये अधिकांश विद्यार्थीहरु छन् । हामी पूर्ण गोपनीयता कायम राख्छौ । नाम सार्वजनिक गर्ने छैनौं । पहिलो चरणमा हामी खाद्यान्न पसलहरु लिडिल, आल्डी, रेवे आदीमा साट्न मिल्ने चेक जस्तै कुपन दिनेछौं, महासचिव लोकमणी ढकाल भने, ‘जुन कुपनमा ३० युरो हुनेछ । जर्मनीमा यति रकमले ५ किलो चामल, ५ किलो आलु, ५ लिटर तेल, १ किलो नुन, ५ किलो चीनी र केही मरमसला किन्न सकिनेछ, विश्वास छ यति भएपनि पहिलो चरणमा समस्यामा परेका विद्यार्थी लगायत अन्यलाई केहि हदसम्म सहयोग हुनेछ ।’

एनआरएनए जर्मनीले आवश्यक परेकाले राहत माग गर्न सक्ने गरी सार्वजनिक गरेको फाराम अत्यन्तै सजिलो र भरपर्दो भएकोमा राहत प्राप्तकर्ता खुशी देखिएका छन् । सो कुपन एनआरएनको क्षेत्रीय कमिटि मार्फत वितरण गरिनेछ । हुलाक, इन्टरनेट अनलाइन या प्रत्यक्ष भेटेर जुन तरिका उत्तम हुन्छ सोही अनुसार कुपन बाँडिने ढकालले बताए ।

‘करिब डेढ महिनादेखि काममा गएको छैन । पहिला जोगाएर राखेको पैसा पनि सकियो, साथीभाइहरु र क्रेडिट कार्डबाट सापट लिएर दैनिकी चल्दै थियो । यहि बेला एनआरएनएले राहत वितरण गर्दैछ भन्ने फाराम फेसबुकमा देखेर मोबाइलबाट भरेर पठाइयो यति सजिलो तरिकाले अब कुपन पाइयो भने केहि भएपनि सहज हुन्छ,’ बर्लिनमा रहेका एक विद्यार्थी भन्छन्, ‘हामी २ जना मिलेर बस्ने गरेका छौं । दुबै जनाले फाराम भरेर पठाएकाले ६० युरो हुने प्राप्त हुने भयो । यति रकमले अब करिब १ महिनाको खाद्यान्नको लागि ढुक्क हुने भयो ।

एनआरएनए जर्मनीले आव्हान गरेको कोरोना आपतकालिन राहत कोषमा हालसम्म ७ हजार २ सय ५ युरो जम्मा भएको छ । त्यस रकमबाट १ हजार ५ सय ४० युरो अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपालमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । बाँकी ५ हजार ६ सय ६५ युरोमा ५ सय एनआरएनए युरोप क्षेत्र स्तरीय राहतकोषमा दिने निर्णय गरेको अध्यक्ष हरि न्यौपानेले जानकारी दिएका छन् । करिब ४ हजार युरो पहिलो चरणको राहतका लागि खर्च हुने र बाँकी रकम पनि अप्ठेरोमा परेका नेपाली समुदाय माझ नै खर्च हुने न्यौपानेको भनाइ छ ।

कारोनाका कारण डेढ महिनादेखि जारी प्रतिबन्ध जर्मनीले भोलिबाट हटाउँदैछ । यद्यपी ६ मे सम्म कुर्ने, त्यसपछि कस्तो अवस्था आउँछ त्यही अनुसार थप र आवश्यक निर्णय गर्ने अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *