‘न्याय दिलाउँछु’ भन्दै १० हात उफ्रिने हामी ‘अपराधी’हरु !

दामोदर नेपाल
१४ जेठ २०७७ ११:२४

सामाजिक संजालमा एउटी किशोरीको फोटो छ्याप्छ्याप्ती भाइरल भइरहेको छ । रुकुम पश्चिमकी एक किशोरीको । १७ वर्षकी मल्ल थरकी किशोरी । हुन त सामाजिक संजालमा उनको नाम पनि उल्लेख छ । केहीले त उनको नाम र फोटो होइन उनको तीनपुस्ते विवरण नै पोस्ट गरेका छन्– सामाजिक संजालमा । पोस्ट गर्नेले त गरे, अनि त्यसपछि आएका छन् अर्काथरी – शेयर गर्नेहरु । उनीहरुले ती किशोरीको पूरा विवरणसहितको उनको फोटो शेयर गरेका छन् अनि थपेका छन् – ‘सक्दो शेयर गरौं ।’

ती किशोरीको फोटो सामाजिक संजालमा पोस्ट गर्ने र शेयर गर्नेहरु ‘मसीहा’ हुन्, ‘स्वघोषित मसीहा’ । उनीहरुले आफूलाई त्यस्तै ठान्छन्, त्यस्तै भन्छन् । उनीहरु ठूलो अभियानमा छन् – न्याय दिलाउने महाअभियानमा । समाजको कलंकको रुपमा रहेको जातीय विभेदका कारण ज्यान गुमाएका तीन युवा र किशोरहरुलाई न्याय दिलाउने महाअभियानमा उनीहरु लागिपरेका छन् । उनीहरुलाई लागिरहेछ यो सबै गरेर उनीहरुले निकै ठूलो काम गरिरहेका छन् – समाज परिवर्तनको ।

यी सब घटनाक्रमका बीच ती ‘स्वघोषित अभियन्ता’ले एउटा कुरा भने बिर्सिरहेका छन् । न्यायको महाअभियान चलाइरहेका उनीहरुले बिर्सिरहेका छन् कि उनीहरुबाट गम्भीर ‘अपराध’ भइरहेको छ । ती किशोरी जसको हत्याकाण्डमा कूनै भूमिका पुष्टि भइसकेको छैन । उनी घटनाकी एक पात्र हुन् तर जुन घटना भयो त्यो गर्ने उनको नियत देखिएको छैन । अहिलेसम्म सार्वजनिक भएका तथ्यहरुका आधारमा उनी आफ्ना प्रेमीसँग भाग्न चाहेकी हुन् । हत्या उनको सोच होइन । अहिलेसम्मका तथ्यले भन्छन् उनी पीडक होइनन् पीडित हुन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसद बिमला राई पौडेलले भागाएर लैजान खोजिएकी किशोरी किशोर अवस्थामै रहेकोले उनको यतिबेला मनोसामाजिक अवस्था निकै जटिल हुने भन्दै उनलाई मनोसामाजिक परामर्शका साथै दह्रो संरक्षणमा राख्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् । उनले भनेकी थिइन् ‘ती किशोरीलाई यतिबेला मेरो कारणले यो सबै भएको हो भन्ने महसुस भइरहेको हुन्छ जबकि यसमा ठूला मान्छेहरु संलग्न भएका हुन्छन् ।’ सांसद पौडेलले किशोरीलाई अभिभावकबाट टाढा राखेर संरक्षणमा ध्यान जाओस् भन्नेतर्फ सचेत गराएकी थिइन् ।

सांसद पौडेलले भनेको कुरा सत्य हो – तीतो सत्य । यतिबेला ती किशोरीको मनमा के गुज्रिरहेको होला ? आफू पनि त्यो उमेर पार गरेर आएकी महिला भएको नाताले सांसद पौडेलले त्यो स्थिति पक्कै बुझेकी थिइन् । तर, के न्याय दिलाउने नाममा १० हात उफ्रिने हामीले यो बुझेका छौं ? उनलाई भगाएर लैजाने क्रममा केही आपराधिक मानसिकता भएका व्यक्तिहरुले गरेको दानवीय कृत्यको दोषको बोझ उनले आफ्ना कलिला काँधमा बोकिरहेकी छिन् । आत्मग्लानीको त्यो बोझ बोकेर हिँड्न कति गाह्रो हुन्छ, के हामीले उनको त्यो पीडा बुझ्ने कोसिस गर्यौं ?

केही दिन पछाडि फर्केर हेरौं । घटना भएको केही समयपछि धेरै संचारमाध्यममा यो घटनाबारे समाचार आए । मूलधारका मिडियाहरुले किशोरीको पहिचान खुलाएनन् । तर, त्यसलगत्तै च्याउझैं उम्रिएका अनलाइन, युट्युबर र सामाजिक संजालमा भिडियो लाइभ गरेकै भरमा मिडिया कहलाउने ‘फेसबुके पत्रकार’हरु सल्बलाउन थाले । उनीहरुले सामाजिक संजालको गहिराइसम्म ‘अनुसन्धान’ गरे र पत्ता लगाए ती किशोरीको फोटो र तीनपुस्ते विवरण । यतिबेला अत्यन्तै गम्भीर प्रश्न हो के उनको नाम र फोटो पत्ता लगाउनको लागि यति गहिरो ‘अनुसन्धान’ जरुरी थियो ?

आवश्यक थियो वा थिएन त्यो नैतिकता हुनेहरुले बुझ्ने कुरा हो । नैतिकता नै हराएकाहरुलाई यो प्रश्नको कुनै तुक हुँदैन । तर, पहिलोपटक समाचार प्रकाशित गर्ने क्रममा एउटा मूलधारको अनलाइन नै चुक्यो । उसले ती किशोरीको नाम त प्रकाशित गरेन बरु परिवर्तित नाम भनेर अर्कै नाम लेख्यो तर उनको तस्वीर भने प्रकाशित गरिदियो । सम्भवतः यो ती सम्पादकले भूलवश गरेका थिए र उनलाई यसप्रति ग्लानी पनि पक्कै महसुस भयो होला । तर, उनको पूरै पहिचान खुलाएर सामाजिक संजालमा तथाकथित अभियान चलाउनेहरुलाई कहिल्यै ग्लानी महसुस होला ? कहिलेकाहीँ हामीले नजानेरै गल्ती गरिरहेका हुन्छौं। यो घटनामा पनि त्यही भएको छ ।

३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । तीन जना बेपत्ता छन् तर उनीहरु जीवितै फर्किने आशा पनि न्यून छ । भेटिएका शवमा गम्भीर खालका चोटहरु देखिएकोले उनीहरुको हत्या भएको आशंका गरिएको छ । अझै गम्भीर कुरा त उनीहरुको ज्यान जाने कारण जातीय विभेद भएको पाइएको छ जुन कानुनी रुपमै प्रतिबन्धित कुरा हो । यसरी हेर्दा ती पीडित किशोरहरुलाई न्याय दिलाउने र अपराधीलाई सजाय दिलाउने विषय सिंगो देशको प्राथमिकतामा पर्नुपर्छ । पीडितहरुले न्याय पाउनै पर्छ र अपराधीले सजाय पाउनै पर्छ । तर, के न्यायको युद्धमा ती किशोरीलाई नघिसारी अभियान चलाउन सकिँदैन ?

आजभोलि टिकटक मौलाएको छ । टिकटकेहरुले अहिले ती किशोर किशोरीका दर्जनौं तस्वीर पोस्ट गरेर शोकमग्न गीतको पृष्ठभूमिमा टिकटक भिडियो बनाइरहेका छन् । अन्य टिकटकेहरुले शेयर गरिरहेका छन् । यसले ती किशोरीलाई शान्तिसँग बाँच्न देला ? के ती किशोरी भोलि शीर उठाएर समाजमा हिँड्न सक्लिन् ? ती किशोरी को हुन् भन्ने पहिले सीमित व्यक्तिहरुलाई थाहा थियो अहिले सिंगो देशले थाहा पाइसकेको छ । अब समाजले उनलाई हेर्ने दृष्टिकोण कस्तो होला ?

यी सबै घटनाक्रम हेर्दा झण्डै २ दशकअघिको घटना सम्झना आउँछ । म स्कुले छँदा मसँगै अध्ययन गर्ने दृष्टिविहीन साथीहरु थिए । हाम्रो स्कुलमा अहिले पनि दृष्टिविहीनहरुले अरु सामान्य विद्यार्थीहरुसँगै एकीकृत शिक्षा अध्ययन गर्छन् । हामीले साथमै अध्ययन गर्ने क्रममा साथी–साथी मिलेर बाहिर घुम्न पनि निस्किन्थ्यौं । उनीहरुलाई देखेर केही व्यक्तिहरुले ‘बिचरा’ भन्थे । र, हाम्रा दृष्टिविहीन साथीहरुलाई यो शब्दसँग घृणा थियो । उनीहरु आफूलाई कसैले बिचरा भनेको सुन्न मन पराउँदैनथे । उनीहरु भन्थे ‘हामीसँग दृष्टि पो छैन अरु धेरै क्षमता छ । हामी कोही भन्दा कम छैनौं । कमजोर छैनौं । त्यसैले हामीलाई बिचरा भन्नु जरुरी छैन ।’

अहिले ती किशोरीलाई त्यस्तै ‘बिचरा’को बिल्ला भिराइएको छ । उनको उमेर केवल १७ वर्षको छ । उनीसामु अझै जीवनको विशाल यात्रा बाँकी नै छ । उनको बाँकी जीवनयात्रालाई सहज बनाउनुको सट्टा असहज बनाउनेतर्फ हामी किन सक्रिय छौं । उनको कसैसँग प्रेम थियो तर अब उनी रहेनन् । भोलिका दिनमा उनलाई जीवनसाथीको आवश्यकता पर्ला । त्यतिबेला उनलाई अहिलेको घटनाले समस्या पार्यो भने त्यसको जिम्मेवारी कसले लिने ?

उनको परिवार नै उनको प्रेमको दुश्मन भएको छ । उनी अहिले परिवारभित्रै असुरक्षित छिन् । परिवारमा असुरक्षित भए पनि हाम्रो समाजले उनलाई तिमी समाजमा सुरक्षित छौ भन्ने सन्देश दिनुपर्ने होइन र ? एउटी कलिली किशोरी भोलि बाटोमा हिँड्दा ‘त्यो केटी यही हो’ भन्दै बाटोमा उभिएर सबैले घुरेर हेर्न थाले, औंला तेर्स्याउन थाले भने उनको स्थिति के होला ? भोलि उनको बिहे गर्ने तयारी गरिएला । यही कारणले जोडिन लागेको सम्बन्ध बिग्रियो भने त्यसको जिम्मेवारी कसले लिन्छ होला ?

आम नागरिकले त बुझेनन् तर जनप्रतिनिधिले त यो कुरा बुझ्नुपर्ने हो । कानुन निर्माण गर्नको लागि संसदमा पुगेका सांसदले त बुझ्नुपर्ने हो । अझ शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी पाएका गृहमन्त्रीले त यो कुरा झनै बुझ्नुपर्ने हो । तर, मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले नै ती किशोरीको नाम लिए । के यसरी पीडितको पहिचान उजागर गर्दै उनलाई थप पीडित बनाउनु उचित थियो । सम्बन्धित पक्षले आत्मालोचना गरुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *