भ्रष्टाचारमा थुनिँदै छन् थप जर्नेलहरु, अन्तिम चरणमा छानविन

डिसी नेपाल
१५ जेठ २०७७ ७:४०

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र जरो गाडेर बसेको आर्थिक अनियमितता र भ्रष्टाचारमाथि निर्मम प्रहार शुरु गरेपछि थप जर्नेलहरु पनि भ्रष्टाचारको अभियोगमा तानिने भएका छन्।

उच्च सैनिक स्रोतका अनुसार, सैनिक जहाज खरिदका विभिन्न प्रकरणहरुको प्रारम्भिक छानविनका क्रममा अनियमितता पाइएपछि नेपाली सेनाका कमाण्डर पाइलट पूर्वउपरथि सुधीर श्रेष्ठमाथि विस्तृत छानविन हुने भएको छ।

उनको नेतृत्वमा रहेको नेपाली सेनाको हवाई सेवा महानिर्देशनालयले इण्डोनेशियाबाट ल्याएको जहाजको खरिदका क्रममा अनियमितता देखिएको छ। स्रोतका अनुसार, सम्झौताअनुसार, सो जहाजका पार्टपूर्जाहरु नआएको र त्यत्तिकै करोडौं करोड रकम भुक्तानीका कार्य अघि बढाइएको पाइए पनि प्रधानसेनापति थापाले सो जहाजको थप भुक्तानी प्रक्रिया पनि रोकिदिएका छन्। उनीमाथि रुसबाट खरिद गरेर ल्याइएको दुईवटा एमआई १७ जहाजका पार्टपूर्जाका बारेमा पनि हेलचेक्र्याँइ गरेकोबारे छानविन भइरहेको बताइएको छ।

त्यसैगरी काठमाडौंको सुन्दरीजलस्थित सैनिक आर्सनलको प्रमुख भएका बेला अनियमितता भएको उजुरीका आधारमा प्रारम्भिक छानविनपछि त्यसको नेतृत्व गर्नेमध्येका एक जर्नेल अजितबरसिंह थापा पनि विस्तृत छानविनमा तानिने अवस्थामा परेको सैनिक स्रोतले जनाएको छ।

आफू शुद्ध रहने कुरा सार्वजानिक गरेर भ्रष्टाचारविरुद्ध निर्मम प्रहार शुरु गरेका प्रधान सेनापतिले सेनाभित्र मात्र होइन नेपालको राजनीतिक दल र सत्ता सञ्चालकहरुलाई जो कोही भए पनि भ्रष्टाचारमा मुक्ति पाउन नसक्ने सन्देश दिन खोजेका छन्।

वहालवाला उपरथि थापा नेपाली सेनाका पूर्व सेनापति धर्मपालबरसिंह थापाका छोरा हुन्। यसअघि नेपाली सेनाका जर्नेल प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल भ्रष्टाचारको अभियोगमा पक्राउ परिसकेका छन्। उनीहरुलाई सैनिक हिरासतमा राखेर छानविन गरिँदै छ।

सम्पत्ति नबुझाउनेलाई के हुन्छ ?

नेपाली सेनाको इतिहासमै पहिलोपल्ट आफ्नो सम्पत्ति विवरण सार्वजानिक गरेर प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचारविरुद्ध आफ्नो प्रतिबद्धता सार्वजानिक गरेका थिए। व्यापक जनसमर्थन पाएको यो कदम पछि सेनाका रथीपदमा भर्खर पदोन्नति भएका प्रभुराम शर्माले पनि आफू उपरथी भएकै बेला सम्पत्ति विवरण सार्वजानिक गरे। मुलुकभित्र साधारण अवस्था रहेमा र अन्य कुनै खेल नभएमा थापापछि सेनापति हुने व्यक्ति हुन् शर्मा।

यी दुई उच्चपदस्थले आफ्नो सम्पत्ति विवरण सार्वजानिक गरे पनि सेनाकै अर्का रथी शरद् गिरीले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजानिक गरेका छैनन्। उनले किन बुझाएनन् भन्ने कुरा पनि वाहिर आएको छैन। त्यसैगरी अन्य सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वले पनि सम्पत्ति विवरण सार्वजानिक गरेका छैनन्। भ्रष्टाचार गर्ने नियत छैन भने किन सम्पत्ति विवरण खुल्ला नगरेको भन्ने प्रश्न उनीहरुमाथि उठेको छ।

सेनापतिको सन्देश के हो ?
आफू शुद्ध रहने कुरा सार्वजानिक गरेर भ्रष्टाचारविरुद्ध निर्मम प्रहार शुरु गरेका प्रधान सेनापतिले सेनाभित्र मात्र होइन नेपालको राजनीतिक दल र सत्ता सञ्चालकहरुलाई जो कोही भए पनि भ्रष्टाचारमा मुक्ति पाउन नसक्ने सन्देश दिन खोजेका छन्।

भ्रष्टाचारमा चुर्लुम्म डुबेकोमा बेला बेलामा विवादमा आउने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई पनि आफ्नो सम्पत्ति विवरण बुझाएर पारदर्शी हुन सेनापतिका पछिल्ला कदमले दवाव दिएको छ। नेपालका कुनै पनि कानुनले सेनाभित्रका खरिद र अन्य आर्थिक क्रियाकलापमा भएका अनियमितताबारे खोज्ने अधिकार कुनै निकायलाई दिएको छैन।

खोज्यो भने सेनाले नै खोज्ने हो। सेनाभित्र हुने भ्रष्टाचारलाई खोजी खोजी कारवाहीको दायरामा ल्याउने, राजीनामा दिएर कसैलाई उन्मुक्ति नहुने सन्देश दिँदै सेनापतिले शुरु गरेका यी कारवाहीले भ्रष्ट राजनीतिकर्मी, अरु सुरक्षा निकाय र निजामति प्रशासनका हाकिमहरुलाई पनि सतर्क गराउन खोजेको बुझ्न कठिन छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *