अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको तालमा डुबेर मृत्यु
टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा बसोबास गर्दै अध्ययन गरिरहेकी नेपाली विद्यार्थी अस्मिता खनालको तालमा डुबेर जुलाई २३ आइतवार साँझ मृत्यु भएको छ। गर्मी विदाको समयमा साथीसँग घुम्न तालमा गएकी उनी फोटो खिच्नेक्रममा डुंगा (बोट) बाट खसेर तालमा बेपत्ता भएकी थिइन्।
आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरीमा रहेको लुइभिल तालमा साथीसहित पुगेकी २३ बर्षीया खनालले शुरुमा लाइफ ज्याकेट लगाएर बोटमा चढेकी थिइन्। तर, पछि तस्वीर खिच्ने क्रममा लाइफ ज्याकेट खोलेको र फोटो खिच्नेक्रममा बोटबाट चिप्लिएर लडेको बताइएको छ।
उनीसँगै बोटमा रहेका साथीले तत्काल उनलाई बचाउने प्रयास गरेपनि तालमा खसेपछि उनी गहिरोस्थानमा डुबेकोले सम्भव नभएको बताइएको छ। गर्मीको समयमा तालमा रमाइलो गर्न गएकोमा यस्तो दुर्घटना भएपछि अस्मिताका साथीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए।
गोताखोरसमेत प्रयोग गरेर प्रहरीले केही घण्टामा अस्मितालाई तालभित्र डुबेको अवस्थामा फेला पारे पनि उनी निर्जिव भइसकेकी थिइन्। उनको शवलाई टेर्रेन्ट काउन्टी मेडिकल एक्सामिनर सेन्टरमा राखिएको छ। काठमाडौंकी स्थायी वासिन्दा खनाल टेक्सासको टेक्सास वुमन युनिभर्सिटीमा अध्ययनरत थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment