एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै

डिसी नेपाल
४ जेठ २०७७ ९:२९

काठमाडौँ । गैर-आवासीय नेपाली संघ (NRNA) ले साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ। संघको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले ‘प्रवासी प्रवाह’ नामबाट साप्ताहिक रुपमा अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्न लागेको हो ।

पहिलो कार्यक्रम भोली आइतवार नेपाली समय अनुसार साँझ ८ बजेबाट सुरु गर्न लागिएको जानकारी समितिका अध्यक्ष हिक्मत थापाले दिनु भएको छ । कार्यक्रमको शुभारम्भका क्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्य प्रस्तुत हुनेछ ।

पहिलो कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी ( अमेरिका ) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उहाँहरुका रचना पाठ हुनेछन् । समितिका अध्यक्ष थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो कार्यक्रम प्रारम्भ गर्न लागिएको हो ।

यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन् । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ।

एनआरएन आइसीसीले गत महिना मात्र संस्थाका पूर्व कोषाध्यक्ष थापाको अध्यक्षतामा २१ सदस्यीय भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समिति गठन गरेको हो । समितिमा छ वटै महादेशबाट प्रतिनिधित्व हुने गरी एक एक जना सह-अध्यक्षको व्यवस्था गरिएको छ।

को को छन् अमेरिकाबाट ?

अमेरिकाबाट समितिमा एक सल्लाहकार,एक सह-अध्यक्षसहित ६ जना सदस्य मनोनित भएका छन् । जस अनुसार समितिको सल्लाहकारमा नीलम कार्की निहारिका,अमेरिकाज क्षेत्रको सह-अध्यक्षमा महेश्वर पन्त र सदस्यहरुमा विकास विष्ट, गौतम दाहाल, गोविन्द गिरि प्रेरणा, कपिल अधिकारी, कृष्ण कुसुम र सर्वज्ञ वाग्ले रहेका छन् ।

समितिमा युगाण्डाका रमेश कंडेल (अफ्रिका), जापानका बेलुकाजी थापा (एशिया प्यासिफिक), नेदरल्याण्डका हरि पौडेल(युरोप), युएइका निश्चल पीएस लिम्बु (मध्यपूर्व) र अष्ट्रेलियाका गणेश घिमिरे (ओसियाना) समितिको सह-अध्यक्ष रहेका छन् ।

समितिमा अमेरिकाका छ जनासहित चन्द्र लामा अनुराग (कोरिया),जितेन्द्र मल्ल (अष्ट्रेलिया), लक्ष्मण न्यौपाने (म्यान्मार), नृपेश उप्रेती(बेलायत), संजय शान्ति सुबेदी (न्यूजिल्याण्ड), सुनिल संगम (पोर्तुगल) र तीर्थ संगम राई (कतार) र भगवती बस्नेत (नेपाल) सदस्य रहनु भएको छ।

समितिको सदस्य सचिवमा भगवती बस्नेतलाई जिम्मेवारी दिइएको छ। समितिको सल्लाहकारहरुमा डा. गङ्गाप्रसाद उप्रेती (कुलपति,प्रज्ञा प्रतिष्ठान नेपाल), जीवा लामिछाने (जर्मनी), आश्विनी कोइराला (नेपाल), नीलम कार्की निहारिका (अमेरिका) र रमेश पौडेल (नेपाल) रहनु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *