स्मृतिमा गोविन्दप्रसाद: संघर्ष, निष्ठा र आदर्शको ८३ वर्ष

मदन कोइराला
५ असोज २०८३ ११:१२

मानव सभ्यता र इतिहासको सूक्ष्म अवलोकन गर्दा हरेक वंश र थरको आफ्नै भौगोलिक तथा सांस्कृतिक उद्गम बिन्दु भेटिन्छ। खस-आर्य परम्परामा कोइराला वंशको ऐतिहासिक जड कर्णाली प्रदेशको सिञ्जा उपत्यकास्थित जुम्लाको ‘कोइराली’ गाउँसँग जोडिएको पाइन्छ।

भौगोलिक स्थानका आधारमा नामकरण हुने तत्कालीन चलन अनुसार ‘कोइराली’ गाउँमा बसोबास गर्ने मोद्गल्य गोत्रीय खस-ब्राह्मणहरू पछि ‘कोइराला’ का रूपमा चिनिन थाले।

कर्णाली र खस राज्यको विघटनपछि पूर्वी दिशामा बसाइँसराइ गर्ने क्रममा कोइरालाहरूको प्रमुख ऐतिहासिक थलो सिन्धुलीको कुशेश्वर दुम्जा बन्न पुग्यो। दुम्जाबाट विस्तार भएको यो वंश पूर्वका विभिन्न पहाडी भूगोलहरू हुँदै देशका कुना-काप्चासम्म फैलिएको इतिहास छ।

यसै ऐतिहासिक बसाइँसराइ र वंश विस्तारकै क्रममा काभ्रेको मंगलटारबाट डाक्टर सुविदार गंगाप्रसाद कोइरालाको जीवन-यात्रा अघि बढेको थियो। उहाँ नेपाली सेनामा सुविदार पदमा कार्यरत हुनुहुन्थ्यो।

सेनाको कडा अनुशासनसँगै उहाँमा आयुर्वेद र जडीबुटीको गहिरो ज्ञान थियो। स्वास्थ्य उपचारको पहुँच सहज नभएको तत्कालीन समयमा उहाँले सैनिक सेवाका साथसाथै ओखलढुंगाा र आसपासका दुर्गम बस्तीहरूमा बिरामीको सेवा र उपचार गर्नुभयो। सेनाको दर्जा र वैद्यको उच्च मानवीय कार्यकै कारण उहाँ स्थानीय समुदायमा ‘डाक्टर सुविदार’ का रूपमा आदरपूर्वक चिनिनुभयो।

जागिरको सिलसिलामा ओखलढुंगा पुग्नुभएका डाक्टर सुविदार पछि उतैको प्राकृतिक सौन्दर्य र माटोसँग भिज्नुभयो। उहाँले ओखलढुंगाको जरायोटार र मानेगाउँमा आफ्नो घरगृहस्थी बसाउनुभयो।

डाक्टर सुविदारका तीन भाइ छोराहरू भीमप्रसाद कोइराला, रामप्रसाद कोइराला र कृष्णप्रसाद कोइराला हुनुहुन्थ्यो। ती तीनै जना अग्रजहरू अहिले हामीमाझ हुनुहुन्न।

तिनै तीन भाइमध्ये भीमप्रसाद कोइरालाका तीन छोराहरू जन्मिए- गोविन्दप्रसाद कोइराला, रेवतीरमण कोइराला र कुलप्रसाद कोइराला।

भीमप्रसादका तिनै जेठा छोरा, आदर्श र निष्ठाका प्रतीक ८३ वर्षीय गोविन्दप्रसाद कोइरालाको भदौ १ गते भएको भौतिक अवसानले एउटा निष्ठावान्, संघर्षशील र उदात्त जीवनको अध्यायको अन्त्य गरिदिएको छ।

बाल्यकालको वज्रपात र संघर्षको सुरुवात

हिन्दू दर्शनमा भनिएको छ- “जातस्य हि ध्रुवो मृत्युध्र्रुवं जन्म मृतस्य च।’’ अर्थात्, जन्मिएपछि मृत्यु निश्चित छ र यो जगतमा कसैले पनि मृत्युलाई जित्न सकेको छैन। मानव चोला क्षणभंगुर छ। तर जीवनको लम्बाईभन्दा पनि त्यसको गहिराइ र कर्मले मानिसलाई अमर बनाउँछ।

गोविन्दप्रसाद कोइरालाको जीवनको पाना पल्टाउँदा उहाँको सुरुवाती यात्रा सहज र सुगम थिएन। सानै उमेरमा उहाँले आफ्ना पूज्य पिता भीमप्रसादलाई गुमाउनुपर्‍यो । पितृशोकको त्यो वज्रपातका बेला भाइबहिनीहरू ज्यादै साना थिए।

परिवारमा आर्थिक र सामाजिक सहाराको खडेरी परेको बेला उहाँले आफ्नो व्यक्तिगत बाल्यकाल वा रहरहरूलाई तिलाञ्जली दिँदै कलिलै उमेरमा सम्पूर्ण पारिवारिक दायित्व आफ्नो काँधमा लिनुभयो।

एकातिर अभिभावकको अभाव र भाइबहिनीको हेरचाहको चाप थियो भने अर्कातिर उहाँको आफ्नै स्वास्थ्यले कठोर परीक्षा लिइरहेको थियो। सानै उमेरदेखि उहाँलाई पथरीको कडा रोगले सताएको थियो। २० वर्षको उमेरसम्म उहाँले त्यस रोगका कारण असाध्यै शारीरिक पीडा र कष्ट भोग्नुपर्‍यो।

तर, उहाँले कहिल्यै दुःखको अगाडि घुँडा टेक्नुभएन। शारीरिक रोग र पारिवारिक दायित्वको दोहोरो चुनौतीहरूलाई चिर्दै उहाँ अगाडि बढिरहनुभयो। प्रवासको मिहिनेत र जन्मभूमिको मोहसंघर्षको तीव्र चाप र पारिवारिक व्यवहार सल्टाउने बलियो आधारको खोजीमा उहाँ भारतीय महानगर कोलकाता (कलकत्ता) पुग्नुभयो।

नौलो सहर, कठोर प्रतिस्पर्धा र श्रमको दुनियाँमा उहाँले आफ्नो इमानदारी, लगनशीलता र कठोर परिश्रमका बलमा राम्रो काम प्राप्त गर्नुभयो। कोलकाताको बसाइमा उहाँले राम्रो आर्थिक उपार्जन पनि गर्नुभयो।

प्रवासमा कमाएको धनलाई धेरैले व्यक्तिगत विलासितामा खर्च गर्छन्, तर गोविन्दप्रसादको सोच बेग्लै थियो। उहाँमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को भावना अगाध थियो।

उहाँले प्रवासमा पसिना बगाएर कमाएको सम्पत्तिको अलिकति अंश पनि व्यर्थमा खर्च गर्नुभएन। सम्पूर्ण उपार्जन जन्मभूमिमा पठाएर आफ्नी विधवा आमा, साना भाइबहिनीको लालनपालन, शिक्षादीक्षा र पारिवारिक दायित्व वहन गर्नमा सदुपयोग गर्नुभयो  आफ्ना लागि भन्दा पनि अरूका लागि बाँच्ने उहाँको परोपकारी स्वभावको सुरुआत त्यहीँबाट दृश्यमान भएको थियो।

लोभहीन व्यक्तित्व र धर्मशास्त्रको व्यावहारिक ज्ञान

गोविन्दप्रसाद कोइरालाको जीवनको सबैभन्दा लोभलाग्दो र अनुकरणीय पाटो भनेको उहाँको निष्कलंक र उदार चरित्र हो। उहाँले जीवनभर कहिल्यै लोभलालच गर्नुभएन। कसैको चित्त दुखाउनु वा कसैलाई हानि पुर्‍याउनु उहाँको स्वभावविपरीतका कुरा थिए।

“परोपकाराय पुण्याय पापाय परपीडनम्’’ भन्ने पूर्वीय दर्शनको मर्मलाई उहाँले आफ्नो आचरणमा उतार्नुभएको थियो। भलै उहाँले कुनै औपचारिक विद्यालय वा विश्वविद्यालयको दैलो उघारेर उच्च डिग्री हासिल गर्ने अवसर पाउनुभएन, तर उहाँमा धर्मशास्त्र, संस्कार, संस्कृति र जीवनदर्शनको अगाध ज्ञान थियो।

उहाँ धार्मिक ग्रन्थहरूका मर्मलाई गहिरोसँग बुझ्नुहुन्थ्यो र त्यसलाई केवल प्रवचनमा होइन, आफ्नो दैनिक जीवनमा लागू गर्नुहुन्थ्यो। उहाँको बौद्धिकता औपचारिक प्रमाणपत्रमा होइन, उहाँको व्यावहारिक ज्ञान, भद्र व्यवहार र समाजप्रतिको दृष्टिकोणमा झल्कन्थ्यो।

राजनीतिक निष्ठा र सिद्धान्तप्रतिको समर्पण

कोइराला वंशको ऐतिहासिक पृष्ठभूमि र सिन्धुली दुम्जाको प्रजातान्त्रिक विरासतझैं गोविन्दप्रसाद कोइराला पनि वैचारिक रूपमा नेपाली कांग्रेसप्रति अविचलित रूपमा समर्पित रहनुभयो। उहाँ जीवनपर्यन्त नेपाली कांग्रेसको सिद्धान्त, विचार र निष्ठामा दृढ रहनुभयो।

उहाँका लागि राजनीति कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत लाभ लिने माध्यम थिएन, त्यो त प्रजातान्त्रिक मूल्य-मान्यता, लोकतन्त्र र समाजसेवाप्रतिको अगाध आस्था थियो।

राजनीतिक उतारचढावहरू आए, व्यवस्था र शासकहरू फेरिए, तर उहाँको वैचारिक निष्ठा कहिल्यै डगमगाएन। पार्टीप्रति उहाँको श्रद्धा र समर्पण निस्वार्थ र निष्कलंक थियो, जुन आजको राजनीतिमा दुर्लभप्रायः देखिन्छ।

संस्कारयुक्त परिवार र अभिभावकत्वको आदर्शजीवनको उत्तरार्धमा उहाँ आफूले रोपेको धर्म, कर्म र संस्कारको फलबाट तृप्त हुनुहुन्थ्यो। उहाँका श्रीमती, तीन भाइ छोराहरू, तीन बुहारी,  दुई बहिनी छोरीहरू र नौ जना नातिनातिनाहरू गरी एउटा हराभरा, सुसंस्कृत र समृद्ध परिवार छ।

एउटा अभिभावकका रूपमा उहाँले आफ्ना सन्तानहरूमाथि कहिल्यै आफ्ना व्यक्तिगत इच्छा, आकांक्षा वा निर्णयहरू लाद्नु भएन। उहाँ आधुनिक र उदार सोचका धनी हुनुहुन्थ्यो।

उहाँ प्रायः आफ्ना छोराछोरीलाई भन्ने गर्नुहुन्थ्यो- “तिमीहरू आफैँ जान्ने-बुझ्ने भइसकेका छौ, के गर्दा सही हुन्छ र के गर्दा गलत, त्यो तिमीहरूलाई राम्ररी थाहा छ ।’’

सन्तानको विवेक, स्वतन्त्रता र निर्णय क्षमतामाथि यति धेरै विश्वास राख्ने बुवा पाउनु उहाँका छोराछोरीका लागि जीवनकै ठूलो सौभाग्य थियो। उहाँले आफ्ना सन्तानलाई आदेश दिएर होइन, आफ्ना कर्म र आचरणद्वारा संस्कार सिकाउनुभयो।

मृत्युप्रतिको निडरता र अमर स्मृति

जीवनमा सुख र दुःख एउटै सिक्काका दुई पाटा हुन्। गोविन्दप्रसाद कोइरालाले सुखको मुस्कुराउँदो स्वरूप र दुःखको कठोर स्वरूप दुवैलाई समान भावले सहनुभयो र बुझ्नुभयो।

उहाँका लागि जीवन एउटा कर्तव्यपथ थियो, जहाँ सफलतामा मात्तिनु र असफलतामा आत्तिनुको कुनै अर्थ थिएन। सबैभन्दा ठूलो कुरा, उहाँ मृत्युसँग कहिल्यै डराउनु भएन। मृत्यु शाश्वत सत्य हो भन्ने कुरालाई उहाँले गीताको दर्शनझैँ सहर्ष स्वीकार गर्नुभएको थियो।

उहाँलाई थाहा थियो कि शरीर नश्वर छ, तर आत्मा र मानिसले गरेका सत्कर्महरू अविनाशी हुन्छन्। यही निडरता र शान्त भावका साथ उहाँले भदौ १ गते यो भौतिक संसारबाट बिदा लिनुभयो।

अमर रहनेछन् आदर्शका पाइलाहरू

गोविन्दप्रसाद कोइराला आज हामीमाझ भौतिक रूपमा हुनुहुन्न। जुम्लाको कोइराली गाउँबाट सुरु भई, काभ्रेको मंगलटार, ओखलढुंगाको जरायोटार, मानेगाउँ हुँदै कोलकाताको श्रम संस्कृति र निष्ठावान् राजनीतिक-सामाजिक जीवनसम्म फैलिएको उहाँको ८३ वर्षको जीवन-यात्रा पूर्ण र सार्थक रह्यो।

उहाँले छाडेर जानुभएको पदचाप, उहाँको त्याग, परोपकार, लोभहीन स्वभाव, राजनीतिक निष्ठा र सन्तानप्रतिको अगाध एवम् उदार प्रेम हाम्रा लागि युगौँयुगसम्म मार्गदर्शन बनेर रहनेछ।

भौतिक शरीर विलय भए पनि उहाँका दिव्य विचार, उच्च संस्कार र निस्वार्थ कर्महरू हाम्रा मन-मुटुमा सधैँ जीवित रहनेछन्। दिवंगत पूज्य पिता गोविन्दप्रसाद कोइरालाको पुण्यआत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँ एउटा आदर्श पिता र सच्चा मानवका रूपमा हामीबीच अमर रहिरहनुहुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *