भारतलाई नेपालको कडा जवाफः कालापानी क्षेत्र नेपालकै हो, त्यहाँ नेपालीलाई अवरोध नहोस्

खेमराज थापा
१४ साउन २०७७ ११:३९

काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीहरुले ‘घुसपैठ’ गरेको भन्दै भारतले पठाएको पत्रको नेपालले कडा जवाफ फर्काएको छ।

भारतको धार्चुला जिल्लाका सहायक जिल्ला अधिक्षकले दार्चुला जिल्ला प्रशासनलाई गएको जुलाई १४ मा पत्र लेखेर ती भूमिमा नेपालीहरु प्रवेश गरेको भन्दै त्यसलाई रोक्न भनेका थिए।

त्यसको जवाफ दिँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले ती भूमि नेपालकै भएकाले नेपालीहरु त्यहाँ जानु स्वभाविक भएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलले डिसी नेपालसँग फोनमा भने, ‘नेपाल र इन्ट इण्डिया कम्पनीबीच १८१६ मा भएको सुगौली सन्धिको धारा ५ र ऐतिहासिक तथ्य प्रमाणका आधारमा ती गाउँहरु नेपालको भूमि भएकाले नेपालीहरुले आवाजत जातव स्वभाविक हो। त्यसमा वाधा अवरोध नगर्न भनेर पत्र पठाएका छौं।’

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। तर, भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ। नेपालले नयाँ नक्सा जारी गरेपछि दार्चुलामा भारतीयहरुले विभिन्न अवरोध गर्दै आइरहेका छन्। त्यसैक्रममा भारतीय अधिकारीले पत्र लेखेका थिए। तर, नेपालले आफ्नो भूमिमा नेपालीहरु जानु स्वभाविक भएको बताएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टंक सिंह कुँवरले डिसी नेपालसँग भनेका थिए, ‘नयाँ नक्सा जारीपछि भारतीयहरुले नेपालीलाई आफ्नो भूमिमा जान अवरोध गरिरहेका छन्। तर, ती ठाउँमा नेपालीको खेतिपाती छ। आफ्नो खेतिपाती भएको ठाउँमा जानु स्वभाविक हो।’

नेपालले नयाँ नक्सा जारी गरेर अतिक्रमित भूमि नक्सामा समेटे पनि ती भूमिमा नेपालले आफ्नो उपभोग भने गर्न पाएको छैन। नेपालले भारतसँग यी विषयमा कूटनीतिक माध्यमबाट वार्ता गर्न भारत समक्ष प्रस्ताव गरे पनि भारतले वार्तालाई अस्वीकार गर्दै आएको छ। यही प्रकरणका कारण हाल नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता बढेको छ।

दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले हालै एक भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै नेपालले आफ्नै प्रयासमा नेपालको नयाँ नक्सा जारी गरेको र ती तथ्य प्रमाणले ती भूमि नेपालकै भएको प्रमाणित भएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *