लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।
शपथ ग्रहरण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति रहेको थियो। शपथ लिने तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सांसद हुन्।
शपथ लिनेमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गत साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी सहमति भएको छ। सोही राजनीतिक सहमति अनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
पुनर्गठनसँगै मन्त्रिपरिषद्का अन्य सदस्यहरूको जिम्मेवारीमा समेत फेरबदल गरिएको छ। यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसैगरी, मन्त्रिपरिषद्का अन्य सदस्यहरूमा रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment