व्यवसायीको प्रतिवद्धता : विदेशबाट फर्किनेलाई काम दिन सक्छौं

डिसी नेपाल
२५ वैशाख २०७७ १९:५२

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई स्वदेशमानै रोजगारी दिन सकिने विभिन्न क्षेत्रका व्यवसायीले दावी गरेका छन् । विहिबार संघिय संसदको अर्थ समितिमा बोल्दै व्यवसायीहरुले हाल निर्माण व्यवसायका साथै घरेलु तथा साना उद्योगमा ठूलो मात्रामा भारतिय कामदार रहेको भन्दै त्यसमा नेपाली जनशक्ति परिचालन गर्न सकिने बताए । उनीहरुले नेपाल फर्कने कामदारलाई आवश्यक तालिमलगायतमा ध्यान दिन उनीहरुले सरकारलाई सुझाव दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणको क्षेत्रमा ५ लाख भन्दा बढी दक्ष तथा अदक्ष कामदार भारतीय रहेको जानकारी दिए । उनले अब नेपालीलाई नै रोजगारी दिनुपर्ने र यसको लागि प्रधानमन्त्री स्वरोजगार कोषमा भएको पैसा निर्माण व्यवसायीलाई दिएर उनीहरु मार्फत कामदारलाई तालिम दिन सकिने उपाय सुझाए । ५ करोड रुपैयाँसम्मको काम स्थानीयस्तरबाट गर्न सकेको खण्डमा रोजगारी सृजना गर्न सहज हुने उनको भनाइ छ ।

छलफलमै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रकाश सिंहले घरेलु तथा साना उद्योगमा रहेका २६ लाख कामदारमध्ये ५० प्रतिशत भारतीय मजदुर भएको बताए । सरकारले आवश्यक तालिमको व्यवस्था गर्न सकेको खण्डमा नेपाली नै नेपालमा सहजै रोजगारी पाउने अवस्था सिर्जना हुने बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाका कारण नेपालमा अर्थतन्त्रमा पार्ने असर न्यूनिकरणको लागि कृषिमा ध्यान दिन आग्रह गरे । नेपालले आफ्नो जनशक्ति परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने उनले दावी गरे( ‘अब नेपालमा विद्युतको समस्या छैन । मलेसिया बसेर जे उत्पादन गरेको हो त्यो सामान नेपालमा नै उत्पादन गरेर मलेसियामा निर्यात गर्न सक्ने हो भने नेपालको लागि पनि लाभदायक हुनेछ’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *