कतारले नेपाली श्रमिकका लागि दियो डेढ करोड बराबरको खाद्यन्न, एनआरएनएले पायाे वितरणको जिम्मा

डिसी नेपाल
९ जेठ २०७७ २०:२९

काठमाडौँ । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको हो ।

दोहास्थित नेपाली दूतासावासले पनि अवदेखि राहत वितरणको जिम्मा एनआरएनएलाई दिइएको जनाएको छ ।

अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन त्यसको जिम्मा एनआरएनएलाई दिइएको दूतावासले जनाएको छ ।

यस प्रक्रियामा दूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउने गरी शुक्रवारदेखि राहत कार्यक्रम नसकिंदासम्म वितरणको सम्पूर्ण जिम्मा एनआरएनएलाई दिएको हो । यसले राहत वितरण प्रक्रियालाई एकीकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने दूतावासको अपेक्षा छ ।

राहत खाद्य सामाग्री भण्डारणका लागि दूतावासले आवश्यक सहयोग गर्ने बताएको छ । राहत सामाग्री वितरणका लागि समन्वय गर्न दूतावासकोतर्फबाट एकजना प्रतिनिधिलाई समेत समावेश गरिने दूतावासको भनाइ छ ।

एनआरएनएले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्ने दूतावासले जनाएको छ । एनआरएनले राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा उनीहरुलाई परेको समस्याको जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउने बताइएको छ ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । यो नेपाल सरकारसँग भएको तथ्यांक हो तर कतारमा सरकारी तथ्याङ्क भन्दा बडी करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङ्क छैन ।

एनआरएनए कतारका अध्यक्ष अनुसार मुक्तदाका अनुसार कतारमा एक नेपालीको मृत्यु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *