जनप्रतिनिधि हुनु त यस्तो पो !

डिसी नेपाल
१३ जेठ २०७७ १५:२८

चितवन। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई उद्धार गर्नेक्रम जारी राखेका छन्। आफ्ना नागरिक लिन उनी बस लिएर सीमानासम्म आफै पुगेका थिए।

उनका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौजना ल्याएर क्वारेन्टिनमा राखिएको छ। दुई दिनअघिमात्र सुनवलबाट ६५ जनालाई माडी ल्याइ क्वारेन्टिनमा राखिएको छ। झापा र नेपालगञ्जबाट भरतपुुर आएर बसेका पाँचजनालाई पनि नगरपालिकाले क्वारेन्टिनमा लगेर राखिएको छ। अहिलेसम्म ९४ जनालाई सीमानाबाट माडी ल्याइसकिएको छ । तीमध्ये धेरै भारतको मुम्बइका रहेका जनाइएको छ।

नगरपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले एउटा वडामा कम्तीमा एउटा क्वारेन्टिन निर्माण गर्ने निर्णय अनुसार नगरका नौवटै वडामा १२ वटा क्वारेन्टिन बनिसकेका उनले जानकारी दिए।

उनका अनुसार आज पनि वडाध्यक्षको नेतृत्वमा सीमानामा अलपत्र परेका नागरिक लिन एउटा बस पठाइएको छ। हालसम्म त्यहाँबाट २७ जनाले नाम टिपाएको भए पनि यो सङ्ख्या थपिने उनको भनाइ छ। क्वारेन्टिनमा बसेकालाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ। नगरपालिकाले कोरोनाको पिसिआर परीक्षणका लागि किट खरिद गर्न रु १० लाख बजेट छुट्याइसकिएको छ।

उनले भने, “क्वारेन्टिन व्यवस्थापन र खाजामा रु २२ लाख हाराहारी खर्च गरिसकेका छौँ ।” नगरपालिकाले राहतमात्र दुई हजार ७६५ परिवारलाई वितरण गरिसकेको छ। यसका लागि रु ४२ लाख खर्च भएको बताइएको छ। उनले भने, “हाम्रा नगरवासी विदेशमा अलपत्र पर्नुहुँदैन। ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो।”

नगरपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार दुई हजार आठजना माडीवासी भारतमा रहेका छन्। विदेश रहेकाको कुल सङ्ख्या चार हजार २०० हाराहारी छ। तीमध्ये २० देखि २५ प्रतिशत तत्काल आउने नगरपालिकाले जनाएको छ। यसैका लागि एउटामा १०० जना अट्नेगरी १२ वटा क्वारेन्टिन तयारी अवस्थामा छ।

उनीसँग यसअघि गर्दी गाउँ विकास समितिको दुईपटक अध्यक्ष भएको अनुभव छ। नगरपालिकाले घरकै क्वारेन्टिनमा रहेका १२९ जनाको अनुगमन, वगई स्वास्थ्य डेस्क, १०० श्ययाको अफिसियल क्वारेन्टिन, बघौडा अस्पतालमा पाँच श्ययाको आइसोलेशन, १४६ जनाको -यापिट डाइग्नोष्टिक टेष्ट, १९ जनाको पिसिआर परीक्षण, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई घरमा नै औषधि, जिल्ला र देशका विभिन्न ठाउँमा रहेका एक हजारजनाको उद्धार र स्वास्थ्य परीक्षण गरिसकेको छ।

माडी चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड र वन क्षेत्रको बीचमा रहेको छ। वन्यजन्तुको त्रासमा बाँच्न विवस माडीवासी सुगम जिल्लाका भएर पनि विभिन्नखालका समस्या भोग्न बाध्य छन्। नगरपालिकामा ४३ हजार ४०२ जनसङ्ख्या रहेको छ।

कसरामा हेल्थडेस्क, सुरक्षाकर्मीलाई सुरक्षा कवज, बघौडा अस्पतालको नेतृत्वमा र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थितरुपमा सञ्चालनजस्ता गतिविधि गरिएको छ। साथै माडीका सञ्चारमाध्यमलाई सङ्कटमा सन्देश प्रसारण गर्न बजेट विनियोजन गरी काम अघि बढाइएको छ।

‘पूरै ध्यान केन्द्रित गरी काम ग-यो भने केही गर्न सकिन्छ’ भन्ने उदाहरण नगरप्रमुखले देखाएको जिल्लावासी बताउँछन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *