मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्छ : नारायणकाजी श्रेष्ठ
महोत्तरी। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउन विगतमा भएका सहमति र निर्णय कार्यान्वयन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
दिवंगत नेता राजकिशोर मण्डलको श्रद्धाञ्जली सभामा बोल्दै श्रेष्ठले ऋणको नाममा चर्को ब्याज असुल्ने, ऋणभन्दा कैयौँ गुणा बढी रकमको तमसुक बनाउने र घरजग्गा हडप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।
उनले न्यायोचित ब्याजसहित ऋण चुक्ता गरेपछि पीडितलाई तमसुक र घरजग्गा फिर्ता गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए।
‘न्यायोचित ब्याजसहित ऋण तिरेपछि तमसुक र घरजग्गा फिर्ता हुनुपर्छ। ऋण तिर्ने नाममा घरबार उठिबास गराउने र किर्ते कागज बनाउने काम हुनुहुँदैन,’ श्रेष्ठले भने।
श्रेष्ठले आफू सरकारमा रहँदा मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन, कानुन निर्माण र सहजीकरण समिति बनाएर केही हजार पीडितलाई न्याय दिलाउने काम गरिएको दाबी गरे। तर सरकार परिवर्तनसँगै उक्त अभियान रोकिएको र पीडितहरू पुनः आन्दोलनमा आउन बाध्य भएको उनको भनाइ छ।
विगतमा मिटरब्याज पीडितसँग भएका सम्झौता र सहमति कार्यान्वयन नभए उनीहरू फेरि न्यायका लागि संघर्षमा उत्रिनुपर्ने अवस्था आउन सक्ने श्रेष्ठले चेतावनी दिए।
उनले मिटरब्याजको समस्या दीर्घकालीन रूपमा समाधान गर्न रोजगारी र नागरिकको आय वृद्धि गर्नुपर्ने बताए। साथै, सर्वसाधारणले सहज रूपमा औपचारिक वित्तीय संस्थाबाट ऋण पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment