फेसबुकमा जातीय विभेद हुने कुरा लेख्ने साथीलाई ‘अन्फ्रेन्ड’ गर्ने कि उत्तर दिने

डिसी नेपाल
७ असार २०७७ १७:४२

बीबीसी । फेसबुकमा हाम्रा कुनै साथीले आफूलाई जातिवादीका रूपमा उजागर गरेको हुनसक्छ। मेरा बाल्यकालका एक साथीले पनि त्यसै गरेको मैले पाएँ। सामान्यतया म अरूले लेखेको कुरा पढ्छु – तिना भूतपूर्व प्रेमीप्रेमिकाको आलोचना होस् वा फेसबुक क्विजको परिणाम।

तर जोर्ज फ्लोइडको मृत्यु, जातीय विभेदविरुद्ध प्रदर्शन र विवादास्पद ब्रिटिश स्मारक हटाउने विषयमा बहस चल्दा उनीहरूले सामान्य रूपमा जातिवादी पोस्ट गर्न सुरु गरेका छन्।

उनीहरूका लागि यो ठूलो कुरा होइन भन्ने मलाई थाहा छ। तर जब म यस्ता कुरा देख्छु यसले मलाई घोच्छ। त्यसबाट ममाथि प्रयोग गरिएका जातिवादी शब्दहरूको स्मरण हुन्छ।

‘तिमी कहाँकी हौ?’ भनेर सोधिँदाको क्षण सम्झना हुन्छ। (त्यसको उत्तर इङ्ग्ल्याण्ड हो। म ग्रेटर म्यान्चेस्टरमा हुर्केकी हुँ।) ‘होइन तिमी कहाँकी हौँ?’ (के तिम्रो प्रश्नको आशय मेरो छालाको रङ्ग किन यस्तो छ भन्ने हो?)

त्यसले म र मेरी बहिनीलाई लन्डनको एउटा क्लबमा छिर्न नदिइएको प्रसङ्ग सम्झाउँछ। त्यसको कारण उनीहरू युरोपेली भिड (गोराहरूका लागष प्रयोग गरिने सङ्केत) चाहन्थे।

जातीय विभेद कसैलाई अङ्ग्रेजी वर्णमालामा एनबाट आरम्भ हुने एउटा निकृष्ट शब्द प्रयोग गर्नु अर्थात् अश्वेत वा कालो भन्नुभन्दा बढी हो। मलाई थाहा छैन मसँग यी व्यक्तिका पोस्टहरूमा प्रतिक्रिया दिन सक्ने ऊर्जा छ कि छैन। तर केही नबोलेर मैले उनीहरूलाई त्यसै छाडिरहेको छु?

मैले केही गर्ने निर्णय गरेँ। तर साथीहरूको सूचीबाट हटाउने वा उनीहरूलाई उत्तर दिने भन्ने विषयमा मलाई सुझाव आवश्यक थियो। सामाजिक मनोवैज्ञानिक डाक्टर कीअन वेस्टका अनुसार यो तपाईँको उद्देश्य के हो भन्ने कुरामा भर पर्छ?

‘यदि तपाईँ आफ्नो मानसिक स्वास्थ्यबारे सोचिरहनुभएको छ भने म तपाईँलाई ती व्यक्तिलाई सम्पर्क गर्न सुझाव दिन्नँ,’ उनले भने। तर यदि उनीहरूले कम जातिवादी सामग्री प्रेषित गरून् वा अधिक करुणा देखाऊन् भन्ने तपाईँ चाहनुहुन्छ भने तिनलाई उत्तर दिनेबारे सोचे पनि हुन्छ।

के उनीहरू फेरिन सक्छन्?

जब म परिचित व्यक्तिहरूको पोस्ट देख्छु, उनीहरूलाई उत्तर दिनाले केही परिवर्तन होला भन्ने सोच्छु। म उनीहरूको प्रतिक्रिया आकलन गर्न सक्छु? ‘तिमी जातिवादको कुरा बित्थामा चर्काउँदैछ्यौ!’

त्यसैले यस विषयमा मैले केहीलाई जिज्ञासा राखे। ‘मैले त्यस्ता पोस्टहरूमा प्रतिक्रिया जनाउन थाले। तर त्यसले राम्रो गरेन,’ २७ वर्षीया एलिशा स्टयान्डिङले भनिन्। ‘मैलै ब्ल्याक लाइभ्स म्याटरको आफ्नै आवाज रहेको विषय बुझाउन खोज्दा एक व्यक्तिले म बलात्कार गरिन हुन योग्य भएको टिप्पणी गरे।’

‘त्यसपछि मैले फेसबुकका साथीहरूलाई हटाउन वा उनीहरूलाई ब्लक गर्ने निर्णय गरेँ। साँच्चै भन्नुपर्दा यसले मलाई केही हदसम्म तर्सायो,’ उनले थपिन्। केन्याकी लेखक तथा हास्य कलाकार निजाम्बी मक्ग्राथ आफूले जातिवादी ठान्ने एक व्यक्तिलाई उत्तर दिइन्।

कहिलेकाहीँ त्यसो गर्दा थाकेको अनुभूति हुने उनी बताउँछिन्। तर आफ्नो विचार सार्वजनिक गर्दा अरूले के सोच्छन् भन्ने विषयमा ती व्यक्तिलाई सोच्न बाध्य बनाउन सक्ने उनको विश्वास छ।

कासिया विलियम्स आफ्ना पतिले जातीय विभेद अनुभव गरेको बताउँछिन्। तसर्थ फेसबुक पोस्टहरू देख्दा आफ्नो धारणा लेख्न उनी आवश्यक ठान्छिन्। ‘म त्यसलाई बेवास्ता गरेर मौन रहन सक्दिनँ। धेरैले मेरो भनाइ सुने र मेरो ज्ञान सार्वजनिक गरेकोमा धन्यवाद दिए।’

‘अनि उनीहरूले अरूलाई पनि जानकारी गराए। त्यसकारण यो महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ।’ ‘तर दुर्भाग्यपूर्ण कुरा के भने केही यस्ता व्यक्तिहरू पनि छन् जो सुन्न चाहँदैनन्। अनि मलाई समय खेर फालेको जस्तो लाग्न थाल्यो।’

यदि तपाईँले कसैको पोस्टमा प्रतिक्रिया जनाउनुहुन्छ भने उनीहरू जातिवादी हुनबाट एक्कासि रोकिऊन् भन्ने आशा गर्नु अनुचित हुने डा। वेस्ट बताउँछन्। ‘इन्टरनेटको माध्यमबाट विवाद गरेर उनीहरू कम पूर्वाग्रही हुन्छन् कि भन्ने तपाइलाई लाग्न सक्छ।’

‘अनुसन्धानहरूका अनुसार त्यसो नहुन सक्छ। तर अरूलाई आफ्नो व्यवहार मन नपरेको हुन सक्छ भन्ने विषयमा भने उनीहरू सचेत हुन सक्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *