लम्बिँदो लकडाउन, परिवारमा बिग्रहको खतरा

डिसी नेपाल
२० जेठ २०७७ १३:०९

नुवाकोट। कोरोना संक्रमण मुलुकभित्र देखापरेसँगै अधिकांश मानिस घरपरिवारमा जम्मा भएका छन्। तर लकडाउन लम्बिँदै जाँदा घरपरिवारभित्रै मनमुटाव हुन थालेको छ। वर्षौंदेखि घर बाहिर बस्दै परिवारका सदस्य फेरि लामो समयसम्म परिवारसँग बस्दा कुरा नमिल्ने, सानो कुरामा ठूलो विवाद हुने गरेको धेरैको अनुभव छ।

सानै विषयबाट ठूलो विवाद हुने गरेपछि कतै परिवारमा ठूलो घटना घट्ने होकि भन्ने चिन्ता लागेको बताउँछिन् काठमाडौं गोदावरीकी २५ वर्षीया चन्दा कार्की। ‘धेरैलाई यति लामोसमयसम्म परिवारका सबै सदस्य यसरी भेला भएर बस्नु पर्ला भन्ने धेरैले सोचेका थिएनन्,’ उनले भनिन्, ‘ म आफैं पनि सानोमा होस्टेलमा बसेँे, कलेज पढ्दासम्म त्यति मतलब भएन। जागिरसुरु गरिएपछि शनिबार समय निस्किन्थ्यो। त्यो पनि आफ्नै काम गर्दा सकिन्थ्यो। अब अहिले त के गर्नु, परिवार भित्रै मनमुटाव हुन्छ।’

ससानो कुरामा पनि तनाव हुने उनको अनुभव छ। ‘बहिनीसँग मसँग अस्ति एकहप्ता बोलिन, फेरि ठूलो बाहाना नै चाँहिदैन। मलाइ त डर लाग्न थालेको छ, कतै यसले ठूलो रुप लिने हो कि!,’ उनले भनिन्।

सबैलाई आफूमात्र जान्ने भ्रमका कारण पनि समस्या हुने गरेको उनको अनुभव छ। आफूले जाने बुझेको कुरा सिकाउन खोज्दा पनि सबैले म आफैं जान्ने छु जस्तो गरेर व्यवहार गर्दा पनि परिवारमा मनमुटाव हुने गरेको उनले बताइन्।

काठमाडौं नैकाप बस्ने स्वस्तिका घिमिरे भन्छिन्, ‘म यो भन्दा पहिला मामा घरमा बसेर पढेँ, यस्तो समयमा किन परिवारभन्दा अलग बस्नु भनेर आएँ, तर कुरा मिल्दो रहेनछ। ससना कुरामा पनि विवाद बढ्ने रहेछ।’

छोरो छोरीलाई आफूमात्रै जान्ने भन्ने भ्रम हुने र बुवा आमालाई पनि सिकाउन खोज्दा समस्या हुने गरेको बताउँछिन् नुवाकोट तार्केश्वरकी मनिषा ओझा। ‘आजकलका केटाकेटीलाई आफू जान्ने सुन्ने भन्ने भ्रम हुन्छ। परिवारका सदस्यसँग त्यसैगरी प्रस्तुत हुन्छन्। शिक्षित नभएपनि बुवा आमालाई अनुभवको आधारमा धेरै कुरा थाहा हुन्छ, अनि दुवै पक्षको कुरा नमिल्दा मनमुटाव हुनेरहेछ।’

नुवाकोट विदुरका सरेश वस्ती भन्छन्, ‘ लकडाउन केही अगाडि घर आउँदा सबैले मान सम्मान गर्थे, अहिले सबै भाइ बहिनी जम्मा भएका रहेछन्। अहिलेका केटाकेटीलाई केही भन्नै नहुने रिसाइहाल्छन्।’

आफूले जन्माएका छोराछोरीले केही भन्दा असाध्यै चित्त दुख्ने बताउँछिन् धादिङ मलेखुकी ६० वर्षीया सुस्मिता सेढाँई। ‘यत्रो दुख गरेर पढ्न बाहिर पठाएका छोराछोरी त अब पो चिनियो,’ उनले भनिन्, ‘पढ्न होइन सड्न पठाएको जस्तो लाग्दैछ। आफ्नै बच्चाले ठूलो स्वर गर्दा चित्त दुख्छ नि! अरु बेलामा आउदा त माया गरेजस्तो लाग्थ्यो। हामी चाहिँ उनिहरुको अगाडि निहुरिरहनु पर्ने भन्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *