सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१४ साउन २०७७ १८:४०

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । प्रदेशस्तरीय सहकारी सङ्घलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले सोचेजस्तो काम गर्न नसकेको धारणा राखे।

मुख्यमन्त्री पौडेलले सहकारीले सङ्ख्यामा प्रगति गरेको भए पनि सहकारीको प्रमुख उद्देश्यअनुरुप व्यापकरुपमा उत्पादन गर्न नसकेको बताए । उनले हिजोका दिनमा कानूनको अभावमा काम गर्न नसकिएको बताउने सहकारीले भनेअनुसार नै प्रदेश सरकारले कानून निर्माण गरेको अवस्थामा पनि प्रगति नदेखिएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलले सहकारीकोतर्फबाट उचित तथा उपयोगी खालका प्रस्ताव आए सरकारले बजेटसमेत विनियोजन गर्ने बताउँदै हालसम्म त्यस्ता प्रस्ताव नआएको बताए। मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले हरेक गाउँपालिकामा कृषि बजार स्थापना गर्न लागेको र त्यस्ता बजारको व्यवस्थापनमा सहकारीले सगाओस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे।

प्रमाणपत्र वितरण कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आफ्नो जमिन बाँझो राखेर वैदेशिक रोजगारीमा जाने प्रथाको अन्त्यका लागि सहकारीले काम गर्नुपर्ने धारणा राखे। सहकारीले नेपाली उत्पादनको अन्तरराष्ट्रियकरण गर्न सक्नुपर्ने उनको भनाइ थियो । उनले नेपाली जडीबुटी, फलफूल तथा तरकारी बजार प्रवद्र्धनमा सरकारसंग सहकारी पनि सँगसँगै हुनुपर्ने उल्लेख गरे। कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले सहकारी वास्तविकरुपमा तल्लो तहसम्म पुग्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *