बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने

डिसी नेपाल
११ जेठ २०८३ ९:०७

काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा प्रदेश सरकारका प्राथमिकताहरूमाथि केन्द्रित रहने बताइएको छ । चालू हिउँदे अधिवेशन जेठ १ गते मध्यरातदेखि अन्त्य गरिएसँगै सरकारले बजेट निर्माण र वर्षे अधिवेशनको तयारी चुस्त बनाएको थियो ।

आगामी बैठकहरूमा प्रदेश सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) प्रस्तुत गर्नेछ, जसमाथि सांसदहरूले परिमार्जन र सुझावका लागि विस्तृत छलफल गर्नेछन् । त्यसपश्चात् प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गतेभित्र आगामी आर्थिक वर्षको पूर्ण बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *