देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा

डिसी नेपाल
१४ जेठ २०८३ ६:४१

काठमाडौं। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ। इदुल फित्र (रमजान) को ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भेला भई सामूहिक नमाज पढेका छन्। नमाज सकिएपछि उनीहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्दछन्। यो पर्व आजदेखि सुरु भई आगामी शनिबारसम्म तीन दिनसम्म मनाइने धार्मिक परम्परा छ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्रतापी र प्रिय छोरा इस्माएल अलेह सलामलाई बलिदान (कुर्बानी) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इतिहास छ।

मुस्लिम धर्मगुरु (मौलाना) रहमत अलीका अनुसार इब्राहिमकै वंशमा सन् ५७१ मा मक्कामा पैगम्बर मोहम्मद सलल्लाको जन्म भएको थियो, जसले यो धर्मलाई पुस्तान्तरण गर्न र ‘हदिस’ नामक धर्मग्रन्थको रचना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो। यो ग्रन्थ हाल मदरसाहरूमा समेत अध्यापन गराइन्छ।

यस पर्वको मुख्य उद्देश्य साउदी अरबको मक्का र मदिनाको हजयात्रा गर्नु हो। हजयात्रामा जान नपाउनेहरूले घरघरमै बकर इद मनाउने गर्दछन्। पर्वको अवसरमा अल्लाहलाई खुसी पार्न मुस्लिम समुदायले जायज मानेका जनावरहरूको कुर्बानी (बलि) दिने प्रचलन छ।

धार्मिक मान्यताअनुसार, ९० वर्षको उमेरमा छोरा प्राप्त गरेका इब्राहिमले अल्लाहको परीक्षाका क्रममा आफ्ना प्यारा छोरा इस्माइललाई कुर्बानी गर्न लाग्दा अल्लाह प्रसन्न भई छोराको सट्टा स्वर्ग (जन्नत) बाट पठाइएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ। सोही समयदेखि यो बलिप्रथा चल्दै आएको हो।

यो पर्वले आपसी भाइचारा, त्याग र गरिबहरूप्रतिको जिम्मेवारीलाई प्रवर्द्धन गर्ने विश्वास गरिन्छ। सरकारले बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएकाे छ। याेसँगै याे पटक चार दिन लगातार सार्वजनिक विदा परेकाे छ।

बिहीबार बकर इदकाे सार्वजनिक विदा, शुक्रबार गणतन्त्र दिवसकाे विदा, शनिबार र आइतबार सार्वजनिक विदा भएसँगै चार दिन लगातार सार्वजनिक विदा परेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *