मध्यम वर्गीय परिवारको पीडा : समाजले मध्यम वर्गीय ठान्छ, घरभित्रै रित्तै छ

डिसी नेपाल
१२ जेठ २०७७ १०:०७

काठमाडौं। कोरोना संक्रमणबाट बच्न सरकारले निरन्तरता दिएको लकडाउनले निम्न वर्गका नागरिकलाई मात्रै नभई मध्य वर्गका नागरिकलाई समेत परिवार चलाउन कठिन हुँदै गएको छ। बन्दाबन्दीको अवस्था यति लामो झेल्नुपर्छ भन्ने पूर्व तयारी नभएका कारण मध्यम वर्गलाई परिवार चलाउन गाह्रो भएको छ।

समाजमा केही सहयोगको अपेक्षा राखौं भने हुनेखाने भनी गनिने तर बास्तविकतामा भने भित्र रित्तिएर आफूलाई मानसिक तनाव बढेको बताउँछिन् नुवाकोट तार्केश्वरकी बिमला तिमल्सिना। ‘मेरो श्रीमान ड्राइभर पेशा गर्नुहुन्थ्यो। लकडाउन भन्दा अगाडि छोराहरू पनि काठमाडौमा अकाउन्टेन्ट काम गर्थे, कहिल्यै केही समस्या परेन। तर, यो लकडाउनले हामी हुनेखाने भनेर समाजमा चिनिएकालाई पनि गाह्रो परिसकेको छ। कसरी परिवारको बिहान बेलुका खाने व्यवस्था गर्नु हो, घर भित्र केही छैन। न कमाइ हुन्छ।’

परिवारका सदस्य अधिकांश समय घर बाहिर बस्दा घरमा भएको अन्न पनि सबै बेचेर व्यबहार मिलाएको भन्दै नुवाकोट विदुर– ३ का आफ्नो परिचय खुलाउन नचाहने एक ५६ वर्षीय पुरुष गुनासो गर्छन्, ‘पहिला घरमा भएको सबै अन्न बेचिएर व्यवहार मिलाइयो। अहिले परिवारका सदस्य सबै जम्मा भएका छन्। खाने कुरा नै सकिएको छ। समाजमा कसैलाई भन्यो भने विश्वास नै गर्दैन आफैंलाई पनि लाज हुन्छ। घर व्यबहार त्यस्तै त हो नि कोरोना आउँछ सबै जम्मा हुन्छौं भन्ने भएन। अहिले हामीलाई नै अति गाह्रो छ।’

उनले प्राइभेट अफिसमा काम गर्नेको तलब नआएको तथा घरमा आम्दानीको स्रोत केही नहुँदा अहिले समस्या भएको बताए।  कतिपय परिवारलाई आफूलाई समाजले हुने खाने वर्गका रुपमा हेर्ने भएका कारण पनि राहत लिन लाज लाग्ने, तर घर भित्र भने करीब दुई महिनामा नै परिवार चलाउन कठिन भएको बताएका छन्।

यस्तै अफ्ट्यारो आइपरेको बताउँछन् नुवाकोट भरत ओझा। ‘मेरो घरमा ५ जनाको परिवार छौं। सानोतिनो काम गरेर परिवारको गुजारा चल्दै आएको थियो। यो समयसम्म त काम नभए पनि खान मुस्किल थिएन। अब भने अन्तिम अवस्थामा पुगेका छौं। कसको आश गर्नु ? लकडाउनले मार पार्ला जस्तो छ। स्थानीय तहले वितरण गरेको राहत लिन पनि कसरी जानु? आफू भन्दा पनि निम्न परिवारले पाएका छैनन्।’

आफ्नो परिवारको सदस्य सरकारी पेशामा रहेको भएपनि परिवार चलाउन गाह्रो भएको बताउँछिन् नुवाकोटकी प्रमिला रेग्मीर। ‘मेरो श्रीमान नेपाल आर्मीमा हुनुहुन्छ। तर उहाँको कमाइ भूकम्पपछि बनाएको घरको लोनको ब्याज तिर्नुपर्ने। देवरले कमाएको रकमबाट घर चल्थ्यो। खेतीपातीबाट धान, मकै आएपनि बाँकी त किन्नु नै पर्छ। अहिले ९ जना छौं घरमा। यसै समस्या हुने भयो। कतिन्जेल घर चल्छ।’

कतिपयले सरकारलाई लकडाउनको विकल्प खोज्न र लकडाउनबारे नयाँ मोडालिटी अपनाउन सुझाव पनि दिएका छन्। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि जेठ २० गते सकिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *