विदेशमा बिचल्लीमा परेका ३५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याइने

डिसी नेपाल
२२ वैशाख २०७७ ७:२२

काठमाडौं। नेपाल सरकारले विदेशमा अलपत्र परेकामध्ये ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव, महानिर्देशकहरु तथा सहसचिवहरु सम्मिलित बैठकमा यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन्।

विदेशमा भएका नेपाली तथा बैदेशिक रोजगारमा रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने भन्ने विषयमा यसअघि गठन भएको अध्ययन समितिका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले सो कार्ययोजनासहितको प्रतिवेदन पेश गरेका थिए। बैठकमा श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयका सचिव र मातहतका महानिर्देशकको सहभागिता थियो।

पहिलाे चरण

विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युबालाई फर्काइने
दोस्रो चरण
रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने कामदारलाई फर्काइने
तेस्रो चरण
विदामा स्वदेश आउन चाहने कामदारहरुलाई फर्काइने

परराष्ट्रका सहसचिव तापस अधिकारी लगायत तीनजनाको कार्यदलले तयार पारेको कार्य योजनालाई लिएर उक्त बैठक डाकिएको थियो। कार्यदलले विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युवालाई पहिलो चरणमा, रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने दोश्रो चरणमा र बिदामा आउन चाहनेलाई तेस्रो चरणमा राखेको छ।

ओभर स्टे भई विदेशमा अलपत्र परेका युबालाई सम्बन्धित देशले नेपाल फर्काइ दिने र भोलि रोजगारीका लागि ती देश जान चाहनेलाई कानुनी अड्चन नराख्ने भनेकोले तिनलाई पहिलो चरणमा राखेर नेपाल ल्याउनु पर्ने बाध्यता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

अहिले खाडी राष्ट्रमा रोजगारीमा रहेका युवालाई जो जहाँ छन सुरक्षित रहन र बस्न दिन प्रधानमन्त्री र मन्त्रीस्तरमा सम्बन्धित देशका काउन्टर पार्टसग फोनवार्ता पनि भइरहेकै छ। मन्त्री ज्ञवाली भन्छन्, ‘करिव ३ लाख युवालाई अन्तराष्ट्रिय एयरपोट खुलेपछि स्वदेश ल्याउने र त्यतिन्जेलमा देशभित्र नै रोजगारी सिर्जना गर्ने तवरले अध्ययन, छलफल चलिरहेको छ।’




प्रतिक्रिया

One thought on “विदेशमा बिचल्लीमा परेका ३५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याइने

  1. नेपालमा बिभिन्न पेशा, बर्ग र ब्यबसायमा आबद्ध हामी बिभिन्न ब्यक्तिहरु बिगत बिभिन्न मितिमा अत्यन्त जरुरी घरायसी एवं ब्यक्तिगत कामको लागी पारिवारिक र आफन्तजनको निमन्त्रणामा छोटो समयको निजी भ्रमण तथा अन्य बिभिन्न कामको सिलसिलामा बिभिन्न प्रकृतिका भिसामा संयुक्त राज्य अमेरिका आई 2076-12-7 र सो पछिको बिभिन्न मितिमा बिभिन्न हबाई मार्ग हुदै नेपाल फर्किने समयतालिका थियो ।

    माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित covid-19, संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको 2076-12-4 तथा 2076-12-5 को निर्णयबाट युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरु एबं टर्की, मलेसिया, दक्षिण कोरिया र जापान तथा ती देशबाट ट्रान्जिट गरेर समेत आऊने सबै नेपाली लगायतका यात्रुहरुलाई 2076-12-7 देखि 2077-1-3(20 March 2020-15 April 2020)सम्म नेपाल आगमन प्रतिबन्ध लगाईएकोले सो हबाई मार्गहरु हुदै सो अबधिमा नेपाल फर्किन असहज/असमर्थ भएको परिस्थितिमा यथासक्य छिटो अन्य हबाई मार्ग समेत प्रयोग गरेर नेपाल फर्किने प्रयास गरिरहेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको 2076-12-7 मा राष्ट्रका नाममा दिनुभएको सम्बोधन मार्फत अन्य सम्पूर्ण अन्तराष्ट्रिय हबाई उडान समेत 2076-12-9 देखि नेपाल आगमन प्रतिबन्ध लगाईएको ।

    सो अबधि पटक पटक थप हुदै 2077-1-3 सम्म कायमै रहेकोमा यस बिश्वब्यापी महामारीको संकटपूर्ण अबस्था र तत्कालको बिषम परिस्थितिमा बिदेशमा रहे बसेका नेपालीहरु रहे बसेकै स्थानमा सुरक्षित रहन बस्न नेपाल सरकारबाट निर्देशन भयको सन्दर्भमा हामीहरु हाल रहे बसेकै स्थानमा सुरक्षित र सजगता एबं धैर्यता पूर्बक नेपाल फर्किन पाउने दिनको प्रतिक्षा गरि बसिरहेका थियौं ।

    2077-1-3 पश्चात तत्काल नेपाल आगमन हुने तीब्र प्रतिक्षाका साथ समयतालिका मिलाउने प्रयास गरिरहेकोमा सम्माननीय प्रधानमन्त्री ज्यूले covid-19 रोकथाम तथा नियन्त्रण सम्बन्धमा मिति 2076-12-25 मा राष्ट्रका नाममा दिनुभएको दोस्रो सम्बोधन र सोही मितिमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ज्यूको संयोजकत्वमा बसेको covid-19, संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट नेपालमा जारी सम्पूर्ण अन्तराष्ट्रिय हबाई उडान प्रतिबन्ध 2077-1-18(30 April ,2020)सम्म कायम गर्ने घोषणा/निर्णय भएको र नेपाल सरकारको पछिल्लो निर्णयबाट नेपालमा जारी अन्तराष्ट्रिय हबाई उडान प्रतिबन्ध 2077-2-2 गतेसम्म कायम रहेको र 2077-2-2 पछि सम्म पनि सो प्रतिबन्ध कायमै रहने आशंका बिभिन्न संचार माध्यममा ब्यक्त भैरहदा 2077-2-3 गते पछि हाम्रो नेपाल फर्किने समयतालिकामा समेत कतै बाधा पुग्ने त होईन भन्ने अनिश्चय, अन्योल र आशङ्काको कालो बादल मडारिन पुगेको महसुस हुन थालेको छ ।

    यस्तो अन्योल र अनिश्चयको अबस्थाबिच हामी यहाँ अमेरिका स्थित बिभिन्न राज्यमा छरिएर सुरक्षित र सजगता पूर्बक रहे बसेको भयपनि हामीहरुको अत्यावश्यक घरायसी काम, पारिवारिक रेखदेखको जिम्मेवारी, ब्यबसायिक एबं पेशागत काममा फर्कि तत्काल संलग्न हुनुपर्ने अबस्था र बिभिन्न बाध्यात्मक परिस्थितिका कारण तत्काल नेपाल फर्किन ईच्छुक नेपालीहरु यस्तै अन्योलपूर्ण परिस्थितिमा अझै कति दिन यसरी थुनिएर बस्नु पर्ने हो भन्ने जस्तो अन्योलपूर्ण र आशङ्कायुक्त परिस्थितिमा हामीहरुको तत्काल नेपाल फर्किनु पर्ने आबश्यकता र तीब्र आकाङ्क्षालाई सहज तुल्याई साकार पार्नको लागि हामीहरुले नेपाल सरकारलाई कुनै थप आर्थिक व्ययभार नपर्ने गरी हामीहरु स्वयंले परस्परमा मिलेर हवाई उडान चार्टर गर्नको लागि हबाई उडान खर्च आफै ब्यक्तिगत तवरमा ब्यहोर्न मञ्जुर भई नेपाल फर्किन ईच्छुक भयको र स्वास्थ्य परीक्षण र क्वारेन्टाइन लगायत नेपाल सरकारबाट निर्धारित शर्तहरु पालना गर्न पूर्ण मञ्जुर भयकोले यस बिषम एबं संकटपूर्ण परिस्थितिमा नेपालीहरुको नेपाल फर्किने तीब्र आबश्यकतालाई स्वभाविक, जायज र सान्दर्भिक ठानी हामी आफैंले स्व-ब्यबस्थापनमा गर्ने हबाई जहाजको चार्टर उडानबाट नेपाल आवागमनको लागि अनुमति प्रदान गरि दिन आबश्यक समन्वयात्मक ब्यबस्था र निर्देशनको लागि आबश्यक निर्णय गरि दिन आबश्यक ब्यबस्था मिलाई दिनु हुन सादर अनुरोध गर्दछौं ।

    निवेदकहरु:
    हाल जारी अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्धको कारण बाध्यात्मक परिस्थितिमा अमेरिकामा रहेका तत्काल नेपाल फर्किन ईच्छुक नेपालीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *