‘कोरोनामाथि विजय नभए नेतृत्व असफल हुन्छ’

डिसी नेपाल
२९ जेठ २०७७ २१:१३

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आईसीटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी तालीम’ सञ्चालनका क्रममा कानूनमन्त्री भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व र मुलुकको औचित्य सकिएर जाने बताए । उनले कर्णाली प्रदेशमा कोरोनाको ‘इपिसेन्टर’ बन्दै गएको दैलेखतर्फ हाल प्रदेश सरकार केन्द्रित भएको जानकारी गराए ।

“हामी दैलेखलाई पीसीआर मेसिनको व्यवस्था गर्ने पहलमा छौँ”, उनले भने, “प्रदेश सरकार यहाँका नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटेर सङ्घ र स्थानीय सरकारसँग पनि निर्वाध समन्वय गरिरहेको छ ।” प्रदेशमा २७ आइसोलेशन सेन्टर खडा गरेर अघि बढेको र प्रदेश सरकारले क्वारेन्टिनको प्रभावकारी व्यवस्थापनका लागि लागि गृहकार्य गरिरहेका उनको भनाइ थियो ।

पूँजीवादी विकसित देश पनि कोरोना भाइरसबाट हायलकायल भएको जिकिर गर्दै मन्त्री भण्डारीले सीमित साधन स्रोतमा रहेर कर्णाली प्रदेश सरकारले बाध्यात्मक काम गर्नुपरेको बताए। कोरोनाविरुद्धको कठिन लडाइँको घडीमा हरेकलाई औचित्य पुष्टि गर्ने अवसर मिलेको बताउँदै उनले सम्पूर्ण शिक्षकलाई आ–आफ्नो क्षेत्रबाट कोरोना प्रतिकार्यको अभियानमा जुट्न आग्रह गरे ।

सङ्क्रमित स्थानीय तह र गाउँमा प्रवेश गरिहाल्दा दुनियाँ भासियो र लीला नै समाप्त पार्छ भन्ने अतिवादी बुझाइलाई चिर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनले शिक्षकलाई अनुरोध गरे । शिक्षकको तत्काल विद्यालय खोल्ने वा के हुने ? भन्ने जिज्ञासामा उनले चाँडै विद्यालय सञ्चालन गर्न उपयुक्त नहुने धाराण राखेका थिए। उक्त अनलाइन तालीममा दैनिक ५५–८० शिक्षक सहभागी हुने गरेको सङ्गठन कर्णाली प्रदेश उपाध्याक्ष तथा आईसीटी विभागका संयोजक रामबहादुर रावलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.