तस्करबाट बरामद गरेको सुन प्रहरी निरीक्षकले लुकाएपछि…

डिसी नेपाल
५ असार २०७७ १९:०८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधा किलो सुन लुकाउने प्रहरी निरीक्षकसहित चार प्रहरीलाई मुद्दाा दायर गरेको छ । रसुवाको टिमुरे नाकाबाट भित्रिएको ५ सय ३३ ग्राम सुन बरामद गरे पनि राजस्वमा नबुझाउने प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ प्रहरी कर्मचारी विरुद्ध रु. ३३ लाख २९ हजार भन्दा बढी बिगो मागदाबी सहित शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सीमा प्रहरी चौकी टिमुरेका प्रमुख रहेका प्रहरी निरीक्षक नेपालले आफू मातहत कार्यरत प्रहरी हवल्दारहरु रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमालसँगको मिलमतोमा तस्करी भएको सुन बरामद गरेपनि राजस्वमा नबुझाई बेचेर रकम भागबण्डा गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही आधारमा अख्तियारले छानवीन गरेपछि उनीहरुलाई दोषी करार गरी विशेष अदालतमा मुद्धा दर्ता गराएको हो ।

आयोगको अनुसन्धानमा २२ मंसीर २०७६ र ११ पुस २०७६ मा केरुङ नाकाबाट बरामद सुन प्रहरी निरीक्षक नेपाल मातहतका तीनजना हवल्दारले राजस्वमा दाखिला गर्नुपर्नेमा गोप्य राखेर आफैले बेचबिखन गरेका आरोप लगाइएको छ । ११ पुस २०७६ मा केरुङबाट भित्रिएको ना ६ ख ४९३२ को कन्टेनर चेकजाँच गर्दा सुन बरामद भएको थियो । प्रहरी निरीक्षक नेपालले आफै गाडी नियन्त्रणमा लिएर कार्यालय ल्याएका थिए ।

तर उनले बरामद भएको सुन नियम अनुसार राजस्वमा दाखिला गर्नुपर्नेमा हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीलाई आदेश दिई बिक्री गर्न लगाएर रकम बाँडेका भन्दै प्रहरी प्रधानकार्यालयले पनि अनुसन्धान गरेको थियो । प्रहरी प्रधानकार्यालयको अनुसन्धानबाट पनि उनीहरु दोषी देखिएपछि अख्तियारलाई मुद्धा बुझाएर थप अनुसन्धानका लागि आग्रह गरिएको थियो ।

बरामद सुन पहिलो पटक १११ ग्राम र दोस्रो पटक ४२२ ग्राम बरामद गरेर काठमाडौंमा बेचिएको आयोगले जनाएको छ । आयोगले चारैजना विरुद्ध पहिलो पटकको सुन बराबर हुने रकम रु. ६ लाख ७७ हजार ५९९ र दोस्रो पटकको सुन बराबरको हुने रकम रु. २६ लाख ५२ हजार बराबरको बिगो मागदाबी सहित दुई मुद्दा दर्ता गरेको हो । आयोगको पत्र अनुसार १४ फागुन २०७६ मा प्रहरी निरीक्षक नेपाल सहित सीमा प्रहरी चौकीमा कार्यरत १५ प्रहरी अधिकारीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो ।

आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले घटनामा प्रहरी निरीक्षक नेपालसहित ४ प्रहरी अधिकारीको प्रत्यक्ष संलग्नता देखिएकोले मुद्दा दर्ता भएको जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *