लकडाउनमा कोरोना संक्रमणले मृत्यु हुने भन्दा आत्महत्या गर्ने ५१ गुणा बढी

डिसी नेपाल
१ साउन २०७७ १४:०८

काठमाडौं। कोरोना भाइरसबाट हुन सक्ने मृत्यु रोक्ने उद्देश्यसहित लकडाउन गरिएको भए पनि लकडाउन नै मानिसको ज्यान लिने कारक बनेको हुनसक्ने तथ्यांकले देखाएको छ। पछिल्लो ४ महिनामा कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको ज्यान गएको छ तर आत्महत्या गर्नेको संख्या २ हजार ५ छ। आत्महत्या गर्नेको संख्या कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्याभन्दा ५१ गुणा बढी हो।

२०७६ चैत ११ गतेदेखि २०७७ असार २७ गतेसम्मको अवधिमा मुलुकभर दुई हजार पाँच जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। यो ४ महिनाको अवधिमा १ हजार ६० पुरुष, ७ सय ३४ महिला, १२५ बालिका र ८६ बालक गरी कुल २ हजार ५ जनाले आत्महत्या गरेका छन्।

लकडाउनको अवधि बढ्दै जाँदा आत्महत्याको दर पनि बढ्दै गएको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्माहत्या गर्नेको संख्या १६ जना नै रहेको थियो। जुन दर लकडाउनको अवधि लम्बिँदै जाँदा बढ्दै गएको छ। यो अवधिमा ६० दिनमा दैनिक १७ जनाले आत्माहत्या गरेका थिए।

पछिल्लो ४ महिनामा कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको ज्यान गएको छ तर आत्महत्या गर्नेको संख्या २ हजार ५ छ। आत्महत्या गर्नेको संख्या कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्याभन्दा ५१ गुणा बढी हो।

विश्व स्वास्थ्य संगठन (डब्युएचओ)ले अध्ययन गर्ने गरेका १८३ देशमध्ये बढी आत्महत्या हुने देशहरुको सूचीमा नेपाल ८१ औं स्थानमा छ। तथ्यांकअनुसार लकडाउनको अवधिमा आत्महत्याको दर बढेको देखिएको छ। आत्महत्याको शैली हेर्दा झुण्डिएर आत्महत्या गर्नेहरु धेरै छन्।

यो ४ महिनाको अवधिमा १ हजार ६५६ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। २९४ जनाले विषय सेवन गरेर, १ जनाले करेन्ट लगाएर, २ जनाले आगो लगाएर आत्महत्या गरेका छन्। औजार वा हतियार प्रयोग गरेर आत्महत्या गर्नेको संख्या ८ छ भने १२ जनाले डुबेर आत्महत्या गरेका छन्।

हरेक बर्षको सेप्टेम्बर १० तारिखलाई विश्व आत्महत्या निवारण दिवसको रुपमा मनाइन्छ। सन् २००३ देखि आत्महत्या रोक्नको लागि विश्वव्यपी रुपमा निवारण दिवस मनाउन थालिएको हो। आत्महत्या न्यूनीकरणका लागि विश्वव्यापी अभियान चलाउँदै आइएको भए पनि आत्महत्याको क्रममा उल्लेख्य कमी आउन भने सकेको देखिँदैन।

आत्महत्याको कारण यही नै हो भनी किटान गर्न नकिने मनोविदहरु बताउँछन्। यद्यपि अधिकांश आत्महत्या डिपे्रसनकै कारणबाट हुने गरेको उनीहरुको बुझाइ छ। बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरुले पनि आत्महत्या गर्न दुरुत्साहित गर्ने मनोविदहरु बताउँछन्।

मनोविद्हरुको बुझाइअनुसार आत्महत्या पूर्ण रुपमा नियन्त्रण गर्न नसकिए पनि न्यूनीकरण भने गर्न सकिन्छ। यसका लागि आत्महत्या गर्न सक्ने संकेत पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ। यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरिदिनु पर्दछ ।

चर्चित मनोविश्लेषक वासु आचार्यका अनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन्। जब उसले आत्महत्याको सोच राख्छ, उसलाई परामर्शले पनि छुँदैन। ऊ उचित मौका र समयको प्रतिक्षामा हुन्छ।

आचार्यका अनुसार यस्ता व्यक्ति आत्महत्या गर्नुपूर्व कसैको ऋण छ भने तिरिदिने, कसैसित झगडा परेको छ भने माफी माग्ने, कुनै घटना वा परिघटना भएमा त्यो सुल्झाउन थाल्दछन्। आत्महत्याको मुख्य कारण भनेको दुःख हो । मानिसको जीवनबाट जब खुसी हराउँदै जान्छ तब उसले विकल्प र सजिलो उपाय आत्महत्या देख्छ।

गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिसले आत्महत्या गरेको देखिन्छ। सामाजिक र आर्थिक क्षेत्रमा विचलन, लगातार उदासीपन, चिन्तन, छटपटी हुनु, लगातार धेरै दिनसम्म निन्द्रा नलाग्नु, दोधार मनस्थिति, हरेक कुरामा चाहना घट्दै जानुले पनि मानिसलाई नैराश्यता बनाउने र ऊ आत्महत्याको सोचमा पुग्ने मनाविद आचार्य बताउँछन्।

कतिपय अनमेल विवाह, झै–झगडा, श्रीमान–श्रीमतीबीच बैमनस्यता, सासू–ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइएको उनले बताए। युवा अवस्थाको लापरवाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मबल कम भएका मानिसलाई आत्महत्या गर्नेतर्फ उन्मुख पारेको आचार्य बताउँछन्। आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेक क्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवायुवतीले आत्महत्या गरेको पाइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *