पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

डिसी नेपाल
११ साउन २०८१ ६:१८
60
Shares

रामेछाप। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुको पहिरे भन्ने स्थानमा बिहीबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ।

स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ, १४ बर्षकी आसिका तामाङ र १३ बर्षकी लक्ष्मी तामाङ रहेका छन्।

स्थानीय गोपी तामाङका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो। घटना लगत्तै स्थानीयहरु जम्मा भएर उद्धारमा जुटेका थिए।

पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए।

घटनास्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ती नजिकैको छत्तिवने खोलामा आएको बाढीले रोकेर घटनास्थलसम्म जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताए। घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी उद्धारमा पुगेको स्थानीयहरुले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *