कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित !

डिसी नेपाल
११ जेठ २०७७ १०:३३

काठमाडौँ । नेपालीहरुको रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडीमुलुक कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

गत मे १९ तारिख विभागले निकालेको तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना नेपाली रहेको बताइएको छ । कुलसंक्रमित मध्ये नेपाली समुदाय दोश्रो स्थानमा छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन । कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट  मानिएकाे हाे । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ । यसअघि पनि अप्रिल २८ तारिखमा विभागले कुलसंक्रमितको २० प्रतिशत नेपाली रहेको तथ्याङक निकालेको थियो ।

विभागले निकालेको तथ्याङ्क अनुसार संक्रमितमध्ये सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौंमा कतारी १५ सय ३६ जना रहेका छन् ।  बाँकी संक्रमितहरु इजिप्ट,श्रीलंका, सुडान, केन्या, जोर्डन, युगाण्डा, सोमलिया, पेलास्टानीलगायतका देशका नागरिकहरु रहेका छन् ।

तर, कतारको सम्बिन्धत निकायले यस विषयमा आफूलाई केही जानकारी नगराएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्वाजका अनुसार ठ्याक्कै भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएका छन् । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ दूतावाससँग यकिन तथ्याङ छैन । तर, पनि दूतावासले आफ्नो तरिकाले संक्रमित नेपालीहरुसँग सम्पर्क तथा समन्वय गरिरहेको उनको भनाइ छ ।

केहीदिन अघि डिसी नेपालसँगको संवादमा कतारमा कोरोना संक्रमित बिरामीहरुको सरकारले नै निःशुल्क रुपमा उपचार गरिरहेको उनले बताएका थिए । उपचारमा कतारी नागरिक तथा विदेशी नागरिकलाई कुनै पनि भेदभाव नरहेको उनले बताए । ‘यहाँ कतारी नागरिक र विदेशी नागरिक भनेर त्यस्तो कुनै भेदभाव छैन । बिरामीको उपचार सरकारले नै निःशुल्क रुपमा गरिरहेको छ ’ उनले भने ‘कोरोनाको संक्रमण देखिएका नेपालीहरुको अस्पतालमै उपचार भैरहेको छ । हाम्रो सम्पर्कमा आउनु भएकारुले पनि राम्रै उपचार तथा हेरचाह पाएको बताउनु भएको छ ।’

राजदूत भारद्वाज सबैलाई सम्मान व्यवहार गरेकै कारण कतारले संक्रमितको राष्ट्रियता नखुलाएको हुनसक्ने बताउँछन् । कतारमा संक्रमण बढ्दै गएपछि दूतावासमा विभिन्न गुनासो गर्ने नेपालीहरुको संख्या पनि बढेको उनले बताए । दूतावासमा आउने त्यस्ता गुनासोहरुको व्यवस्थापन गर्न दूतावास क्रियाशील रहेको उनको भनाइ छ ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारमा हालसम्म सम्म संक्रमितको संख्या बढेर ४२ हजार २ सय १३ पुगेको छ । तीमध्ये ८ हजार ५ सय १३ जना उपचारपछि निको भएका छन्, भने १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना नेपाली नागरिक समेत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *