कुनै पनि नेपाली नागरिकलाई भोकै पर्न दिन्न : राजदूत कार्की

डिसी नेपाल
७ जेठ २०७७ ३:२३

वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अमेरिकामा रहेका कुनै पनि नेपाली नागरिकलाई भोकै पर्न नदिने बताएका छन्। अमेरिकास्थित  सबै राज्यमा रहेका नेपालीसँग सम्बन्धित संघ सस्था , एनआरएनए तथा बिषय बिशेषज्ञहरूलाई सहभागी गराई राजदूतावासबाट मे १८ मा आयोजित  कन्फ्रेन्स मिटिङमा राजदूत कार्कीले सो कुरा बताएका हुन्।

उनले भने, “कुनै पनि नेपाली नागरिक जो भिजिट भिषामा अमेरिकामा हुनुहुन्छ वा कुनै पनि विद्यार्थी कसैलाई पनि भोकै बस्ने दिन आउन दिन्न। ”  कुनै पनि समस्याका लागि सातै दिन र चौबिसै घण्टा दूताबासमा भएका ४ वटा फोनमा फोन गर्न, आफूलाई वा अवैतानिक बाणिज्य दूतहरूलाई वा एनआरएन लाई फोन गरी आफ्ना समस्या दूताबासलाई जानकारी दिन उनले आग्रह गरे।

उनले अमेरिकामा नेपालीका विभिन्न संघ संस्थाले नेपालीहरुलाई गरेको सहयोगको प्रसंसा गर्दै गर्व लागेको बताएका थिए । उनले भने, “बाल्टिमोरदेखि न्यूयोर्कसम्मका साथीहरूको सहयोगी भावनालाई म उच्चसम्मान गर्दै तपाईँहरूका अमूल्य सुझाब दूताबासको लागि सधै ग्राह्य हुनेछ।”  बैठकमा अमेरिकाभरका विभिन्न संस्थासम्बद्ध व्यक्तिहरुले आ-आफूले गरेको कामबारे जानकारी साटासाट गरेका थिए।

क कसले के के भने ?

यो  मिटिंङमा सामाजिक अभियन्ता न्यूजर्सी निबासी डा बिष्णुमाया परियारले आफूले स्थानीय सघसस्थासंग मिलेर विद्यार्थीहरूलाई सहयोग गरेको बताइन्।
न्यूयोर्क निवासी  वरिष्ठ वकिल खगेन्द्र जिसीले विद्यार्थीहरूलाई अहिलेको स्थितिमा नेपाल जादा स्टाटस मेन्टेन गर्न गाह्रो हुने बताउँदै अहिलेको अबस्थामा कलेजको स्टाटस मेन्टेन गर्दै नेपालमा जाँदा अझ  कठिन परिस्थिति सृजना हुनसक्ने बताए।

एनआरएनद्वारा विद्यार्थीहरूको समस्या समाधान गर्न गठित टास्कफोर्सका संयोजक त्रिभुबन पाण्डेले विद्यार्थीहरूलाई आफ्नो जिपिए मेन्टेन गर्न गाह्रो भएको, नेपाल जान चाहनेहरूको लागि एनआएनमार्फत नेपाल सरकारसँग कुरा भइरहेको बताउदै ५३४ भन्दा बढीलाई सुबिधा उपलब्ध गराएको जानकारी दिए ।

न्यूयोर्क निवासी संजय थापाले न्यूयोर्कको अबस्थाको बारेमा जानकारी गराउँदै बिभिन्न संघसस्थाले मिलेर काम गरेको बताए। त्यसैगरी बिष्णु सुबेदीले न्यूयोर्कको अबस्था सामान्य रहेको सडक तथा पसलहरू यथावत रूपमा चलेको पार्कहरू पुरै प्याक भएकोले स्थिति सामान्य हुँदै गरेको बताउँदै फेसबुकमा लेखिएका सबै समाचारका भरमा आफ्नो धारणा नबनाउन आग्रह गरे। साथै कोरोनाको संक्रमणकबाट पिडितहरूलाई काउन्टीबाट प्रशस्त सुबिधा दिएको सबै तिरबाट यथेस्ट सहयोग पाएको बताए ।

शेर्पा घेदुंगका अध्यक्ष उर्गेन शेर्पाले न्यूयोर्क बाहिर हेरेजस्तो भित्र छैन भित्र जो बिरामी भएर बसेका छन् त्यहाँको स्थिति कहालिलाग्दो भए पनि हरेक दिन आफूहरूले घर घरमा सामान औषधि खाना पुर्याउने काम गरेको बताउँदै कतैबाट सुबिधा नपाएकाहरूका लागि सिटीले केही रकम दिने तर माग बढी भएकोले माग गर्नेहरूलाई गोलाप्रथाको आधारमा बितरण गर्ने गरेको बताए।

एन्टाकी अध्यक्ष अपराजिता झा ले सबै नेपालीहरूलाई एउटै मन्चमा ल्याएर राजदूतले ठूलो काम गर्नु भएको बताउँदै सबै नेपालीहरूका लागि उपयोगी हुने कार्यक्रम २ महिनाभित्र ल्याउँदै कोरोनाबाट संक्रमितहरूका लागि सहयोग गर्न अझै गोफण्ड खोलिरहेको जानकारी दिइन्। उनले कसैलाई कुनै सहयोग गर्नु परे एन्टालाई सम्झिन आग्रह गरिन्।

पशुपति बुद्ध फाउन्डेशनका अध्यक्ष गोकुल पौडेल ( क्यालिफोर्निया) ले त्यहाँ रहेका सबै ब्यापारीहरूको सहयोगमा २५००० ( पच्चीस हजार ) डलर उठाएर  केही रकम न्यूयोर्कमा पठाएको बताए। उनले विद्यार्थीहरूलाई खानको लागि सहयोग गरेको र अझै सहयोग गर्न सक्ने जानकारी दिए।

एआरएन एससीसी महिला संयोजक दीक्षा बस्नेतले यो कोरोनाको समयमा घरेलु हिसा हुने हुँदा आर्थिक समस्या पर्ने आमा दिदी बहिनीहरूलाई सम्बन्धित बिषयका बिशेषज्ञबाट सहयोग दिलाएको बताइन् ।

हवाईबाट बिपिन शाक्यले त्यहाँ नेपालीहरूलाई कुनै समस्या नभएको बाहिरबाट आएका जो कोहीलाई १४ दिन कवारेन्टिनमा बस्ने सरकारले अनिबार्य गरेको  जानकारी दिए भने अलास्काबाट सरोज भट्टराईले नेपालीहरूलाई कुनै समस्या नभएको होटल पसल खुल्न थालेको बताए।

ओहायोबाट डा.दामोदर पौडेलले ८६ जना भुटानी नेपालीहरूलाई संक्रमण भएको, उनीहरुलाई १३ जना नर्सहरूले सहयोग गरेको , स्थानीय संघसस्थाबाट केही अनुदान पाएको र नेपालबाट आउनु भएका नेपालीहरूलाई औषधीको प्रेस्क्रिप्सनको ब्यबस्था गरिएको जानकारी दिए।

बाल्टिमोरस्थित बानाका अध्यक्ष सुबोधविलास पन्तले भरखरै अन्य कारणले २ नेपालीहरूको ज्यान गएको, ४ जना नेपालीहरुलाई कोरोना पोजेटिभ देखिएको थाहा भएको १२ जना भूटानी नेपालीहरूलाई कोरोना पोजेटिभ भएको थाहा भएको, क्यालिफोर्नियाबाट समेत सहयोग प्राप्त भएकोले कसैलाई कुनै समस्या नभएको, कसैले पनि खान खान नपाएको गुनासो नआएको र आफूहरूलाई सबैले सहयोग गरेको बताएका थिए ।

आन्माका अध्यक्ष बलराम पन्थीले  सबै नेपालीहरूलाई एक ठाउमा जोड्ने काम राजदूतले गरेको, आफूले पनि आफ्नो क्षेत्रका १४ वटा राज्यमा टास्कफोर्स बनाई आबस्यकीय साथ र सहयोग आबश्यकता पर्नेहरूका लागि गरेको जानकारी दिए

नासियाका अध्यक्ष बिनय अर्यालले भुटानबाट आएकी ८० बर्षीया एक नेपालीभाषीको निधन कोरोनाबाट भएको बताउदै नर्थक्यारोलेनामा टाइसन चिकेन रेस्टुरामा काम गर्ने ३ जनालाई पोजेटिभ देखिएको, नेपालबाट अमेरिका घुम्न आउनेलाई पनि कोरोना देखिएको जानकारी गराए।

फ्लोरिडामा रहेको नेपालीहरुको सस्थाकी अध्यक्ष अनिला न्यौपानेले त्यहां कोही पनि नेपाली संक्रमित नभएको तर केही बिध्यार्थीहरूलाई समस्या परेको तर सबैलाई समेटेर टास्कफोर्स गठन गरी समस्या परेकाहरुलाई सहयोग गरेको बताइन् भने भर्जिनिया निवासी विनोद गुप्ताले विद्यार्थीहरुलाई विनाधितो ३०० डलर लोन दिएको बताए । त्यसैगरी उर्मिला पन्थीले मिजौरीमा नेपालीभाषी भूटानीहरूमा संक्रमण भएको बताएकी थिइन भने क्यालिफोर्निया निबासी पूर्ण बानियाले आफू बसेको सिटीमा ५०० देखि १००० डलरसम्म सिटीले सहयोग गरेको जानकारी दिए  ।

आठ सय नेपाल फर्किन तयार

एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेले नेपाल जान चाहनेहरुको लागि नेपाल पठाउन एउटा फारम बनाएर पठाएकोमा तोकिएको समयमा ६४१ जनाले नेपाल जान इच्छा जाहेर गरेको तर त्यो संख्या अहिले ८०० पुगेको जानकारी दिए।

यीमध्ये २०५ जना ग्रिनकार्ड बनाउन लागेका, केही बिध्यार्थीहरू जान चाहे पनि पेपरको कारण आउन गाह्रो हुने भएकोले निर्णय गर्न नसकेको साथै नेपालको स्थिति हेरेर नेपाल सरकारले निर्णय गर्ने भएकोले सो निर्णय पर्खेर बस्नु परेको बताए।

त्यस्तै एनआरएनका उपाध्यक्ष सर्बज्ञ वाग्लेले आफ्नो क्षेत्रमा नेपालीहरु नभएर नेपाली भाषी बढी प्रभाबित भएको, कुनै कुनै काउन्टीले बिध्यार्थीहरूको लागि ५०० डलर रकम दिएको जानकारी गराउँदै जब बिध्यार्थीहरूले पैसा पाउन थाले तब नेपाल जाने प्रेसर कम भएको, डा केशब पौडेल लगायतका स्वास्थ क्षेत्रका बिज्ञहरुले राम्ररी काउन्सिलिग गरेकोले त्यो क्षेत्रमा कुनै समस्या नदेखिएको बताएका थिए ।

एनआरएनका अध्यक्ष सुनिल साहले नेपाल सरकारसँग बिध्यार्थीहरुलाई र पर्यटन भिषामा आएका नेपालीहरूलाई कसरी नेपाल लैजान सकिन्छ भनेर कुरा भैरहेको बताउंदै एनआरएनले राजदूतसंग समन्वयन गरेको बताए । उनले कुनै पनि नेपालीहरूलाई कुनै पनि किसिमको सहयोग गर्न कुनै कसर बांकी नराख्ने जानकारी दिए । नेपालमा पठाउदाको अबस्थामा  जहाजमा जादासमेत संक्रमणको जोखिम हुने भएकोले चिकित्सकहरूको सल्लाहअनुसार गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल मेडिकल फाउन्डेसनको तर्फबाट डा संजीब सापकोटाले नेपालबाट भिजिट भिषामा अमेरिका आउनु भएका अभिभावकहरुका लागि  औषधी सकिनेहरूको लागि औषधीको ब्यबस्था, बिषम परिस्थिमा श्रृजित समस्या निराकरण गर्न मेन्टल हेल्थसम्बन्धी कार्यक्रम नर्सहरूको संस्था “शान”संग मिलेर गरेको जानकारी दिए ।

कार्यक्रममा लगभग १०० जना हाराहरीमा सहभागी थिए । सहभागीमध्ये परशुराम भण्डारीले हालै नेपाल सरकारले जारी गरेको नक्सालाई स्वागत गर्दै राजदूतमार्फत नेपाल सरकारलाई बिशेष धन्यबाद दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *